१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
भक्तपुर–नगरकोट धुलाम्य सडक । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
शिल्पा कर्ण काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भक्तपुर–नगरकोट सडक सबै दलको चुनावी एजेन्डा

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२५:oo

उम्मेदवार नै आन्दोलनमा उत्रिएपछि आठ वर्षदेखि अलपत्र सडक निर्माण सुरु, पुसभित्रै सम्पन्न गर्ने प्रतिबद्धता

आठ वर्षदेखि बन्न नसकेको भक्तपुरको चाँगु सिपाघाट सडक यसपटक सबैजसो उम्मेदवारको निर्वाचनको एजेन्डा बनेको छ । उक्त सडक छिटो निर्माण गर्न स्थानीयले पटक–पटक आन्दोलन गर्दै आए पनि सुनुवाइ भएको थिए । निर्वाचन नजिकिएपछि भने भक्तपुर १ का सबै उम्मेदवारले स्थानीयलाई साथ दिएका छन् ।

स्थानीयवासी, जनप्रतिनिधि तथा संघीय र प्रदेश सभाका निर्वाचनका उम्मेदवारसहितको सहभागितामा बुधबार सडक अवरोध गरी छिटो सडक निर्माण गर्न दबाब दिइएको थियो । आन्दोलनपछि बुधबारदेखि नै निर्माण सुचारु भएको छ । ‘यो सडक चाँडै बन्नुपर्छ भन्ने हाम्रो निकै पहिलेको माग हो । अहिले जनता झनै आक्रोशित छन्,’ सत्ता गठबन्धनको समर्थनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका सुनील गोठेले भने, ‘विदेशीहरू आउने पर्यटन मार्ग यस्तो हुँदा देशकै बेइज्जत भएको छ ।’ उनले यो मुद्दा राजनीतीकरण गर्न नहुने पनि बताए । 

भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तारका लागि जेठ ०७१ मा भारतीय कम्पनी आइपिएल र शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारी माओवादीका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी भएकाले यसअघिका विभिन्न आन्दोलनमा अधिकारीका साथै दाहालसमेत जोडिएका थिए । ‘यो सडक बनाउन तत्कालीन नेकपामा हुँदा पनि हामीले दबाब दिएका थियौँ । यो कोही व्यक्तिका लागि बनाउने होइन । कसैले अमुक व्यक्तिको कारण छुट पाउने होइन,’ गोठेले भने । उनले स्थानीयद्वारा आयोजित कार्यक्रममा सम्बोधन गरेका थिएनन् । आफूलाई ढिला जानकारी भएकाले आउन पनि ढिलाइ भएको, तर सडक निर्माणको मागमा ऐक्यबद्धता रहेको उनको भनाइ छ । 

सातपटक म्याद थप, साढे दुई गुणा बढ्यो लागत
निर्माण सम्झौताअनुसार कात्तिक ०७३ मै काम सम्पन्न गर्नुपर्नेमा सातपटक म्याद थप भइसकेको छ । जसबाट २८ करोड रुपैयाँ निर्माण सम्पन्न हुने अनुमान गरिएकोमा सडकको लागतसमेत साढे दुई गुणाले बढेको छ । 

एमालेका उम्मेदवार नवराज गेलालले पनि सडक नबन्दा स्थानीयवासी आजित भइसकेको र विभिन्न चरणमा भएका आन्दोलनलाई सदैव समर्थन गरेको बताउँछन् । यस क्षेत्रबाट जित्ने सांसदले संघीय सरकारको यो आयोजना पूरा गराउन सरकारसँग आवश्यक समन्वयका कार्य गरोस् भन्ने चाहना स्थानीयको रहेको उनले बताए । ‘आठ वर्ष भइसक्यो, सडक विस्तार र निर्माण पूरा हुन सकेको छैन । सरकार, ठेकेदार र सम्बन्धित निकायहरूले ध्यान दिएका छैनन्,’ गेलाल भन्छन्, ‘यसमा दलीय कुरा नै उठ्दैन । हामी सबै सडक बन्नुपर्छ भन्नेमा एकमत छौँ र जितेपछि आफ्नो ठाउँबाट सक्दो पहल गर्नेछौँ ।’ सबै दलहरूले पटक–पटक भएका आन्दोलनमा समर्थन जनाएको उनले बताए । 

