१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
अनिल यादव काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:१२:oo
Read Time : > 12 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘रेड जोन’मा मधेसकेन्द्रित दलका ठूला नेता

Read Time : > 12 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:१२:oo

मधेस आन्दोलनको क्षयीकरण, ‘अस्वाभाविक’ गठबन्धन र स्थानीय निर्वाचनको मतपरिणामले भन्छ– शीर्ष नेताहरू अप्ठ्यारोमा छन्

अंकमा मधेस

  • निर्वाचन क्षेत्र : संघ– ३२, प्रदेश ६४
  • मतदाता : ३३८६६२८ (पुरुष : १८२७८५४, महिला : १५५८७०४, अन्य : ७०)
  • मतदानस्थल : २१५६
  • मतदान केन्द्र : ४२३५
  • उम्मेदवार : संघ– ५९१, प्रदेश १००७
  • दल : ६७

मधेस आन्दोलनको क्षयीकरण, विभाजित अवस्था र ‘अस्वाभाविक’ गठबन्धनमा रहेका कारण आसन्न निर्वाचनमा मधेसकेन्द्रित दलका शीर्ष नेतालाई चुनौती थपिएको छ । स्थानीय निर्वाचनको परिणामले त उनीहरूलाई झनै झस्काएको छ । 

०७४ को प्रतिनिधिसभा निर्वाचनमा मिलेर लडेकाले मधेसकेन्द्रित दलका ठूला नेताले पराजय भोग्नैपरेन । तत्कालीन राजपा (हाल लोसपा) र संघीय समाजवादी फोरम (हाल जसपा) गठबन्धनसहित चुनावमा जाँदा त्यतिखेर मधेसमा प्रतिनिधिसभाका ३२ मध्ये २० सिट र प्रदेश सभामा बहुमत जित निकालेका थिए । तर, परिस्थिति अहिले फरक बनेको छ, दुई दल फरक–फरक गठबन्धनमा छन् र शीर्ष नेता नै चुनाव जित्न चुनौतीपूर्ण संघर्षमा छन् । 

अहिले जसपा र लोसपा विभाजित छन् । सिके राउत नेतृत्वको जनमत पार्टी पहिलोपटक संघीय र प्रदेश सभा निर्वाचन लड्दै छ । निर्वाचन मिति घोषणा हुँदासम्म सत्तागठबन्धनसँग रहेको उपेन्द्र यादव नेतृत्वको जसपाले अन्तिम समयमा एमालेसँग गठबन्धन गरेको छ । एमालेसँगको गठबन्धनमा उसले संघतर्फ १७ र प्रदेश तर्फ ४२ सिट पाएको छ । त्यस्तै, ठुला दलसँग तालमेलको प्रयासमा रहेको लोसपा अन्तिम समयमा सत्तागठबन्धनमा मिसिएको छ । उसले प्रतिनीधिसभातर्फ सात र प्रदेशमा १४ सिट पाएको छ । 

स्थानीय तहमा पहिलो र दोस्रो दल क्रमशः कांग्रेस र एमाले बनेका छन् । सो निर्वाचन परिणाम र दलहरूका पछिल्ला समीकरण विश्लेषण गर्दा मधेसका ३२ सिटमा क्षेत्रीयभन्दा राष्ट्रिय दललाई अनुकूलता थपिएको विश्लेषक बताउ“छन् । 

मधेस राजनीति नियालिरहेका विश्लेषक विजयकान्त कर्णले मधेस आन्दोलनबाट उदाएका शीर्ष नेता अप्ठ्यारो अवस्थामा रहेको बताए । ‘मधेस आन्दोलनले जन्माएका राजनीतिक दल र नेताहरूलाई जब सत्तासँग प्रेम हुन्छ, त्यतिवेला यहाँका जनताले अस्वीकार गर्छन् । उदाहरणका लागि ०७० को निर्वाचनलाई लिन सकिन्छ । ०६४ को निर्वाचनमा ९५–९६ सिट ल्याएका मधेसी दल ०७० मा दोस्रो संविधानसभाको निर्वाचनताका घटेर ३५–३६ मा झरे । तर, त्यसपछि उनीहरू काठमाडौंसँग लडे । संयुक्त रूपमा मधेस आन्दोलन गरे । त्यहीकारण फेरि मधेसमा बहुमत सिट ल्याएर मधेस प्रदेशको सरकारको नेतृत्वसमेत गरे । संघीय संसद्मा पनि ठूलो उपस्थिति भयो,’ उनले भने, ‘मधेसी राजनीतिक दलहरूले सत्ताको राजनीति गर्दा जनताले अस्वीकार गरेको विगतजस्तै यसपटक पनि यही हुनेवाला छ । मधेसकेन्द्रित दल यहाँको ठूलो दल हुने स्थिति त छैन नै, सँगसँगै मधेसका शीर्ष नेता आफैँ अप्ठ्यारो अवस्थामा छन् । मधेसको आन्दोलनको जुन भावना थियो, त्यही भावनाले उनीहरूको मत बढाउने अवस्था छैन । तर, पाँच वर्ष सत्तामा रहँदा पहुँचका आधारमा गरेको काम र व्यक्तित्वका कारण जिते भने त्यो अर्कै कुरा भयो ।’ 

