Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अभ्यासका क्रममा पाकिस्तानी क्रिकेट खेलाडी । तस्बिर : एजेन्सी
एजेन्सी सिड्नी
२०७९ कार्तिक २३ बुधबार ०६:५८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल आज : न्युजिल्यान्डको सामना गर्दैै पाकिस्तान

सिड्नी क्रिकेट मैदानमा साबिक उपविजेता न्युजिल्यान्ड सन् २००९ को विजेता पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै

Read Time : > 2 मिनेट
एजेन्सी, सिड्नी
२०७९ कार्तिक २३ बुधबार ०६:५८:००

आइसिसी पुरुष टी–२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल साबिक उपविजेता न्युजिल्यान्ड र पूर्वविजेता पाकिस्तानबीच बुधबार सिड्नी क्रिकेट मैदानमा सुरु हुँदै छ । न्युजिल्यान्डको लक्ष्य लगातार दोस्रोपटक विश्वकप फाइनल खेल्ने हो । पाकिस्तान भने दोस्रोपटक उपाधि उचाल्ने योजनामा छ । उसले विश्वकपको पहिलो तथा दोस्रो संस्करणमा फाइनल खेलेको थियो । सन् २००७ मा दक्षिण अफ्रिकामा भएको फाइनलमा पाकिस्तान भारतसँग पाँच रनले पराजित भएको थियो । सन् २००९ को संस्करणमा पाकिस्तानले श्रीलंकामाथि रोमाञ्चक जित निकाली पहिलोपटक टी–२० विश्वकप च्याम्पियन बनेको थियो ।

गत वर्षको संस्करणमा न्युजिल्यान्ड अस्ट्रेलियाबाट आठ विकेटले पराजित भएको थियो । विश्वकपको सेमिफाइनलका अनुभवी पाकिस्तान र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल रोमाञ्चक बन्ने पक्का छ । पाकिस्तानको एउटै समस्या शीर्ष ब्याट्सम्यान चल्न सकेका छैनन् । कप्तान बाबर अजाम लगातार खेलमा असफल भइरहेका छन् । अघिल्लोपटकको विश्वकपमा उनले उत्कृष्ट ब्याटिङ गरेका थिए । स्वयं कप्तान बाबर पनि न्युजिल्यान्डसँगको भिडन्तमा फर्ममा आउने विश्वास राख्छन् । 

पाकिस्तान र न्युजिल्यान्डबीच अहिलेसम्म २९ अन्तर्राष्ट्रिय टी–२० खेल भएको छ । जसमा पाकिस्तानले १७ तथा न्युजिल्यान्डले ११ खेलमा जित निकालेको छ । पछिल्ला पाँचमध्ये चार खेलमा न्युजिल्यान्ड पाकिस्तानसँग पराजित भएको छ । 

दुवै टोलीको बलिङ बलियो
पाकिस्तान र न्युजिल्यान्डबीचको एउटै समानता छ, दुवै टोलीका बलर उत्कृष्ट फर्ममा छन् । पाकिस्तानले पछिल्लो खेलमा जित निकाल्दा बलरले उत्कृष्ट योगदान दिएका थिए । साहिन साह अफ्रिदी र सदाव खान मुख्य बलर हुन् । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, टिम साउथी र लोकी फर्गुसन राम्रो फर्ममा छन् । यी तीनजना बलर तीव्र गतिमा बल फ्याक्न खप्पिस छन् । स्पिनर मिचेल सान्टनार र ईश सोधी मध्यक्रममा ब्याट्सम्यानलाई रन बटुल्न रोक्न सिपालु छन् । पाकिस्तानका मोहमद वासिम, नसिम शाह तथा ह्यारिस राउफले पनि प्राप्त अवसरमा विपक्षी ब्याट्सम्यानलाई पेभेलियन फर्काउन सक्छन् । 

पिचको अवस्था 
सिड्नी मैदानमा पछिल्लो ६ खेलमा टस जितेर पहिलो ब्याटिङ गरेका पाँच टोलीले जित निकालेका छन् । समूह १ को पहिलो खेलमा न्युजिल्यान्ड र अस्ट्रेलियाबीच खेलाइएको पिचमा नै पहिलो सेमिफाइनल खेल आयोजना हुनेछ ।यो पिच ब्याट्सम्यानहरूका लागि निकै उपयुक्त मानिएको छ । यद्यपि, फास्ट बलरले पनि सही दिशामा बलिङ गर्दा ब्याट्सम्यान समस्यामा पर्न सक्छन् । मौसम विभागका अनुसार बुधबार हल्का वर्षा हुन सक्छ । 

भाग्यमानी पाकिस्तान
सुपर १२ अन्तर्गत समूह २ मा पाकिस्तान अन्तिम खेलमा भाग्यमानी ठहरियो । भारत र जिम्बावेसँग लगातार खेलमा पराजित हुँदा पाकिस्तानको सेमिफाइनल पुग्ने आशा लगभग समाप्त भइसकेको थियो । गणितीय आधारमा मात्र पाकिस्तानको सेमिफाइनल खेल्ने आशा जीवित थियो । समूह २ को अन्तिम खेलमा नेदरल्यान्ड्सले विश्वकपको दाबेदार टोली दक्षिण अफ्रिकामाथि अप्रत्याशित जित निकाल्दा पाकिस्तानको अन्तिम चारमा प्रवेश गर्ने बाटो खुला भएको हो । 

पाकिस्तानले बंगलादेशमाथि पाँच विकेटको जित निकाली समूह २ को उपविजेता टोलीका रूपमा अन्तिम चारमा स्थान बनायो । न्युजिल्यान्डले समूह १ मा साबिक विजेता अस्ट्रेलियालाई ८९ रनले हराउँदै उत्कृष्ट सुरुवात गर्‍यो । यही खेलबाट न्युजिल्यान्डको अन्तिम चारमा पुग्ने आशा बलियो भायो । समूह १ मा अस्ट्रेलिया र न्युजिल्यान्डबीच समान सात अंक थियो । तर, राम्रो रनरेटका आधारमा न्युजिल्यान्ड भाग्यमानी हुँदै सेमिफाइनलमा पुग्यो । रनरेट कमजोर हुँदा अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरियो ।

मैदान प्रवेश गर्ने दर्शकलाई १० लाख ४३ हजार जरिवाना
समूह २ मा भारत र जिम्बावेबीचको खेलमा एक भारतीय समर्थक मैदानमा पुगेका थिए । ती भारतीय समर्थक भारतको झन्डा बोक्दै कप्तान रोहितसमक्ष पुगे । सुरक्षा घेरा पार गरी मैदानभित्र प्रवेश गरेका समर्थकले रोहितलाई अँगालो मारी भावुक बने । सुरक्षाकर्मीले बल प्रयोग गरी उनलाई बाहिर पठाउन कोसिस गरे । तर, रोहितले ती भारतीय समर्थकलाई सम्झाएर मैदानबाट बाहिर पठाए । 

सो खेलमा भारत ७१ रनले विजयी भएको थियो । खेलका दौरान आफ्नो मन पर्ने खेलाडीसमक्ष पुगेका ती भारतीय समर्थकले अहिले चर्को मूल्य चुकाउनुपर्ने भएको छ । आइसिसीको नियम तोडेका कारण भारतीय समर्थकले १० लाख ४३ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । सिड्नी क्रिकेट मैदान व्यवस्थापकले मैदान सुरक्षामाथि आँच आउने गतिविधि गरेको आरोपमा भारतीय समर्थकलाई जरिवाना तोेकेको हो ।