१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
बारीमै पुगेर भोट माग्दै बागलुङ १ प्रदेश सभा (ख)का कांग्रेस उम्मेदवार डिल्लीराम सुवेदी ।
२o८१ जेठ ७ सोमबार १४:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ठूला चुनावी सभाको सट्टा घरदैलो गर्दै बाग्लुङका उम्मेदवार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १४:१९:oo

बाग्लुङका राजनीतिक दलले ठूला चुनावी सभा गर्नुको सट्टा घरदैलो गरेर मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएका छन्। जिल्लामा प्रतिनिधिसभातर्फ दुईवटा र प्रदेश सभातर्फ चारवटा सिट छन्। मदतान गर्ने मिति एक साता मात्रै बाँकी रहँदा कुल ६ सिटमा उम्मेदवारी दिएका ठूला दलसहित स्वतन्त्र उम्मेदवारहरूले समेत घरदैलो तीव्र पारेका छन्।

अधिकांश उम्मेदवार मतदाताको घरदैलो र खेतबारीमा पुगिरहेका छन्। गाउँघरमा धान, कोदोलगायतका अन्न बाली पाकेर भित्र्याउने वेला भएका कारण मतदातालाई भेट्न उम्मेदवारहरू खेतबारीमै पुग्ने गरेका छन्। बाग्लङ १ को प्रदेश सभा २ मा सत्तागठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कांग्रेस नेता डिल्लीराम सुवेदीले मतदाताको चाहना बुझेरै ठूला सभा गर्नुको सट्टा घरदैलो गरेर प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएको बताउँछन्।

‘विगतमा विभिन्न स्थानमा मतदातालाई बोलाएर चुनावी सभा गर्ने गर्थ्याैँ। यसपटक प्रचारप्रसारको शैली फेरिएको छ,’ सुवेदीले भने, ‘यसपटक हामी सबै जनताको घरदैलोमा पुगेका छौँ। जनताको गुनासो सुन्ने काम भइरहेको छ।’

उनले आफ्नो क्षेत्रका सबैजसो मतदातालाई भेट्ने, उनीहरूका कुरा सुन्ने र सोहीअनुसार आगामी दिनमा योजना बनाउने बताए। बाग्लुङ १ मा प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उम्मेदवारी दिएका छन्। करिब ८० वर्षे बुढ्यौली उमेरमा पनि उनी घरदैलोमा निक्कै उत्साहका साथ  जाने गरेका छन्। ‘विपक्षीले आराम गर्ने उमेरमा उम्मेदवार भएको भनेर जिस्क्याइरहेका छन्, तर केसीले घरघरमै पुगेर मतदातालाई भेटेका छन्,’ कांग्रेस उम्मेदवार सुवेदीले भने। केसीले मतदाताको घरमा म आएको थिएँ भनेर चिठी र आफ्नो प्रचार सामग्रीसमेत छाड्ने गरेका छन्।

केसीले पनि मतदातालाई भेट्दै जनताको चाहनाअनुसार पुनः घरदैलोमा आएको र संविधानका रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनका आग्रह गर्ने गरेका छन्। मुलुकमा नेकपा एमालेले संकट निम्त्याएको हुँदा देशलाई दुर्घटनाबाट जोगाउन आफू सँगै गठबन्धनका उम्मेदवारलाई मतदान गर्नका निम्ति जनतासमक्ष आग्रह गर्दै आएको बताए।
 
‘म उम्मेदवार भइरहँदा विपक्षी दलका साथीहरूले आराम गर्नुपर्ने उमेरमा उम्मेदवार भयो भनेर जिस्क्याउँदा रहेछन्,’ केसीले हाँस्दै भने, ‘देशको बारेमा चिन्ता नगर्नेले मेरोबारेमा किन चिन्ता गर्नुपर्‍याे ? म संसदमा पुगेर बलियो उपस्थिति देखाएर संविधान रक्षाको निम्ति लाग्नेछु। ढुक्क हुनुहोस्, जनताकै पक्षमा उभिनेछु।’ 

केसीसँग प्रतिस्पर्धामा रहेका नेकपा एमालेका सूर्य पाठक पनि घरदैलोमा व्यस्त छन्। उनले पनि घरघरमै पुगेर र खेतबारी भएकोलाई टाढाबाट बोलाएर भए पनि भोट मागेका छन्। ‘कामको समय पर्‍याे । घरमा कोही भेटिँदैनन्। घरदेखि नजिकै भए केहीलाई भेटेरै भोट मागेका छौँ, केहीलाई टाढैबाट बोलाएर पनि मत माग्ने गरेका छौँ,’  एमाले उम्मेदवार पाठकले भने।

बाग्लुङ १ मा केसी र पाठक मुख्य प्रतिस्पर्धी हुन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पनि चुनौती पेस गर्ने देखिएको छ। प्रदेश सभा (क) मा कांग्रेसका दीपेन्द्रबहादुर थापा र नेकपा एमालेका हिराबहादुर केसी प्रतिस्पर्धामा छन्। थापा कांग्रेसका निवर्तमान जिल्ला सभापति हुन् भने केसी एमालेका जिल्ला अध्यक्ष हुन्। प्रदेश सभा (ख)मा कांग्रेसबाट डिल्लीराम सुवेदी र एमालेबाट नवराज पौडेल प्रतिस्पर्धामा छन्।

ad
ad