मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौैं
२०७९ कार्तिक २७ आइतबार ०८:५४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महानगरले बनायो  सडक सुरक्षा परीक्षण योजना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
२०७९ कार्तिक २७ आइतबार ०८:५४:००

काठमाडौं महानगरपालिकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट)सम्बन्धी नयाँ योजना बनाएको छ । अग्नि नियन्त्रकका लागि जुद्ध वारुण यन्त्र कार्यालय, न्युरोडमा सुरु भएको दुईदिने सडक सुरक्षा तालिमको शुभारम्भ गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले यस्तो बताएका हुन् ।

‘सडक, यातायात र ट्राफिक व्यवस्थापनमा काम गर्ने कार्यालय, संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारका बारेमा पनि पुनर्विचार गर्नुपर्ने देखिएको छ । जसलाई जे अधिकार हुनुपर्ने हो, त्यो अधिकार प्राप्त नहुनु, कसले के काम गरिरहेको छ, आपसमा थाहा नहुनुले नतिजा मापन गर्न सकिएको छैन । यसका लागि महानगरले सडक सुरक्षा परीक्षण योजना बनाएको हो । यसले तथ्यमा आधारित नीति निर्माणमा टेवा दिनेछ,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ । 

विश्वबैंकले गरेको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाबाट राष्ट्रिय उत्पादनको १.५ प्रतिशत आर्थिक क्षति व्यहोर्नुपरेको छ । नेपाल दक्षिण एसियाली मुलुकहरूमा सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशमध्येको एक हो । दुर्घटनाबाट ज्यान जाने, अंगभंग हुनेलगायत क्षति हुन्छन् । सडक प्रयोगकर्तामध्ये पैदलयात्री, साइकलयात्री र मोटरसाइकलयात्री सडक दुर्घटनाको सबैभन्दा जोखिममा पर्ने गरेका छन् । सन् २०३० सम्ममा पूरा गर्नुपर्ने दिगो विकास लक्ष्यमा सडक दुर्घटनालाई आधा घटाउनुपर्ने सूचक छ । 

सडक सुरक्षा परिषद्का सल्लाहकार सरोज प्रधानले महानगरको सडक सुरक्षा परीक्षण योजनाबाट महत्वपूर्ण सूचना प्राप्त हुने अपेक्षा भएको बताए । ‘गर्नैपर्ने र सडक सुरक्षाको वस्तुगत स्थितिको जानकारी दिने सेफ्टी अडिटका लागि परिषद्बाट आवश्यक प्राविधिक सहयोग उपलब्ध हुनेछ,’ प्रधानको भनाइ छ ।

विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार तालिममा दुर्घटना र मानवीयताको कोण, घटनास्थलमा पुग्ने र अवस्थाको विश्लेषण गर्ने, सवारीको अवस्था र त्यसलाई स्थित बनाउने तरिका, खोज, उद्धारका लागि भौतिक साधन तथा उपकरणको व्यवस्थापन, अन्य जोखिम भए त्यसलाई घटाउने वा हटाउने, उद्धार कार्यको समाप्तिलगायत विषय समावेश छन् । तालिमका क्रममा सैद्धान्तिक ज्ञानसहित व्यावहारिक सीपका लागि प्रयोगात्मक कक्षा सञ्चालन हुने श्रेष्ठको भनाइ छ । 

तालिममा काठमाडौं उपत्यकाका पालिकाहरूबाट ४० जना अग्नि नियन्त्रकको सहभागिता छ । अग्नि नियन्त्रक नभएका पालिकाहरूबाट पर्यवेक्षक–अवलोकनकर्ताका रूपमा सहभागी गराइएको छ । तालिममा ग्रेटर म्यानचेस्टर फायर एन्ड रेस्क्यु सर्भिस, बेलायतबाट रोबट ब्रिटल्स र जन्सन स्नुहामले प्रशिक्षण दिनेछन् ।