१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पहिरोले अवरुद्ध उदीपुर सडक पाँच महिनामा खुल्यो

चुनावी एजेण्डा बन्यो उदीपुर सडक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:१२:oo

असारको सुरुवातमै पहिरोले सडक बगाएपछि लमजुङको बेँसीसहर नगरपालिका– १ उदीपुर सडकखण्डको मोटर बाटो ठप्प भएको पाँच महिनापछि सञ्चालनमा आएको छ। तर, यसको भरपर्दो विकल्पको खोजी भने अझै हुन सकेको छैन । ०७८ भदौ ११ गते उक्त ठाउँमा पहिरोले सडक बगाएपछि उदीपुर–रिठ्ठेबगर, मध्यमर्स्याङ्दी बाँध हुँदै बेँसीसहर आउने सडकलाई प्रयोगमा ल्याइएको थियो ।

पहिरोको कारण अवरुद्ध डुम्रे बेँसीसहर सडक खण्डको उदीपुर सडकखण्डमा अस्थायी सडकमार्ग निर्माण भएसँगै सवारीसाधन आवतजावत हुन थालेको हो । बेँसीसहर नगरपालिका, डुम्रे–बेँसीसहर–चामे सडक योजना र मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबीच छलफल गरी सडक निर्माण गरी सवारी आवतजावतलाई सहज बनाइएको हो । 

अस्थायी सडक निर्माण भएसँगै उक्त सडकखण्डबाट सोमबारबाट नै सवारीसाधन आवतजावत गर्न थालेको डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख अच्युतविलास पन्तले बताए । पन्तका अनुसार पहिरो गएको ठाउँको केही माथिबाट पाँच मिटर चौडाइको सय मिटर लामो सडक बनाइएको छ ।

सडक निर्माणसँगै निर्माणका लागि कार्यालयले एक्स्काभेटरसहित प्राविधिकको व्यवस्थापन र बेँसीसहर नगरपालिकाले इन्धनको व्यवस्थापन गरेको थियो । यस्तै मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रले फलामे पुल उपलब्ध गराएको छ । सडकखण्डबाट एकतर्फी सडक सुचारु भए पनि यो अस्थायी सडक हो । उक्त सडकको कात्तिक १६ बाट निर्माण थालिएको थियो।

पहिरोले सडक अवरुद्ध गरेसँगै पाँच महिनासम्म नेपाली सेनाको चण्डीप्रसाद गणबाट सवारीसाधन आवतजावत गरिएको थियो । सेनासँग कात्तिक मसान्तसम्म उक्त स्थानबाट सवारी सञ्चालन गर्ने सहमति भएकाले पहिरो गएको ठाउँबाट वैकल्पिक रूपमा अस्थायी सडक निर्माण गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । 
 
यस वर्ष बर्खा लाग्नेबित्तिकै असार पहिलो हप्ता वर्षाले उक्त ट्रयाकसमेत पूरै सडकलाई नै पहिरोले बगाएपछि त्यहाँबाट यातायात ठप्प भएको थियो । चिप्लेटीबाटै माथि धिमिरेको बाटो हुँदै उदीपुर पुग्ने सडक पनि उपयोग गर्न खोजियो, त्यो पनि काम हुन सकेन । उदीपुरमा पहिरोले सडक भत्किएपछि यात्रुसँगै व्यवसायीहरूले निकै सास्ती पाएका थिए । 

सडक सञ्चालनमा आएसँगै लमजुङ सदरमुकाम बेँसीसहरसहित हिमाली जिल्ला मनाङसम्मको यातायात सेवामा सहज हुने भएको छ । उदीपुरमा  ०७८ भदौमा पहिरोले सडक बगाएको हो । सडक भत्किएको वर्ष दिन बित्दा पनि मर्मतको पहलसम्म नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् । सडकको दीर्घकालीन टिकाउ हुने गरी सडक निर्माण गर्ने भन्दै लमजुङका उम्मेदवारले यो सडकलाई चुनावी एजेन्डासमेत बनाएका छन् ।

निर्वाचनको मिति नजिकिएसँगै गाउँगाउँमा पुगेका गठबन्धन र एमालेका उम्मेदवारको एजेन्डाको प्राथमिकतामा उदीपुर सडक परेको छ । मतदाताले गाउँगाउँमा पुगेका उम्मेदवारसँग उदीपुर सडकको विषयमा सडकको पहल किन नभएको भन्दै नेताहरूलाई प्रश्नसमेत गर्न थालेका छन् । 
 

ad
ad