अर्का विश्लेषक रोशन जनकपुरीले मधेस राजनीतिको परिवेश बदलिएकाले ठूला नेतालाई सहज नरहेको तर्क गरे । ‘०७४ को चुनावमा मधेसमा आन्दोलनको लहर थियो । त्यही कारण मधेसका कमजोर पात्रले पनि सहजै जित्न सके । तर, मधेसकेन्द्रित दलका शीर्ष नेतालाई यसपटक संसद् छिर्न सहज देखिँदैन । मधेसी दलको धेरै कमजोर परिणाम आउने देखिन्छ,’ उनले भने, ‘किनभने यसपटक न आन्दोलन छ, न गठबन्धन । मधेसका मुद्दा बिर्सिएर मधेसकेन्द्रित दल अलगअलग गठबन्धनमा पुगेका छन् । यसले ठूला दललाई फाइदा पुग्ने निश्चित छँदै छ, सँगसँगै मधेसका शीर्ष नेतालाई ‘रेड जोन’मा पुर्‍याएको छ ।’

जनकपुरीको बुझाइमा उपेन्द्र यादवको तुलनामा अरू नेतालाई कठिन धेरै छ । ‘सप्तरी २ मा उपेन्द्र यादवबाहेक अन्य मधेसका शीर्ष नेता सुरक्षित देखिँदैनन् । त्यहाँ जातिगत भोट र व्यक्तित्वका कारण यादवले जित्न सक्ने देखिन्छ । यद्यपि, उनका प्रतिस्पर्धी सिके राउत चुनौती बन्न सक्छन् । महोत्तरी ३ मा महन्थ ठाकुर अप्ठ्यारो स्थितिमा देखिन्छन् । स्थानीय चुनावको अंकगणित हेर्दा सत्तागठबन्धन थोरै मतले अगाडि देखिए पनि उनकै सहकर्मी वृषेशचन्द्र लाल उठ्नु चुनौती बनेको छ,’ उनले भने, ‘अर्कोतिर सत्तागठबन्धनको उम्मेदवार हुँदाहुँदै पनि माओवादीका नेता रामकुमार शर्मा त्यहाँ ठाकुरसँग असन्तुष्ट छन् । लोसपा गठबन्धनमा आएर आफ्नो टिकट खोसिएको उनको बुझाइ छ । भूमिहार जातिबाट भएका कारण त्यो समुदायमा उनको राम्रो प्रभाव छ । अंकगणितमा सत्तागठबन्धन अगाडि देखिए पनि धनुषामा अनिल झालाई पनि सहज छैन । त्यहाँ उनको जित विशेषगरी विमलेन्द्र निधिको भूमिकामा निर्भर देखिन्छ । उनले सहयोग गरे मात्रै जित्न सक्ने देखिन्छ ।’ 

जनकपुरीले निधि निर्वाचन नलड्नुलाई अनौठो मानेका छन् । ‘म सबैभन्दा अचम्मित निधिले यसपटक जित्न सक्ने माहोल हुँदाहुँदै किन चुनाव लडेनन् भन्नेमा छु । भित्र के पाकिरहेको छ, बुझ्न सकिरहेको छैन । अघिल्लोपल्ट हराएको लोसपालाई सहयोग गर्छन्, गर्दैनन्, प्रस्ट छैन,’ उनले भने । 

