हिमालय एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको छ । कम्पनीको न्यारोबडी एयरबस ए३२० नाइनएन–एएलभीले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा अवतरण गरेको हो ।
नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए)को उद्घाटन समारोहका लागि हिमालय एयरलाइन्सले १३ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) काठमाडौंबाट उडान गरेर १३ः४४ मा पिआइएमा अवतरण गरेको कम्पनीले जनाएको छ ।
यसका साथै यो जहाज पोखरामा अवतरण गर्ने पहिलो एयरबस बनेको कम्पनीको दाबी छ । विमानलाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो । पोखरा विमानस्थलका उच्च अधिकारीहरूले हिमालय एयरलाइन्स टोलीको नेतृत्व गर्ने विजय श्रेष्ठ, उपाध्यक्ष, प्रशासन र क्याप्टेन हाओ डीलाई स्वागत गरेको जनाइएको छ । त्यसपछि विमान १५ः४४ बजे प्रस्थान गरेर १६ः१७ बजे काठमाडौंमा अवतरण गरेको थियो ।
कार्यक्रममा एयरलाइन्सका प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एयरलाइन्स सधैँ उड्डयन क्षेत्रको सुरक्षा र यसको सुरक्षित अभिवृद्धिका लागि प्रतिबद्ध रहेको बताए । कम्पनीको एयरबस ए३२० पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर यसले सुन्दर तालहरूको सहर पोखरा भ्रमण गर्न विश्वभरि सकारात्मक सन्देश दिएको उनको भनाइ थियो ।