तीन महिनामा साढे चार अर्बको जीवन बिमा पोलिसी सरेन्डर

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण

जीवन बिमा कम्पनीहरूले संकलन गरेको पहिलो बिमा शुल्कको ४८ प्रतिशत पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांक 

जीवन बिमा कम्पनीहरूले गरेको नयाँ व्यवसायको झन्डै ५० प्रतिशत रकमबराबरको पोलिसी सरेन्डर हुन थालेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष ०७९/८० को पहिलो तीन महिनामा जीवन बिमा कम्पनीहरूको चार अर्ब ४३ करोड रकमबराबरको पोलिसी सरेन्डर भएको छ । यो रकम सो अवधिमा जीवन बिमा कम्पनीहरूले संकलन गरेको पहिलो बिमा शुल्कको ४८ प्रतिशत हो । 

बिमितले आफूले खरिद गरेको बिमा पोलिसीलाई निरन्तरता दिन नसकेको अवस्थामा पोलिसी फिर्ता गर्ने प्रक्रियालाई पोलिसी सरेन्डर भनिन्छ । पोलिसी सरेन्डर गर्दा बिमितले सो अवधिसम्म भुक्तानी गरेको बिमा शुल्क र सो अवधिसम्ममा प्राप्त बोनस रकम फिर्ता पाउँछन् । तर, सो रकममा कम्पनीले निश्चित प्रतिशत कटाउँछ । पछिल्लो समयमा नेपालमा कम्पनीको संख्या, बिमा अभिकर्तामा कमिसनको लोभ, फोर्स बिमालगायतका कारणले पोलिसी सरेन्डरको क्रम बढेको कम्पनीहरूको बुझाइ छ ।  

तथ्यांकअनुसार पोलिसी सरेन्डर हुने कम्पनीहरूमा सबैभन्दा अगाडि राष्ट्रिय बिमा संस्थान छ । संस्थानमा चालू आवको पहिलो तीन महिनामा आर्जन गरेको प्रथम बिमा शुल्कभन्दा बढी पोलिसी सरेन्डर भएको छ । कम्पनीले गत असोजसम्म १२ करोड ९७ लाख पहिलो बिमाबापत प्रिमियम संकलन गरेको छ भने सोही अवधिमा कम्पनीमा २१ करोड ५० लाख रुपैयाँबराबरको पोलिसी सरेन्डर भएको छ । त्यसैगरी, एलआइसी नेपालले ५२ करोड ६२ लाख पहिलो प्रिमियम संकलन गर्दा ७२ करोड ३९ लाखबराबरको पोलिसी सरेन्डर भएको छ । नेपाल लाइफको एक अर्ब ३३ करोड रुपैयाँबराबरको पोलिसी सरेन्डर भएको छ । यो रकम कम्पनीले सो अवधिमा आर्जन गरेको पहिलो बिमा शुल्कको ९८ प्रतिशत हो  । 

त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको पाँच करोड ३८ लाख बिमा पोलिसी सरेन्डर भएको छ । यो रकम कम्पनीले आर्जन गरेको पहिलो बिमा शुल्कको ९४ प्रतिशत हो ।  नेसनल लाइफ इन्स्योरेन्समा पनि आर्जन गरेको बिमा शुल्कको ६० प्रतिशत पोलिसी सरेन्डर भएको छ ।

पोलिसी सरेन्डरमा ब्याजदरको प्रेसर
बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउँदै लगेपछि जीवन बिमा कम्पनीहरूमा पोलिसी सरेन्डर प्रेसर बढ्न थालेको नेपाल बिमा प्राधिकरणका प्रवक्ता एवं प्रमुख कार्यकारी अधिकृत राजुरमण पौडेलले बताए । बंैकको ब्याजदरको प्रभाव अहिले पोलिसी सरेन्डरमा पनि परेको महालक्ष्मी जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए । तर, पोलिसी सरेन्डरमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धि हुनु मात्रै कारण नभएको उनको दाबी छ । 

बैंक तथा वित्तीय संस्थाका साथै बिमा कम्पनी आफैँले समेत कर्जाको ब्याजदर वृद्धि गरेका छन् । बिमितहरूलाई १० प्रतिशतसम्ममा पोलिसी कर्जा दिइरहेका कम्पनीहरूले ब्याजदर वृद्धि गरी १२ प्रतिशत पु¥याएका छन् । बिमितले आफूले खरिद गरेको पोलिसी धितोमा राखी कर्जा लिन पाउने व्यवस्था छ । यस्तो कर्जा पोलिसीको सरेन्डर मूल्यको ९० प्रतिशत पाइन्छ । अर्थात्, पोलिसी राखी कर्जा लिँदाको रकम र पोलिसी सरेन्डर गरेपछि पाउने रकममा बढीमा १० हजार रुपैयाँसम्मको फरक छ । कम्पनीहरूले कर्जाको ब्याजदर बढाएपछि बिमितले ब्याज भुक्तानी गरिरहनुभन्दा सरेन्डर गरेरै सबै रकम लिने गरेको बिमकहरू बताउँछन् । 

खेलाडी अभिकर्ताले बढाए सरेन्डर
बिमा बजारमा खेलाडी अभिकर्ताको सक्रियता बढेपछि पोलिसी सरेन्डरको क्रम बढेको  बिमकहरू बताउँछन् । कम्पनीहरूका अनुसार पछिल्लो समयमा केही अभिकर्ताले आफैँ अभिकर्ता, आफैँ बिमित बनेर बजारमा खेल्न थालेका छन् । जसले योजना बनाएर नै निश्चित अवधिमा पोलिसी सरेन्डर गरी नाफा आर्जन गर्न थालेको कम्पनीहरूको गुनासो छ । 