लोसपा नेता डा. सुरेन्द्र झा मधेसमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा निकाल्न कठिन हुने स्वीकार गर्छन् । ‘०७४ मा एजेन्डाप्रधान समीकरण थियो । जनताले पनि त्यसैअनुसार मत दिएका थिए,’ उनले भने, ‘अहिले आफ्नै पार्टीका नेता–कार्यकर्तालाई चित्त बुझाउन नसकेको अवस्था छ । यो सबैको असर हामीले खेप्नुपर्छ ।’

जसपा प्रवक्ता मनीष सुमन भने एमालेसँगको तालमेलले फाइदा पुग्ने दाबी गर्छन । ‘एमालेसँग तालमेल गरेर चुनावमा होमिँदा हामीलाई फाइदा नै पुग्छ,’ उनले भने, ‘मुद्दा र विचारका हिसाबमा हाम्रो हिजो जस्तो मत थियो, आज पनि त्यही छ ।’ 

८० वर्षीय लोसपा अध्यक्ष महन्थ ठाकुर सम्भवतः अन्तिमपल्ट प्रतिनिधिसभा निर्वाचनमा उठ्दै छन्, त्यसैले संसदीय राजनीतिमा उनी सुखद बर्हिगमन चाहन्छन् । तर, यसपटक संसद् छिर्ने उनको प्रयत्न यसअघिको जस्तो सहज देखिँदैन । उनी  पुरानै निर्वाचन क्षेत्र महोत्तरी– ३ बाट उठेका छन् ।

०७४ को निर्वाचनमा प्रतिद्वन्द्वीलाई १९ हजार मतान्तरले हराएका उनलाई चुनौती दिन यसपटक उनकै सहकर्मी वृषेशचन्द्र लाल मैदानमा छन् । महन्थकै पार्टीमा रहेका वृषेशचन्द्र जसपा फुटेर लोसपा बनेपछि पार्टी परित्याग गरेर तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेका नेता हुन् । मधेसकेन्द्रित ठूला दलले मुद्दा छाडेको भन्दै उनी तमलोपा गठनमा लागेका थिए । 

वृषेशचन्द्र ०७४को निर्वाचनमा महोत्तरी ३ मा ठाकुरलाई जिताउन भोट माग्दै हिँड्ने नेता हुन् । ठाकुरले नै वृषेशलाई संविधानसभा सदस्य हुँदै राष्ट्रिय सभाको सदस्यसमेत बनाएका थिए । तर, यसपटक महन्थकै विरुद्ध उनी चुनावी मैदानमा छन् । 

महन्थको क्षेत्रमा स्थानीय तहको निर्वाचनको अंकगणितअनुसार सत्तागठबन्धन नै अगाडि छ । विपक्षी गठबन्धनको तर्फबाट यहाँ जसपाका हरिनारायण यादव उम्मेदवार बनेका छन् । स्थानीय तहको परिणामअनुसार सत्तागठबन्धन विपक्षी गठबन्धनभन्दा तीन हजार चार सय ९९ मतले मात्रै अगाडि छ । सत्तागठबन्धनको २९ हजार पाँच सय ४६ हुँदा विपक्षी गठबन्धनको २६ हजार ४७ मत देखिन्छ । जसमा जसपाको १५ हजार दुई सय २७, लोसपाको १२ हजार सात सय ३५, एमालेको १० हजार आठ सय २०, कांग्रेसको नौ हजार ४३, माओवादी केन्द्रको पाँच हजार एक सय ९८ र एकीकृत समाजवादीको दुई हजार पाँच सय ७० छ । 

एकातिर यहाँ महन्थको व्यक्तित्वका कारण मत बढ्न सक्ने आकलन छ भने अर्कोतिर उनीविरुद्ध उठेका उनकै सहकर्मी वृषेशचन्द्रको मतले उनलाई असर पुग्ने विश्लेषण छ । स्थानीय तहको परिणाम हेर्दा यो क्षेत्रमा तमलोपाले एक हजार मत पनि पु¥याएको देखिँदैन । वडाध्यक्ष उम्मेदवारको मत जोड्दा सात सय ९५ मत मात्रै पुग्छ । तर, वृषेशचन्द्र महन्थसँगै मधेस आन्दोलनमा होमिएका नेता भएका कारण उनको व्यक्तित्वका कारण पनि सम्मानजनक मत आउन सक्छ । 

