मानव अधिकारको चिन्ता र भ्रष्टाचारको कारण दर्साउँदै सन् १९९० देखि विश्वकपमा सहभागी भएका विभिन्न देशका समर्थकले कतार नजाने र फुटबल नै बहिष्कार गरेको बताए
एक खेलकुद ट्राभल एजेन्टले कतारमा मानव अधिकारको चिन्ता र भ्रष्टाचारको कारण दर्साउँदै ३२ वर्षपछि पहिलोपटक विश्वकप फुटबल बहिष्कार गरेको बताएका छन् । खेलकुद पत्रकारहरूका लागि यात्रा प्याकेज प्रबन्ध गर्ने डेभिड ह्यान्ककले सन् १९९० मा इटालीमा भएको विश्वकपदेखि हरेक प्रतियोगितामा सहभागी हुँदै आएका छन् ।
पूर्वी इंग्ल्यान्डको बमहाम अन क्रचका ५८ वर्षीयले ह्यानककले एलजिबिटीबारे कतारको अडानलाई समर्थन गर्न नसक्ने बताए । कतार विश्वकप आयोजकले ‘सबैलाई स्वागत’ गर्ने र कसैलाई पनि भेदभाव नगरिनेमा जोड दिएका छन् । तर, उनी विश्वस्त छैनन् । ‘मैले वास्तवमा यस विश्वकपमा धेरै चासो पाएको छैन,’ ह्यान्ककले भने, ‘एलजिबिटी समुदायप्रति सरकारले रोजेको धारणालाई समर्थन गर्न सक्दिनँ ।’
२० नोभेम्बरदेखि सुरु हुने विश्वकप आयोजना गर्न कतारलाई सन् २०१० मा अनुमति दिइएको थियो । स्विट्जरल्यान्डका अभियोजकहरूले कतारलाई प्रतियोगिता प्रदान गर्न दिएकोमा ‘अज्ञात व्यक्तिहरू’विरुद्ध अनुसन्धान गरिरहेका छन्, तर अहिलेसम्म कसैलाई पनि दोषी ठहर गरिएको छैन । कतारमा समलैंगिकता गैरकानुनी छ । यसलाई मुस्लिम सारिया कानुनअन्तर्गत अनैतिक मानिन्छ । रंगशालाको निर्माण कार्यलाई लिएर पनि कतारको आलोचना हुँदै आएको छ । रंगशाला निर्माणमा धेरै आप्रवासी कामदार मारिएको कतारमाथि आरोप लागेको छ । तथापि, दोहाले यसलाई अस्वीकार गरेको छ ।
ह्यान्ककले हालैका महिनाहरूमा चारपटक कतार भ्रमण गरेका थिए । उनले बिबिसीलाई भने, ‘प्रतियोगिता अगाडि बढ्दै जाँदा मलाई अन्य धेरै चिन्ता छ । त्यहाँ बाहिर रमाउन सकिन्न, जबसम्म तपाईं पाँचतारे होटेलमा गएर मदिरा पिउन चाहनुहुन्न । त्यहाँ मैले सम्भावित समस्याहरू देख्छु ।’ सामान्यतया कतारमा लाइसेन्सप्राप्त बार र रेस्टुरेन्टमा मात्र मदिरा बिक्री गरिन्छ । तर, विश्वकपका दौरान रंगशालाभित्र छनोट गरिएका क्षेत्रमा पनि मदिरा बिक्री गरिने आयोजकले जनाएका छन् ।
विश्वकप यात्राको दौरान ह्यानकक विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् । सन् १९९० को विश्वकपमा उनले रक्तदानको व्यवस्थापनमा सहयोग गरेका थिए । सन् २००२ मा जापानको माउन्ट फुजी आरोहण गरेका थिए । त्यस्तै, सन् २०१० मा दक्षिण अफ्रिकामा प्रिटारियानजिकैको उच्च सुरक्षाको घेरामा रहेको जेलमा कैदीविरुद्ध समर्थकहरूको खेलमा सहभागी भएका थिए । तर, उनी कतार विश्वकपप्रति असन्तुष्ट छन् । उनले अगाडि भने, ‘फिफाले जहिले पनि विश्वकपको विरासतबारे कुरा गर्छ । दोहा र कतारका लागि विरासत के हुन गइरहेको छ, कसैले मलाई बताउन सक्छ ?’