१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप क्रिकेट : भारतीय पूर्वकप्तान कोहलीको विश्व कीर्तिमान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:१९:oo

भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा विश्व कीर्तिमान बनाएका छन् । विश्वकपमा सर्वाधिक व्यक्तिगत रन बनाउने सूचीको शीर्ष स्थानमा उक्लेपछि विराटले विश्व कीर्तिमान राखेका हुन् ।

अस्ट्रेलियामा चलिरहेको विश्वकपमा कोहलीले बुधबार बंगलादेशविरुद्ध १६ रन बनाएपछि श्रीलंकाली पूर्वकप्तान महेला जयवद्र्धनेको नाममा रहेको कीर्तिमान तोडे । कोहलीले विश्वकपमा एक हजार ६५ रन बनाएका छन् ।

समग्रमा कोहलीले बंगलादेशविरुद्ध ६४ रनको नटआउट इनिङ्स खेले । उनले समूह २ को चौथो खेलमा आठ चौका र एक छक्का प्रहार गरेका थिए । यसअघि टी–२० विश्वकपको इतिहासमा जयवद्र्धनेको नाममा एक हजार १६ रनको रेकर्ड थियो । 

विराट कोहली (भारत)
खेल : २५, रन १०६५
टी–२० फम्र्याटमा कोहली आक्रामक रूपमा प्रस्तुत हुन्छन् । अस्ट्रेलियामा कोहली उत्कृष्ट फर्ममा देखिएका छन् । उनले प्रतियोगितामा तीन अर्धशतकसमेत लगाएका छन् । कोहलीले एक सय १२ अन्तर्राष्ट्रिय टी–२० खेलमा तीन हजार नौ सय ३२ रन बनाइसकेका छन् । चालू विश्वकपमा उनले पाकिस्तानविरुद्ध ८२ रन र नेदरल्यान्ड्सविरुद्ध ६२ रनको उत्कृष्ट इनिङ्स खेलेका छन् । दक्षिण अफ्रिकाविरुद्धको प्रतिस्पर्धामा कोहली १२ रनमा आउट भए । कोहलीले टी–२० विश्वकपमा २५ खेलमा २३ इनिङ्स खेलेका छन् । विश्वकपमा उनको उच्चतम व्यक्तिगत ८९ रन हो । 

महेला जयवद्र्धने (श्रीलंका)
खेल : ३१, रन १०१६

श्रीलंकाका पूर्वकप्तान जयवद्र्धनेले सन् २००७ को पहिलो संस्करणदेखि २०१४ सम्म विश्वकपमा प्रतिस्पर्धा गरे । विश्वकपमा धेरै खेल खेल्नेमा उनी पर्छन् । कोहलीपछि धेरै एक हजार १६ रन बनाएका जयवद्र्धनेले विश्वकपमा एक शतक र ६ अर्धशतक ठोकेका छन् । उनले यसक्रममा एक सय ११ चौका र २५ छक्का प्रहार गरेका छन् । जयवद्र्धनेले लगातार सात वर्ष विश्वकपमा सहभागिता जनाउँदा सात सय ५४ बलको सामना गरेका थिए । टी–२० विश्वकपमा उनले पाँचपटक नटआउट इनिङ्स खेलेका थिए । उनको स्ट्राइक एक सय ३४ रन रहेको छ । 

क्रिस गेल (वेस्ट इन्डिज)
खेल : ३३, रन ९६५

अन्तर्राष्ट्रिय टी–२० खेलमा गेल विस्फोटक रूपमा ब्याटिङ गर्न रुचाउँछन् । यसपटक गेलको अनुपस्थितिमा दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो । टी–२० विश्वकपमा गेल तेस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले ३३ खेलमा ३१ इनिङ्सको सहयोगमा नौ सय ६५ रन बनाएका छन् । गेलले विश्वकपमा दुई शतकीय इनिङ्स खेल्दै विश्वकीर्तिमान राखेका छन् । उनले विश्वकपमा सात अर्धशतकीय इनिङ्स खेले । आठपटक नटआउट इनिङ्स खेलेका गेलले सात सय १२ बलमा ७८ चौका र ६३ छक्का प्रहार गरेका छन् । गेलले २००७ देखि २०२१ को संस्करणसम्म खेले ।

रोहित शर्मा (भारत)
खेल : ३७, रन ९२१ 

चालू विश्वकपमा भारतका कप्तान रोहित उच्च फर्ममा छैनन् । यद्यपि, रोहित टी–२० विश्वकपमा धेरै रन बनाउने सूचीको चौथो स्थानमा छन् । रोहितले ३७ खेलमा नौ सय २१ रन बनाएका छन् । टी–२० विश्वकपमा लगातार सहभागिता जनाउने खेलाडीमा पर्ने रोहितले नौ अर्धशतक बनाएका छन् । उनले समग्रमा ८५ चौका र ३५ छक्का लगाएका छन् । टी–२० विश्वकपमा सात सय १२ बल सामना गरेका रोहितको स्ट्राइक एक सय २९ रन रहेको छ । चालू विश्वकपमा रोहितले नेदरल्यान्ड्सविरुद्ध ५३ रनको सर्वाधिक इनिङ्स खेलेका थिए । बंगलादेशसँगको खेलमा उनी दुई रनमै आउट भए । 

तिलकरत्ने दिल्सान (श्रीलंका) 
खेल : ३५, रन ८९७

श्रीलंकाली ब्याट्सम्यान दिल्सानले सन् २००७ देखि २०१६ को संस्करणसम्म निरन्तर विश्वकपमा सहभागिता जनाए । यसक्रममा उनले ३५ खेलमध्ये ३४ इनिङ्समा आठ सय ९७ रन जोडे । विश्वकपमा उनी पाँचौँ सर्वाधिक रन बनाउने ब्याट्सम्यानमा पर्छन् । दिल्सानको व्यक्तिगत उच्च रन ९६ हो । उनले विश्वकपमा नौ अर्धशतक खेलेका छन् । उनले एक सय एक चौका र २० छक्का प्रहार गरेका छन् । विश्वकपमा उनी पाँचपटक नटआउट रहे । दिल्सानले श्रीलंकाली टोलीबाट ८० अन्तर्राष्ट्रिय खेल खेल्दै एक हजार आठ सय ८९ रन जोडेका छन् । उनको नाममा एक अन्तर्राष्ट्रिय टी–२० शतक रहेको छ । 

डेभिड वार्नर (अस्ट्रेलिया)
खेल : ३३, रन ७८१

अस्ट्रेलियाका ओपनर डेभिड वार्नर चालू विश्वकपमा त्यति जम्न सकेका छैनन् । तर, टी–२० विश्वकपको सर्वाधिक व्यक्तिगत रन बनाउने सूचीको छैटौँ स्थानमा उनी छन् । वार्नरले सन् २००९ देखि विश्वकपमा सहभागिता जनाइरहेका छन् । वार्नरले ३३ खेलमा ३३ इनिङ्स खेल्दै सात सय ८१ रन बनाएका छन् । उनले ६ पटक अर्धशतकीय इनिङ्स खेलेका छन् । वार्नर समग्रमा टी–२० विश्वकपमा ८१ चौका र ३१ छक्का प्रहार गरेका छन् । दुईपटक नटआउट प्रदर्शन गरेका वार्नर दुईपटक शून्य रनमा आउट भएका छन् । उनले एक सय ३३ को स्ट्राइकमा ब्याटिङ गरेका छन् । विश्वकपमा उनको सर्वाधिक ८९ रन हो । चालू विश्वकपमा उनले तीन खेलमा १९ रन मात्र बनाएका छन् । 

ad
ad