गत स्थानीय तहको निर्वाचनमा यही क्षेत्रभित्र पर्ने मनरा–सिसवा नगरपालिका– ८ बाट जनमत पार्टीका अजयकुमार सिंह तीन सय ८५ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका थिए । जनमत पार्टीको जनाधार पनि बढ्दै जानु यहाँ महन्थका लागि प्रतिकूल अवस्था बनेको छ । 

महोत्तरी ३ मा जम्मा ३५ वडा छन् । जसमा मटिहानी नगरपालिकाका नौ वडा, जलेश्वर नगरपालिकाका १२ वडा, एकडारा गाउँपालिकाका वडा १, २, ३, ४ र ५, पिपरा गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ७ र मनरा–सिसवा नगरपालिकाका ८, ९ र १० वडा पर्छन् ।

अन्तिम समयमा एमालेसँग गठबन्धन गरेका जसपा अध्यक्ष उपेन्द्र यादव सार्वजनिक कार्यक्रममा पटकपटक भनिरहेका छन््, ‘हामी मधेसको ठूलो दल हौँ, धेरै सिट जित्नेमा ढुक्क छौँ ।’ 

तर, स्थानीय तह निर्वाचनको अंकगणित हेर्दा परिणामको परिस्थिति पूरै मधेस मात्रै होइन, उनकै लागि पनि अनुकूल देखिँदैन । ०७४ ताका तत्कालीन राजपासँग गठबन्धन गर्दा वाम गठबन्धनका उम्मेदवारलाई १० हजारभन्दा बढी मतान्तरले हराएका उनी यसपटक फरक परिस्थितिको सामना गर्दै छन् । निर्वाचन क्षेत्र उही सप्तरी २ नै छ, तर परिस्थिीि बदलिएको छ । 

अघिल्लो निर्वाचनमा सँगै रहेको लोसपा (त्यतिवेला जसपा) यतिवेला सत्तागठबन्धनमा छ, अनि पार्टीमा सँगै काम गरेका सहकर्मी जयप्रकाश ठाकुर प्रतिस्पर्धी उम्मेदवार छन् । अर्कोतिर मधेसलाई बेग्लै देश बनाउने एजेन्डाका कारण चर्चामा आएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) उनलाई चुनौती दिन यही क्षेत्रमा लड्न आइपुगेका छन् । 

०७४ को निर्वाचनताका तत्कालीन संघीय समाजवादी फोरम (जसपा) र राजपा (लोसपा) बीच तालमेल हुँदाहुँदै यादवविरुद्ध बागी उम्मेदवारी दिएका ठाकुरलाई यसपटक लोसपा स्वयंले उम्मेदवार बनाएको हो । जब कि अघिल्लोपटक यादवविरुद्ध उठ्दा तत्कालीन राजपाले उनलाई कारबाही नै गरेको थियो ।

स्थानीय तहको परिणाम हेर्दा दुई मधेसी दलका अध्यक्ष यादव र राउत कोही पनि सुरक्षित देखिँदैनन् । यहाँ सत्तागठबन्धनकै पल्ला भारी देखिन्छ । स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा सत्तागठबन्धन झन्डै दोब्बर मतले अगाडि देखिन्छ । सत्तागठबन्धनको ३१ हजार एक सय १९ मत हुँदा एमाले–जसपा गठबन्धनको मत भने १६, ३५४ मात्रै पुग्छ । 

यहाँ १० हजार आठ सय नौ मतसहित कांग्रेस सबैभन्दा अगाडि देखिन्छ । त्यसपछि जसपाको १० हजार चार सय तीन, माओवादीको नौ हजार पाँच सय ३४, लोसपाको आठ हजार तीन सय ७०, एमाले पाँच हजार नौ सय ५१ र एकीकृत समाजवादीको खुई हजार चार सय आठ मत छ । 

राउतको जनमत पार्टीले भने चार हजार चार सय ६२ मत मात्रै पाएको थियो । यो निर्वाचन क्षेत्रभित्र चार पालिकाका ३७ वडा पर्छन् । जसमा महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिका पर्छन् । 

