मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी सिड्नी
२०७९ कार्तिक २४ बिहीबार ०६:४०:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप क्रिकेट : पाकिस्तान तेस्रोपटक फाइनलमा

साबिक उपविजेता न्युजिल्यान्डलाई सात विकेटले हराउँदै पाकिस्तान सन् २००९ पछि आइसिसी टी–२० विश्वकपको फाइनलमा

Read Time : > 1 मिनेट
एजेन्सी, सिड्नी
२०७९ कार्तिक २४ बिहीबार ०६:४०:००

पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा तेस्रोपटक फाइनलमा पुगेको छ । पाकिस्तानले बुधबार सिड्नी क्रिकेट मैदानमा साबिक उपविजेता न्युजिल्यान्डमाथि सात विकेटको सानदार जित निकाली अन्तिम दुईको स्थान सुरक्षित गरेको हो । पाकिस्तानले अब उपाधिका लागि बिहीबार हुने भारत र इंग्ल्यान्डबीचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा ओपनर ब्याटसम्यानद्वय बाबर अजाम र मोहम्मद रिजवान चम्केपछि पाकिस्तानले १३ वर्षपछि तेस्रोपटक फाइनलमा स्थान बनाउन सफल भएको हो । 

विश्वकपको पहिलो दुई संस्करणमा पाकिस्तान लगातार फाइनलमा पुगेको थियो । सन् २००७ मा दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको टी–२० विश्वकपको फाइनलमा पाकिस्तान भारतसँग पाँच रनले पराजित भएको थियो । सन् २००९ को विश्वकप फाइनलमा पाकिस्तानले श्रीलंकामाथि आठ विकेटको जित निकाली उपाधि हात पा¥यो । न्युजिल्यान्डले यसपटक लगातार फाइनल खेल्ने सपना पूरा गर्न सकेन । 

सिड्नी मैदानमा पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा चार विकेट गुमाएर एक सय ५२ रनको बलियो योगफल बनाएको थियो । प्रत्युत्तरमा पाकिस्तानले १९.१ ओभरमा तीन विकेटको नोक्सानीमा एक सय ५३ रन बनायो । पाकिस्तानका लागि सान मसुदले विजयी रन बटुलेका थिए । 

बलियो ओपनिङ साझेदारी 
लक्ष्य पछ्याएको इनिङ्समा पाकिस्तानका लागि ओपनरद्वय बाबर र रिजवानले पहिलो विकेटका लागि उत्कृष्ट साझेदारी गरेका थिए । दुवैले प्रतियोगितामा पहिलोपटक एक सय पाँच रनको साझेदारी गर्दैै जितको आधार बनाए । इनिङ्सको १२.४ ओभरमा बाबरले आफ्नो विकेट गुमाए । यसअघि, कप्तान बाबर रन लिन संघर्ष गरिरहेका थिए । सेमिफाइनलमा उनी चम्किँदा पाकिस्तानले राहत पाएको छ । बाबरले ४२ बलमा ५३ रनको योगदान गरे । 

उनले आफ्नो अर्धशतकीय इनिङ्समा सात चौका प्रहार गरेका थिए । इनिङ्सको पहिलो ओभरमै न्युजिल्यान्डका विकेटकिपर डेवोन कोन्वेले बाबरको सहज क्याच मिस गरेका थिए । बोल्टको ओभरमा बाबरको सहज क्याच कोन्वेले मिस गरेका हुन् । त्यसवेला बाबरले एक रन पनि बनाएका थिएनन् । बाबरले एक जीवनदानको भरपूर फाइदा लिए । त्यसपछि रिजवानले ४३ बलमा ५७ रनको योगदान दिए । उनले पाँच चौका प्रहार गरे । बाबर र रिजवानले शतकीय साझेदारी गर्दा जोखिम उठाएनन् । 

दुवै ब्याट्सम्यानले एक छक्का पनि प्रहार गरेनन् । पाकिस्तानका दुवै ओपनरलाई फास्ट बलर ट्रेन्ट बोल्टले आउट पारेका थिए । रिजवानले यो वर्ष १०औँ अर्धशतक लगाए । बाबरले आफ्नो अन्तर्राष्ट्रिय टी–२० खेलकै ३०औँ अर्धशतक पूरा गरे । पाकिस्तानको जितमा मोहमद ह्यारिसले २६ बलमा ३० रन जोडे । उनले दुई चौका र एक छक्का प्रहार गरेका थिए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले दुई विकेट लिँदा मिचेल सान्टरले एक विकेट लिए । 

साहिनको कसिलो बलिङ
न्युजिल्यान्डको बलियो ब्याटिङ लाइनअपमाथि फास्ट बलर साहिन साह अफ्रिदीले निकै कसिलो बलिङ गरेका थिए । उनले चार ओभरमा २४ रन खर्चेर महत्वपूर्ण दुई विकेट हात पारे । इनिङ्सको तेस्रो बलमै साहिनले फिन एलेनलाई एलबिडब्लुको धरापमा राख्दै पाकिस्तानलाई उत्कृष्ट सुरुवात दिलाए । यसैगरी, कप्तान केन विलियम्सनको विकेट पनि साहिनले नै लिए । विलियम्सन बोल्ड भए । न्युजिल्यान्डले विलियम्सनलाई गुमाउँदा स्कोर बोर्डमा ११७–३ को प्रदर्शन गरेको थियो । 

न्युजिल्यान्डको इनिङ्समा विलियम्सन र डायल मिचेलबीच चौथो विकेटका लागि ६८ रनको साझेदारी भएको थियो । विलियम्सनले ४२ बलमा समान एक चौका र छक्का प्रहार गरी ४६ रन बनाए । मिचेलले ३५ बलमा ५३ रनको नटआउट योगदान दिए । उनले तीन चौका र एक छक्का प्रहार गरेका थिए । मिचेलले जेम्स निसिमसँग पाँचौँ विकेटका लागि ३६ रनको साझेदारी गरे । नसिमले १२ बलमा १६ रन बनाए । पाकिस्तानका लागि मोहम्मद नबाजले एक विकेट लिन सफल भए ।