Skip This
सामाजिक सञ्जालको प्रयोगमा सचेत हुन आयोगको पुनः आग्रह
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ११ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ११ शुक्रबार १५:५२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक सञ्जालको प्रयोगमा सचेत हुन आयोगको पुनः आग्रह

उम्मेदवारको चुनिन पाउने अधिकार हनन् हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न आयोगको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ११ शुक्रबार १५:५२:oo

निर्वाचन आयोगले उम्मेदवारहरूको चुनिन पाउने अधिकार नै हनन हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न पुनः सचेत गराएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समूह नै बनाएर आगामी प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरूको चुनिन पाउने अधिकारमाथि नै हनन हुने खालका सामग्रीहरू पोस्ट गरिरहेका वेला आयोगको यस्तो भनाइ बाहिर आएको हो । 

कसैप्रति लाञ्छना लगाउने, कसैप्रति दूराग्रहपूर्ण अभिव्यक्ति दिने अथवा निर्वाचनमा उठेका उम्मेदवारको चुनिने अधिकारमाथि नै हनन हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । शुक्रबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले उम्मेदवारहरूलाई चुनिन पाउने अधिकारबाट वञ्चित गराउन नहुने स्पष्ट पारे । 

आममतदातालाई चुन्ने अधिकार भएजस्तै उम्मेदवारलाई चुनिन पाउने अधिकार हुने भएकाले त्यसलाई हनन गर्न नमिल्ने उनको भनाइ छ । ‘आयोगले आचारसंहिता जारी गरेको छ । आयोगले सामाजिक सञ्जालसम्बन्धी नीति पनि जारी गरेको छ । आयोगलाई प्रचलित, कानुन, ऐन, नियमबारे पनि ज्ञान छ । यी सबै विषयलाई मध्यनजर गरेर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहितामा उल्लेखित विषय सबैले पालना गर्नुपर्छ भन्ने कन्सर्न हो,’ पौडेलले भनेका छन् । 

यसै सन्दर्भमा मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्तिको कतैबाट पनि प्रसारित हुन नहुने भन्नेमा आयोग स्पष्ट रहेको पौडेलको भनाइ छ । ‘आममतदातालाई चुन्ने अधिकार भएजस्तै उम्मेदवारहरूलाई चुनिने अधिकार पनि हुन्छ । त्यसो भएको हुनाले कसैप्रति लाञ्छना लगाउने, कसैप्रति दूराग्रहपूर्ण अभिव्यक्तिहरू प्रसारण गर्ने विषयहरू अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैनन् । त्यसो भएको हुनाले चुनिने हकबाट पनि कसैले वञ्चित नगरौँ,’ उनको भनाइ छ, ‘वञ्चित गर्ने गरी कसैको चरित्र हत्या गर्ने, कसैका विपक्षमा द्वेषपूर्ण अभिव्यक्तिहरू निकाल्ने, उम्मेदवारहरूका तस्बिरमा गलत चिह्न लगाउनेलगायतका विषयवस्तुले अरूको अधिकार हनन हुन्छ भन्ने कुरामा आयोगको ध्यानाकर्षण भएको हो ।’

आयोगले उम्मेदवारहरूमाथि गालीगलौज नगर्न, चरित्र हत्या गर्ने, अवहेलना गर्नेलगायतका अभिव्यक्ति नदिन पनि सम्बन्धित सबै पक्षलाई पुनः निर्देश गरेको छ । आयोगका प्रवक्ता पौडेलले छद्म नामबाट कसैले पनि उम्मेदवारहरूको चरित्र हत्या गर्न नपाउने बताए । सीमाभित्र बसेर मात्रै निर्वाचनमा खर्च गर्न पनि उम्मेदवारहरूलाई भनिएको उनको भनाइ छ । 

सम्बन्धित टेक कम्पनीहरूसँग सम्पर्कमै रहेकाले उनीहरूले सामाजिक सञ्जालमा गरेको खर्चको विवरणसमेत लिइरहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिता जारी गरेको उल्लेख गर्दै त्यसका कडाइका साथ पालना गर्न राजनीतिक दल र त्यसका उम्मेदवारहरूको ध्यानाकर्षण गराउँदै आएको जनाएको छ ।