१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
काठमाडौँ–दिल्ली उडान रद्द भएपछि बिचल्लीमा परेका यात्रु निगमको मुख्य कार्यालयमा । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नवीन अर्याल काठमाडाैं
२o८१ जेठ १३ आइतबार ११:१o:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

निगमको चरम लापरबाहीले साढे सात सय यात्रुको बिचल्ली

काठमाडौं–दिल्ली गन्तव्यको सातामा चारवटा उडान रोकिएपछि निगम भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न तयार

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार ११:१o:oo

नेपाल वायुसेवा निगमको आइतबारको दिल्ली उडान रद्द नभएको भए पाल्पाकी वर्षा पराजुली सोमबार जापान पुगिसकेकी हुन्थिन् । भारतको नयाँदिल्लीलाई ट्रान्जिट बनाएर हङकङ हुँदै जापानको ओसाका पुग्नुपर्ने उनी सोमबार दिउँसो न्युरोडस्थित निगम मुख्यालयको टिकट काउन्टरमा धर्ना दिँदै थिइन् । आइतबार दिउँसो १ः४५ मा हुने भनिएको निगमको काठमाडौं–दिल्ली उडान रद्द भएपछि उनीसहित दुई सय ५४ यात्रु अलपत्र परेका हुन् । सोही उडानमा दिल्लीबाट काठमाडौं फर्किने एक सय ९६ यात्रुहरु अलपत्र परेका थिए । 

विनाजानकारी उडान रद्द भएपछि उनको दिल्ली र हङकङको ट्रान्जिट फ्लाइट पनि छुट्यो । आँखाबाट टिलपिल आँसु झार्दै टिकट काउन्टरमा चर्को स्वरले कराइरहेकी उनी भन्दै थिइन, ‘बिहान आठ बजेको फ्लाइट मिलाउँछौँ भनिएको थियो, तर अहिले १२ बजेसम्म पनि उडान हुने कुनै अत्तोपत्तो छैन, न त पैसा नै रिफन्ड गरिएको छ ।’

ओखलढुंगाका डोरबहादुर विक पनि आइतबार सोही जहाजबाट दिल्ली ट्रान्जिट बनाएर दुबई हुँदै माल्टा जाँदै थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोर्डिङ पास लिएर वेटिङ रुममा पुगेपछि उडान रद्द भएको खबर आयो । उनले तीन दिनअघि मात्र टिकट काटेका थिए । ‘उडान रद्द हुँदा सबै कनेक्टिङ फ्लाइट छुटिसकेका छन्, अब कहिले गन्तव्यमा पुग्ने टुंगो छैन,’ उनले भने, ‘कतिको परीक्षा आउँदै छ, कतिले तत्कालै काममा ज्वाइन हुनुपर्नेछ, कतिपयको भिसा सकिन लागेको अवस्था छ, निगमको लापरबाहीका कारण हामी अलपत्र पर्‍यौँ ।’

बाराको निजगढनिवासी नारायण खड्काले आइतबार भाइ–बुहारी, बहिनी र ज्वाइँसहित दिल्ली ट्रान्जिट हुँदै अस्ट्रेलिया जाने टिकट लिएका थिए । तर, निगमको जहाज उड्ने बेलामा रद्द भयो । सोमबार कसै गरी दिल्ली पुग्न सकिन्छ कि भनेर हरप्रयास गरे, तर निगमले सिटै नभएको बतायो । मंगलबार बिहानको फ्लाइटमा दिल्ली लैजाने प्रतिबद्धता आएपछि उनले चारजनाको दिल्ली–अस्ट्रेलिया ट्रान्जिट टिकट दिउँसो १ बजेलाई सारेका छन् । निगमको लापरबाहीले टिकट सार्नुपर्दा प्रतिव्यक्ति एक हजार अमेरिकी डलर (एक लाख ३० हजार रुपैयाँ) बढी खर्च लागेको उनको गुनासो छ । उनले भने, ‘समयमा उड्न नपाउँदा चारजनाको सवा पाँच लाख रुपैयाँ खर्च बढ्यो ।’

अनुमतिबेगर टिकट काटेको भन्दै क्यानले सोमबार पनि न्यारोबडी ३२० जहाज उडान अनुमति दिएन । उद्दान रद्द हुँदा आउने र जाने गरि करिब तीन सय यात्रु उड्न नपाएको निगमकी निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । दुईवटा उडान रद्द भएपछि यात्रु व्यवस्थापनमा निगमलाई हम्मेहम्मे परेको छ । वैकल्पिक व्यवस्था गरेर आइतबार सयजना र सोमबार करिब डेढ सय यात्रुलाई गन्तव्यमा पुर्‍याएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । ‘सबै यात्रुलाई गन्तव्यमा पुर्‍याउँछौँ,’ उनले भनिन्, ‘पहिलो प्राथमिकता ट्रन्जिट फ्लाइट हुने यात्रुलाई दिएका छौँ, सकभर कसैको ट्रान्जिट फ्लाइट नछुटोस् भन्ने छ ।’