स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा सत्तागठबन्धन झन्डै दोब्बर मतले अगाडि देखिन्छ । स्थानीय अंकगणित प्रतिकूल देखिए पनि यादव र राउतको ‘हेभिवेट’ व्यक्तित्वका कारण मत बढ्न सक्नेमा दुवै पार्टीका नेता आशावादी छन् । तराई मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी, जनता समाजवादी पार्टी, नेपाल सद्भावना पार्टीको पनि केही मत छन्, जसले आगामी निर्वाचन अंकगणित प्रभाव पार्ने देखिन्छ । यो क्षेत्रमा तराई मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी, जनता समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, राप्रपाको पनि केही मत छन्, जसले आगामी निर्वाचनको अंकगणितमा प्रभाव पार्ने देखिन्छ ।
 

०७४ को निर्वाचनमा धनुषा ३ बाट कांग्रेसका ‘हेभिवेट नेता’ विमलेन्द्र निधिलाई हराएका राजेन्द्र महतो यसपटक सर्लाही २ बाट निर्वाचन लडेका छन् । अंकगणितले लोसपाका वरिष्ठ नेता महतोलाई सर्लाही २ मा पनि चुनौती नै देखाउँछ । 

लोसपाले सत्तागठबन्धनसँग सहकार्य गरे पनि उनको क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति छ, जसले पहिलो गाँसमै ढुंगा लागेको छ । सत्तागठबन्धनले महिन्द्र राय यादवलाई आधिकारिक उम्मेदवार बनाएको छ । 

सत्तागठबन्धनबाट उठेका यादव पनि मधेस आन्दोलनमा होमिएका पुराना नेता हुन् । हाल डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध उनी त्यहाँ माओवादी चुनाव चिह्न लिएर लड्दै छन् । यसअघि सर्लाही २ बाटै चुनाव जितेका यादवविरुद्ध लड्न आएका महतो पाहुना उम्मेदवार हुन् । उनको गृहक्षेत्र भने सर्लाही १ हो । एमाले–जसपाको गठबन्धनको तर्फबाट एमालेका राजनारायण साह पनि उम्मेदवार छन् । 

स्थानीय तहको वडाध्यक्षका उम्मेदवारले पाएको मत विश्लेषणमा भने सत्तागठबन्धन नै अगाडि देखिन्छ । सत्तागठबन्धनको मत ३२ हजार पाँच सय ७८ छ । जसमा कांग्रेसको २४ हजार ६ सय २०, माओवादीको सात हजार सात सय ३७ र एकीकृत समावादीको दुई हजार दुई सय २१ छ । एमाले–जसपा गठबन्धनको मत भने २७ हजार दुई सय ४१ छ । तर, लोसपाको १२ हजार तीन सय ६६ मात्रै छ । 

यस क्षेत्रमा केही मत राप्रपा, सिके राउत नेतृत्वको जनमत पार्टीलगायत अन्य दलको पनि छ । गत स्थानीय निर्वाचनमा यही क्षेत्रभित्र पर्ने कौडेना गाउँपालिकाको वडा नम्बर ७ मा त राप्रपाका विजयकुमार यादव पाँच सय ९५ मत ल्याएर वडाध्यक्ष विजयी भएका थिए । त्यसैले महतोको मत सानो दलले काट्न सक्ने सम्भावना पनि उत्तिकै छ । 

महन्थ ठाकुरनिकट लोसपाकै एक नेताले भने, ‘धनुषामा अनुकूल माहोल नदेखिएपछि सर्लाहीतिर कुन क्षेत्रबाट उठ्ने भन्नेमै द्विविधा देखियो । अन्तिम समयमा आफ्नो गृहक्षेत्र १ नम्बरलाई छाडेर २ नम्बरमा जानुभयो । उहाँलाई अहिले अप्ठ्यारो नै छ ।’

सर्लाही २ मा ४९ वडा छन् । जसअन्तर्गत ब्रह्मपुरी गाउँपालिकाका सात वडा, मलंगवा नगरपालिकाका १२ वडा, हरिपूर्वा नगरपालिकाका नौ वडा, पर्सा गाउँपालिकाका ६ वडा, कौडेना गाउँपालिकाका सात वडा, विष्णु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८, कविलासी नगरपालिका वडा नम्बर ८, ९ र १० र ईश्वरपुरका वडा नम्बर १५ पर्छन् । 