यसअघि यहाँबाट संघीय संसद्मा प्रतिनिधित्व गरेका प्रेम सुवाल भने बुधबार विरोध कार्यक्रममा उपस्थित थिएनन् । उनी फेरि अर्को कार्यकालका लागि नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार छन् । नेमकिपाले काम नगर्ने ठेकेदारहरूसँग ठेक्का सम्झौता तोड्नुपर्ने माग राख्दै आएको छ । 

पुसभित्र निर्माण सक्ने प्रतिबद्धता 
गत सोमबार पनि स्थानीयले आन्दोलन गरेका थिए । यसअघि पनि उक्त रुटका गाडीहरूमा ठेकेदार अधिकारीको फोटो टाँसेर स्थानीयले विरोध प्रदर्शन गर्ने गरेका थिए । पूर्वमन्त्री रेणुकुमारी यादवलाई पनि स्थानीयले बाटैमा रोकेर गुनासो गरेका थिए भने सडक निर्माण पूरा हुने ग्यारेन्टी दिन माग गरेका थिए । विरोधपछि समयमै काम गर्ने सहमति हुँदै आएको छ । हालसम्म सडकको ८० प्रतिशत काम सकिएको छ । 

बुधबार भएको पछिल्लो सहमतिमा निर्माण कम्पनीले अबको अढाई महिनाभित्र सडक निर्माण सक्ने जनाएको छ । जनप्रतिनिधि, स्थानीय तथा आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार, राजनीतिक दलका स्थानीय नेताहरूका बीचमा निर्माण कम्पनीका प्रतिनिधि अनुप अधिकारी तथा आयोजना प्रमुखले यस्तो प्रतिबद्धता जनाएका हुन् । यो सडकले भक्तपुर नगरपालिका–१० र चाँगुनारायण नगरपालिकाका वडाहरू ४, ५, ६ र ७ लाई छुन्छ ।  

‘यहाँ ०७६ देखि नै विभिन्न स्वरूपमा आन्दोलन भइरहेको छ । यसका लागि स्थानीय जनप्रतिनिधि, सांसद सबैले आफ्नो ठाउँबाट सक्दो गरे,’ चाँगुनारायण नगरपालिका–६ का अध्यक्ष धनबहादुर लामाले भने, ‘दुई दिनसम्म माटो थुपारेर बन्द गर्दा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएपछि चाँगुका नगरप्रमुख, जनप्रतिनिधि, प्रतिनिधि र प्रदेश सभा उम्मेदवार सबैलाई सम्मिलित गराई धर्ना दिएका हौँ ।’ ३० पुसभित्र काम गर्नुपर्ने वा ठेक्का रद्द गर्नुपर्ने माग स्थानीयको रहेको उनको भनाइ छ । मेयर जीवन खत्रीले आफूहरू निर्वाचित भएको पाँच महिनामा यो सडक निर्माणका लागि मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पनि भेटेको बताए । आफूहरूको प्राथमिकतामा यो सडक रहेको बताउँदै मेयर खत्रीको भनाइ छ । 

यसअघि ०७६ मा भक्तपुर १ (क)मा उपनिर्वाचन हुँदा यो विषय उठेको थियो । त्यसवेला पनि उम्मेदवारले समन्वयको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । त्यहाँबाट जितेका कांग्रेसका कृष्णलाल भँडेलले बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री हुँदा प्रचण्डसँग भेट्दा ४५ दिनभित्र सडक विस्तार सकिने आश्वासन पाएका थिए, तर भएन । ‘स्थानीय निर्वाचनमा लाग्दा हामीले पनि प्रतिबद्धता गरेका थियौँ । तर, लोकतान्त्रिक विधिले गर्नुपर्ने सबै गर्दा पनि सफल भएनौँ,’ मेयर खत्रीले भने ।  

साढे १५ किलोमिटर सडकमा पछिल्लो आठ वर्षदेखि ठेकेदारले बीच–बीचमा केही समय काम गरेकोजस्तो गर्ने, फेरि रोक्ने गर्दा स्थानीय दिक्क भएका छन् । मेयर खत्री उनी निराशा व्यक्त गर्छन्, ‘तीव्रताका साथ काम नसकाए कालोसूचीमा राख्ने भनेर सहमति गरेका छौँ । सहमति हेर्दा ढुक्कचाहिँ छैनौँ । तर, हामीसँग विकल्प पनि छैन ।’ यसपटक पनि सहमति पालना नभए नयाँ ठेक्काका लागि आफूहरूले माग गर्ने उनको भनाइ छ । 

ad
ad