निगमले आइतबार रद्द भएर अलपत्र परेका यात्रुलाई सोमबार चार्टर्ड उडान गरेर दिल्ली लैजाने योजना बनाएको थियो । तर, क्यानले काठमाडौंमा चार्टर्ड उडान गर्न रोकेपछि निगम पछाडि हटेको प्रवक्ता खड्काले बताइन् । क्यानले ३० अक्टोबरदेखि लागू हुने गरी चार्टर्ड फ्लाइट भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै गर्नुपर्ने निर्णय गरेको छ । अब त्रिभुवन विमानस्थलबाट कूटनीतिक, कार्गो र सेनाको मात्र चार्टर्ड फ्लाइट हुनेछ । ‘अढाई सय यात्रु पठाइसक्यौँ, बाँकी यात्रु मंगलबार गन्तव्यमा पुर्‍याउन सकिन्छ कि भन्ने छ,’ प्रवक्ता खड्काले भनिन्, ‘मंगलबार बिहान र दिउँसो वाइडबडी जहाजको सेड्युल फ्लाइट हुने हुनाले सबै यात्रु बोकेर भ्याइन्छ भन्ने अनुमान हो ।’

आफ्नो बोर्डिङ पास देखाउँदै डोरबहादुर विक

 यसरी रद्द भयो दिल्ली उडान
क्यानले काठमाडौंमा दैनिक तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई ‘विन्टर सेड्युल’ बनाउँदा कम्तीमा एउटा उडान भैरहवाबाट राख्न भनेको थियो । पहिलो चरणमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा र हिमालयन एयरलाइन्सले भैरहवाबाट उडान गर्नुपर्ने र क्रमशः कतार एयरवेज, फ्लाइट दुबई, एयर अरेबियालाई पनि भैरहवाबाट उडान गर्न लगाउने क्यानको तयारी थियो । सोही तयारीअनुरूप क्यानले तिहारअघि ४ कात्तिकमा नेपाल वायुसेवा र हिमालयनलाई पत्राचार गरेरै ३० अक्टोबरदेखि भैरहवाबाट कम्तीमा एउटा उडान अनिवार्य गर्न भनेको थियो । तर, दुवै एयरलाइन्सले विन्टर सेड्युलमा भैरहवाबाट उडानतालिका नराखेर अटेर गरेपछि दुवै वायुसेवाको उडान कटौती गरेको क्यानले जनाएको छ । 

नेपालमा दैनिक तीनभन्दा बढी उडान गर्ने विदेशी वायुसेवालाई १६ डिसेम्बरदेखि भैरहवाबाट कम्तीमा एउटा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था गरिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । अहिले विदेशी वायुसेवा फ्लाई दुबई, कतार र एयर अरेबियाले काठमाडौंमा दैनिक तीनभन्दा बढी उडान गर्दै आइरहेका छन् । २ जेठदेखि सञ्चालनमा आएको ३१ अर्बभन्दा बढी लगानी भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा कुवेतको जजिरा एयरवेजले सातामा तीन उडान मात्रै गर्दै आइरहेको छ । भैरहवाको अन्तर्राष्ट्रिय एयरपोर्टलाई ‘बिजनेस’ दिनका लागि क्यान नेतृत्व आक्रामक भएर लागेको हो ।

  कनेक्टिङ फ्लाइट छुटे निगम जिम्मेवार  
काठमाडौं–दिल्ली उडान नहुँदा अलपत्र यात्रुलाई होटेल खाने–बस्ने व्यवस्था गरिरहेको निगमले ट्रान्जिट फ्लाइट छुटेका यात्रुको टिकेट खर्च पनि व्यहोर्ने निगम स्रोतले जानकारी दिएको छ । निगमकै कारण यात्रुको कनेक्टिङ फ्लाइट छुटेको खण्डमा वैकल्पिक टिकट खर्च व्यहोर्नुपर्ने हुन सक्ने क्यान प्रवक्ता खड्काले बताइन् । उनले भनिन्, ‘हामीले यात्रुहरूको कनेक्टिङ फ्लाइट नछुटोस् भनेर तेस्रो मुलुक जानेहरूलाई बढी प्राथमिकता दिएर उडाइरहेका छौँ ।’ निगले सोमबार नै बिज्ञप्ती जारी गर्दै बिशेष कारण उडान रद्द भएको कारण यात्रुमा पर्न गएको असुबिधा प्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्तो नगर्ने प्रतिबद्धता जनाएको छ ।

जबर्जस्ती उडान गर्न खोज्नु गैरकानुनी : क्यान 
नियामक निकायबाट उडान स्वीकृति नलिई यात्रुलाई विमानस्थलमा बोलाई अलपत्र पारेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको क्यानले सोमबार विज्ञप्तिमार्फत जनाएको छ । यात्रुलाई समयमै खबर गरेर वैकल्पिक व्यवस्था नगरी बोर्डिङ पास उपलब्ध गराई गैरसैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भीर असर पारेको क्यानको निष्कर्ष छ । क्यानको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्थाविपरीत उडान अनुमति प्राप्त नगरेको कुनै पनि उडानको टिकट बिक्री नगर्न–नगराउन तथा क्यानबाट उडान अनुमति प्राप्त गरेको उडान कार्यक्रम मात्र सञ्चालन गर्न सम्पूर्ण वायुसेवा कम्पनीलाई निर्देशन दिइएको छ ।  

ad
ad