मधेसमा महोत्तरी २ पनि विशेष चासोमा छ । कारण, त्यहाँका नेता–कार्यकर्तामाझ ‘दादा’का रूपमा परिचित शरत्सिंह भण्डारी यसपालि पनि चुनावी मैदानमा छन् । ०३८ सालदेखि निरन्तर संसदीय चुनावमा प्रतिस्पर्धा गरिरहेका उनको यो नवौँ पटक हो । यसअघि आठपटक लड्दा दुईपटक मात्रै उनी त्यहाँ हारेका छन् । 

लोसपाका तर्फबाट सत्तागठबन्धनको उम्मेदवार बनेका उनी यसपटक पनि स्थानीय तहको अंकगणितलाई आधार मान्ने हो भने सुरक्षित नै देखिन्छन् । यद्यपि, उनलाई टक्कर दिन एमालेबाट रामपरीक्षण यादवसँगै तमलोपाबाट डा. विजयी सिंहको पनि इन्ट्री भएपछि चुनौती भने थपिएको छ । किनभने सिंहले उनीसँगै तत्कालीन राजपा र लोसपामा समेत काम गरेका थिए । 

दोस्रो मधेस आन्दोलनताका सक्रिय भूमिका निभाएका उनी तमलोपाका संस्थापक नेतासमेत हुन् । त्यसैले उनको व्यक्तित्वले बढीजसो भण्डारीकै मत काट्न सक्ने सम्भावना छ । स्थानीय चुनावमा पनि यही क्षेत्रभित्र पर्ने महोत्तरी गाउँपालिकाको वडा नम्बर ३ मा तराई मधेस लोकतान्त्रिक पार्टीका शम्भुकुमार दास वडाध्यक्ष विजयी भएका थिए । 

भण्डारीलाई अर्को चुनौती बागी उम्मेदवारको पनि छ । ०७४ को चुनावमा तत्कालीन राजपाबाट प्रदेश सांसद निर्वाचित सुरिता साह र प्रदेश सभामै समानुपातिक सांसद  ानकीशरण साहले बागी उम्मेदवारी दिनु उनलाई चुनौति हो । एकीकृत समाजवादीबाट पनि टिकट नपाएर असन्तुष्ट भएकी निवर्तमान प्रदेश सांसद मञ्जु यादवले बागी उम्मेदवारी दिएकी छिन् । यसले पनि सत्तागठबन्धनको मत विभाजित हुने देखिन्छ । 

मधेस आन्दोलनताका कांग्रेस परित्याग गरेर उपेन्द्र यादवको तत्कालीन मधेसी जनाधिकार फोरममार्फत मधेसकेन्द्रित राजनीतिमा होमिएका उनी मधेसवादी दलको एकतामा समेत महवपूर्ण भूमिका निभाएका नेता हुन् । ६ मधेसकेन्द्रित दललाई जुटाएर राजपा बनाउनमा उनको पनि सक्रिय भूमिका थियो । स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्ने हो भने यो क्षेत्रमा सत्तागठबन्धन झन्डै तेब्बर मतले अगाडि देखिन्छ । 

लोसपाले पाएको १७ हजार पाँच  सय ७७, कांग्रेसको १६ हजार आठ सय ५८, माओवादीको ६ हजार पाँच सय ६ र एकीकृत समाजवादीको एक हजार एक सय ९६ जोड्दा सत्तागठबन्धनको मत यहाँ ४२ हजार एक सय ३७ पुग्छ । जब कि विपक्षी एमाले–जसपा गठबन्धनको मत भने १५ हजार ९८ मात्रै छन् । जसमा जसपाको आठ हजार ४१ र एमालेको सात हजार ५७ छ । 
महोत्तरी ३ मा जम्मा ३६ वडा पर्छन् । जसमा बलवा नगरपालिकाका सबै ११ वडा, लोहरपट्टी नगरपालिकाका सबै नौ वडा, महोत्तरी गाउँपालिकाका सबै ६ वडासहित भँगाहा नगरपालिकाका वडा नम्बर १, २, ६, ७ र ८, औरही नगरपालिकाका वडा नम्बर ७, ८, ९, एकडारा गाउँपालिकाको वडा नम्बर ६ र पिपराको वडा नम्बर ६ पर्छन् ।

०७४ मा सिराहा ४ बाट निर्वाचित जसपाका ठूला नेता राजकिशोर यादव यसपालि सिराहा २ बाट उम्मेदवार बनेका छन् । सिट बाँडफाँड मिलाउने क्रममा पार्टीले उनको निर्वाचन क्षेत्र बदलेको हो । उनी त्यहाँ कांग्रेस नेतृ चित्रलेखा यादवसँग प्रतिस्पर्धा गर्दै छन् । त्यो क्षेत्रका लागि दुवै नयाँ उम्मेदवार हुन् । 

