सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा रेशम चौधरीको रिहाइको विषय उठेको छ। प्रदेश सभाको पहिलो बैठकमा सांसदहरूलाई शुभकामना मन्तव्य दिन भनिए पनि नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले रेशमको रिहाइको विषय पनि उठाएका हुन्।
रेशमसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहा गर्नुपर्ने माग उनले राखे। टीकापुर घटनालाई राजनीतिक रूपमा लिनुपर्ने उनको भनाइ थियो। ‘रेशम चौधरीलाई अन्यायपूर्वक डिल्लीबजारको कोठरीमा राखिएको छ। धनगढीको कारागारमा पनि हाम्रा दाजुभाइहरू राखिनुभएको छ। उहाँहरूलाई निकास दिनुपर्छ,’ सांसद चौधरीले भने, ‘माघमा थारूहरूको पहिलो पर्व हो। त्यहाँसम्म उहाँहरूको निकास दिइएन भने आउने जति पनि सदन छ, अवरुद्ध गराउने जानकारी गराउँछौँ।’
थरुहट प्रदेशको मागसहित भएको आन्दोलनले ०७२ साउनमा हिंसात्मक रूप लिँदा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो। उक्त घटनामा दोषी ठहर भएका रेशमसहित सातजना कारागारमा छन्। संघीय सरकारमा सहभागी हुन उनीहरूको रिहाइलाई प्रमुख सर्त बनाएको नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा पनि सो विषय उठाएको हो।