
अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपअगाडि नै घाइते भएका छन् । मेसीको पिँडुला सुन्निएको छ । चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मेसीलाई आराम दिएको छ । पिएसजीका अनुसार केही दिनमै मेसीको उपचार हुनेछ । मेसीले यसपटक कतार विश्वकपमा आफ्नो लागि उपाधि जित्ने अन्तिम अवसर भएको बताइसकेका छन् । मेसी घाइते हुँदा समर्थक निराश बनेका छन् ।
पिएसजीले उपचारपछि मेसी अभ्यासमा फर्कन सक्ने जनाएको छ । ‘अर्को साता मेसी सामूहिक प्रशिक्षणमा फर्कन सक्छन्,’ पिएसजीले जारी गरेको विज्ञप्तिमा भनेको छ । बार्सिलोनामा १७ वर्षको बसाइपछि मेसीले गत वर्ष पिएसजीमा आबद्ध भएका थिए । पिएसजीमा पहिलो सिजन राम्रो गर्न नसकेका मेसीले यसपटक व्यक्तिगत १२ गोल गरेका छन् । सन् २०१४ को विश्वकपमा मेसीकै कप्तानीमा अर्जेन्टिनाले विश्वकप फाइनल खेलेको थियो । जर्मनीबाट अर्जेन्टिना १–० ले पराजित भयो । अर्जेन्टिनाले विश्वकपको पहिलो खेल साउदी अरबसँग खेल्नेछ ।
विश्वकप गुमाए इंग्लिस डिफेन्डर जेम्सले
इंग्ल्यान्डका मुख्य डिफेन्डर रेस जेम्सले कतार विश्वकप गुमाएका छन् । प्रशिक्षक गेराथ साउथगेटले आफ्ना मुख्य डिफेन्डर जेम्स चोटका कारण विश्वकप टोलीबाट बाहिर रहेको स्पष्ट पारेका छन् । इंग्लिस क्लब चेल्सीका डिफेन्डरसमेत रहेका जेम्सको घुँडाको चोट निको भएको छैन । इंग्ल्यान्डले पछिल्लो चार वर्षमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्दा जेम्सले उल्लेखनीय योगदान गरेका थिए । उनी टोलीबाट बाहिर रहँदा समर्थक निराश बनेका छन । समर्थकले जेम्सलाई मौका दिनुपर्ने धारणा राखेका छन् । प्रशिक्षक गेराथले पनि मुख्य डिफेन्डरविना कतार विश्वकपमा सहभागी हुनुपर्दा दुःख लागेको प्रतिक्रिया दिएका छन् ।