१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १२:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसका जोशी विरासत फर्काउने, एमालेका गिरी जित दोहोर्‍याउने दाउमा 

पर्वतमा पुरानै प्रतिस्पर्धीबीच रोचक भिडन्त :

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:३७:oo

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा पर्वतमा अधिकांश पुराना एजेन्डासहित पुरानै प्रतिस्पर्धी एमालेका पदम गिरी र कांग्रेसका अर्जुनप्रसाद जोशीबीचमा कडा प्रतिस्पर्धा हुने भएको छ । 

गठबन्धनका उम्मेदवार जोशी आफ्नो पुरानो विरासत फर्काउन, गिरी जित दोहोर्‍याउने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा छन् । विगतका चुनावी मतको अंकगणितअनुसार गठबन्धन र एमालेका उम्मेदवारबीचमा केही सय मात्रै मतको अन्तर भएकाले पनि चुनाव रोचक बनेको छ । 

एउटा मात्र निर्वाचन क्षेत्र भएको पर्वतमा चुनावी माहोल पनि तातेको छ । पहाडी जिल्ला र सदरमुकामबाहेकका ठाउँमा यातायातको सुविधा कम भएकाले यातायात र पूर्वाधार विकासलाई उम्मेदवारले प्रमुख चुनावी एजेन्डा बनाएका छन् । 

सर्वसाधारणले यातायातको सास्ती भोग्दै आएकाले सडक सञ्जाल विस्तार गर्ने, खानेपानी र सिँचाइको व्यवस्था, गुणस्तरीय शिक्षा, सुविधासम्पन्न अस्पताल निर्माणका एजेन्डालाई उम्मेदवारले प्राथमिकताका साथ अघि बढाएका छन् । कांग्रेसका जोशी र एमालेका गिरीसँगै प्रतिनिधि सभामा १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

अघिल्लो निर्वाचनको मतपरिणामलाई विश्लेषण गर्दा पाँचदलीय गठबन्धनका उम्मेदवार जोशी र नेकपा एमालेका उम्मेदवार गिरीबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरूले ०७४ को प्रतिनिधिसभा चुनावमा पनि प्रतिस्पर्धा गरेका थिए । त्यतिवेला एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । गिरीले चुनाव जितेका थिए । यसपटक जोशी गठबन्धनको साथमा पुरानो विरासत फर्काउने दाउमा छन् भने गिरी पुनः दोहोर्‍याउने दाउमा लागेका छन् । 

०५६ को संसदीय निर्वाचनमा विजयी भएर जोशीले संसदीय यात्रा सुरु गरेका थिए । जोशी अहिले पाँचौँपटक पर्वतका जनताको घरदैलोमा पुगेका छन् । उनले ०६४ सालको पहिलो संविधानसभा र  ०७० दोस्रो संविधानसभा निर्वाचनमा समेत जित हात पारेका थिए । 

०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा जोशी पुनः उम्मेदवार भए पनि एमालेका युवा नेता गिरीले जितेका थिए । गिरी यसपटक पनि जित दोहोर्‍याउने दाउमा छन् भने जोशी विरासत फर्काउने दबाबमा छन् । 

राजनीतिलाई विकास र समृद्धिसँग जोडौँ : जोशी
जोशीले आफूले जित्ने मुख्य आधार नै गठबन्धन भएको दाबी गरेका छन् । उनले पर्वत जिल्लाको समग्र विकास र समृद्धिका निम्ति आफ्नो उम्मेदवारी भएको बताए । जोशीले संविधानको रक्षाका साथै विकास तथा पूर्वाधारलाई जोड दिँदै जनताका न्यूनतम आवश्यकता पूरा हुनुपर्ने मुद्दा लिएर जनताको घरदैलोमा पुगेको बताए । 

‘गाउँको विकास नै जनताको मनसँग जोडिएको छ । विकास निर्माणको कामलाई नै जनताले विश्वास गर्छन्,’ जोशीले भने, ‘विगतमा सांसद हुँदा हामीले निर्माण गरेका पूर्वाधारले अघिल्लो पाँच वर्षमा पूर्णता पाउन सकेनन्, पूरा हुन नसकेका पूर्वाधारलाई पूर्णता दिन हामी आएका छौँ ।’ 

जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक संविधानमाथि प्रहार गरेका कारण त्यसको रक्षाका लागि आफू गठबन्धनको साझा उम्मेदवार बनेको दाबी गरे । उनले धेरै ठूला कुराभन्दा पनि जनताको काम गर्न उम्मेदवार भएको बताए । 

जोशीले भने, ‘हिजो पनि काम गरेको हो, भोलि पनि जनताकै काम गर्नेछु । पर्वतको विकास र समृद्धिका लागि अहोरात्र खट्न प्रतिबद्ध छु ।’ उनले पर्वतमा कृषि र पर्यटनमा थुप्रै सम्भावना रहेका कारण यसको खोजी गरेर अगाडि बढ्ने बताए । 

राष्ट्रियताको मुद्दाका कारण जनताले एमाले रोज्नेछन् : गिरी
एमाले उम्मेदवार गिरीले आफूले चुनाव जित्ने प्रशस्त आधार रहेको दाबी गरेका छन् । उनले एमालेले राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति लड्दै आएको र जनताले नेकपा एमालेलाई भोट दिनेमा विश्वस्त रहेको बताए । गिरीले एमाले चुच्चेनक्सा सार्वजनिक गर्नेदेखि राष्ट्रियताको पक्षमा पटक–पटक बोल्दै आएको हुँदा पनि जनताको रोजाइ बन्ने बताए । 

गिरीले पर्वत जिल्लाको विकासका निम्ति आफ्नो उम्मेदवारी रहेको बताए । उनले अघिल्लो कार्यकालमा सुरु गरेका कामलाई अबको पाँच वर्षमा सक्न पनि जनताले आफूलाई रोज्ने बताए । संघीय संसदमा आफूले खेलेको भूमिकालाई पर्वतका मतदाताले न्याय गर्ने उनको भनाइ छ । 

गिरीले भने, ‘पर्वतका जनताले धेरै कुरा बुझिसकेका छन् । हाम्रो पालामा पर्वतको विकास निर्माणको काम धेरै भएको छ । जनताले त्यही विकासलाई हेरेर हामीलाई भोट हाल्नेछन् । पूरा हुन नसकेका अधुरा कामलाई पूरा गर्ने जिम्मा जनताले मलाई नै दिनेमा म ढुक्क छु ।’ उनले विद्यालयको शैक्षिक गुणस्तर, पर्यटन विकास, गाउँघरमै रोजगारी सिर्जना गर्नेलगायतका दीर्घकालीन योजनाका साथ मतदातामाझ पुगेको बताए । 

पर्वतमा यस्तो छ अंकगणित
यसअघिको प्रतिनिधिसभा र स्थानीय निर्वाचनमा प्राप्त मतको आधारमा गिरी र जोशीको निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । ०७४ को चुनावमा गिरीले ३९ हजार दुई सय ७५ मत ल्याएर विजयी भएका थिए । जोशीले भने २६ हजार आठ सय १९ मत प्राप्त गरेका थिए । गत स्थानीय चुनावमा गठबन्धनले प्राप्त गरेकोभन्दा एमाले एक्लैको मत पाँच सयभन्दा बढी छ । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका वडाध्यक्ष उम्मेदवारहरूले कुल ३५ हजार सात सय १६ मत प्राप्त गरेका छन् । स्थानीय निर्वाचनमा कांग्रेसले २९ हजार तीन सय ४४, माओवादी केन्द्रले पाँच हजार तीन सय ६, नेकपा एकीकृत समाजवादीले पाँच सय ४६ र राष्ट्रिय जनमोर्चाले आठ मत पाएका थिए । 

स्थानीय तहको चुनावमा गठबन्धनमा आबद्ध दलहरूको कुल मत ३५ हजार दुई सय चार देखिन्छ । गठबन्धनका दलको भन्दा नेकपा एमालेको पाँच सय १२ मतले बढी छ । गिरी आफ्नाे मत जोगाउन लागेका छन् भने जोशी केही असन्तुष्ट पक्षको मत तानेर जित्ने दाउमा रहेका छन् । निर्वाचन आयोगका अनुसार पर्वतमा कुल एक लाख २२ हजार ६ सय ४९ मतदाता छन् । 

ad
ad