बिमा गर्दा बिमा अभिकर्ताले पोलिसीको अवधि र बिमांक रकमअनुरूप पहिलो बिमा शुल्क भुक्तानी गर्दा २५ प्रतिशत कमिसन पाउँछन् । दोस्रोपटक १५ र तेस्रोपटक ५ प्रतिशत रकम पाउछन् । त्यस्तै, नेपाल बिमा प्राधिकरणले गरेको व्यवस्थाअनुसार कम्पनीहरूले इन्सेन्टिभबापत अभिकर्तालाई १८ प्रतिशतसम्म कमिसन दिन पाउने व्यवस्था छ । तर, खेलाडी अभिकर्ताले कम्पनीहरूसँग बार्गेनिङ गरेर २० प्रतिशतसम्म कमिसन लिने गरेको एक कम्पनीका कर्मचारीले बताए । उनका अनुसार अधिकांश अभिकर्ताले इन्सेन्टिभबापत रकम नै लिने गरेका छन् । कमिसनबापत ठूलो रकम लिएपछि पनि तीन वर्षमा पोलिसी सरेन्डर गर्दा बिमितले आफूले भुक्तानी गरे रकममा १५ प्रतिशत थप गरी फिर्ता पाउने उनको भनाइ छ । 

उदाहरणका लागि कुनै बिमितले १५ वर्षे एक करोड रुपैयाँबराबरको बिमा पोलिसी खरिद ग¥यो भने वार्षिक प्रिमियम सात लाख रुपैयाँ पर्न आउछ । तीन वर्षमा उसले २१ लाख रुपैयाँ भुक्तानी गर्छ । पहिलो प्रिमियमबाट अभिकर्ताले २५ प्रतिशत अर्थात् एक लाख ७५ हजार रुपैयाँ कमिसन लिन्छ । दोस्रोमा १५ प्रतिशत अर्थात् एक लाख पाँच हजार कमिसन लिन्छ भने तेस्रो वर्ष ५ प्रतिशत अर्थात् ३५ हजार कमिसन लिन्छ । इन्सेन्टिभबापत एक लाख २६ हजार कमिसन लिन्छ । अभिकर्ताले तीन वर्षमा कमिसन र इन्सेन्टिभबापत चार लाख ४१ हजार कमिसन लिन्छ । 

१५ वर्षे एक करोडको बिमा पोलिसीमा तीन वर्षमा २१ लाख भुक्तानी गर्दा बिमितको सरेन्डर मूल्य औसतमा २० लाखजति पर्न आउँछ । १७ लाख भुक्तानी गरी सरेन्डरपछि पनि बिमितले तीन लाख ४१ हजार थप पाउँछ । त्यसबाहेक कमिसन रकम पहिले नै लिइसकेको हुन्छ । यस्तो अवस्थामा बिमित र अभिकर्ता एउटै व्यक्ति हुँदा उसले ठूलो लाभ लिने बिमकको भनाइ छ । तसर्थ, केही अभिकर्ताले आफैँ बिमित र आफैँ अभिकर्ता भई पोलिसी सरेन्डर गर्ने गरेको उनले बताए । यो लगानीमा कुनै पनि जोखिम नहुने, कुनै घटना घटेमा सुरक्षा पनि प्रदान हुने भएपछि अभिकर्ताहरू खेलाडीका रूपमा नै लागेको उनले बताए । 

नयाँ कम्पनीले अभिकर्तालाई लोभ्याउँदा बढ्यो पोलिसी सरेन्डरको दर
बजारमा जीवन बिमा कम्पनीको संख्या बढेसँगै कम्पनीले अभिकर्तालाई एक अर्का कम्पनीबाट हुक गर्न थालेका छन् । नयाँ कम्पनीले नयाँ–नयाँ र आकर्षक सुविधा दिन थालेपछि अभिकर्ता पनि बार्गेनिङ गर्दै नयाँ कम्पनीतर्फ सर्न थालेका छन् । यसरी एकपछि अर्को कम्पनीमा जाने अभिकर्ताले आफूसँगै पुरानो कम्पनीको व्यवसायसमेत लाने गरेको नेपाल बिमा प्राधिकरणको बुझाइ छ ।

कतिपय अभिकर्ताले बिमितको आवश्यकताभन्दा बढी र असान्दर्भिक बिमा पोलिसी खरिद गर्न लगाउँछन् । जब बिमितले यस बिषयमा थाहा पाउँछ, त्यसपछि उसले पोलिसी नै सरेन्डर गरिदिन्छ । दोस्रो भनेको अभिकर्ताले पहिलोपटक कुनै व्यक्तिको पहिलोपटक बिमा गरेपछि निश्चित कमिसन लिइसक्छ । कमिसन निश्चित अवधिका लागि मात्रै हुन्छ । त्यसैले उसले फेरि सोही बिमितलाई विभिन्न प्रलोभनमा पारी पुरानो कम्पनीमा पोलिसी सरेन्डर गर्न लगाई नयाँ कम्पनीको पोलिसी खरिद गर्न लगाउँछ । यसले गर्दा अभिकर्ताले फेरि चर्को कमिसन पाउँछ । 

सुझावित समाचार