सिराहा २ मा कुल २७ वडा छन् । जसमा सुखीपुर नगरपालिकाका पूरै १० वटा वडा, बरियापट्टी गाउँपालिकाका पूरै पाँचवटा वडा, नवराजपुर गाउँपालिकाका पूरै पाँचवटा वडा, औरही गाउँपालिकाका पूरै पाँचवटा वडा, लक्ष्मीपुर–पतारी गाउँपालिकाको वडा नम्बर १, गोलबजार नगरपालिकाको वडा नम्बर १३ र अर्नामा गाउँपालिका वडा नम्बर ४ र ५ पर्छन् । गत स्थानीय चुनावमा यी सबै वडाका अध्यक्षका उम्मेदवारले ल्याएको मत हेर्दा यहाँ जसपा–एमाले गठबन्धन सत्तागठबन्धनभन्दा एक हजार दुई सय ३८ मतले मात्रै अगाडि छ । जसमा कांग्रेसको १६ हजार दुई सय ५४, एमालेले १४ हजार पाँच सय १०, जसपाले १३ हजार आठ सय ७५, माओवादीले सात हजार तीन सय ७४, एकीकृत समाजवादीले दुई हजार पाँच सय ७१ र लोसपाले नौ सय ४८ मत ल्याएका थिए । 

स्थानीय चुनावताका जसपा सत्तागठबन्धनसँग थियो । उसले एमालेलाई प्रतिगमनकारीको आरोप लगाइरहेको थियो । तर, आसन्न चुनाव उही एमालेसँग तालमेल गर्न पुगेकाले त्यहाँ जसपाको माहोल पहिलेजस्तो नरहेको विश्लेषक जनकपुरी बताउँछन् । ‘आफूले नै उठाएको मुद्दा नागरिकता विधेयक पारित गर्न असहयोग गरेको एमालेसँग गठबन्धन गर्न पुग्दा त्यसले आसन्न चुनावमा जसपालाई असर पुग्ने देखिन्छ,’ विश्लेषक जनकपुरी भन्छन्, ‘त्यसैले स्थानीय तहको अंकगणितमा थोरै मतले अगाडि देखिए पनि राजकिशोरलाई त्यहाँ जित्न कठिन हुने देखिन्छ । चित्रलेखालाई त्यसले फाइदा पुग्ने सम्भावना छ ।’

राजकिशोर तत्कालीन राजपा हुँदा ६ जना अध्यक्षमध्येका एक थिए । चक्रिय प्रणालीअन्तर्गत ६ जना अध्यक्षले नेतृत्व गर्नेक्रममा उनले पनि पार्टीको नेतृत्व गर्ने अवसर पाएका थिए । ०७८ जेठमा तत्कालीन केपी ओली सरकारको नेतृत्वमा राजकिशोर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत भएका थिए । तर, सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार बदर गरेपछि उनले १२ दिन मात्रै मन्त्रीको जिम्मेवारी सम्हाल्न पाएका थिए ।

लोसपाका अर्का ठूला नेता लक्ष्मणलाल कर्णले वीरगन्जस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग भनेका थिए, ‘यो मेरो अन्तिम चुनाव हो । वीरगन्ज महानगरपालिकाका विद्यमान शिक्षा, स्वास्थ्यलगायत विकासका काम गर्न बाँकी छ, त्यसैले उम्मेदवारी दिएको हुँ, यसपछि उठ्दिनँ ।’

मतदातामाझ यसरी ‘इमोसनल कार्ड’ फाले पनि कर्णका लागि चुनाव सहज देखिँदैन । पहिलो कारण, उनले उम्मेदवारी दर्ता गराएको पर्सा १ यसअघि जितेको क्षेत्र होइन । यसअघि उनी पर्सा ४ बाट विजयी भएका थिए । 

तर, यसपटक सत्तागठबन्धनसँग सहकार्य गर्न पुग्दा आफ्नो क्षेत्र कांग्रेसको भागमा परेपछि कर्ण पर्सा १ मा आउन बाध्य भएका हुन् । त्यसैले पत्रकारसँगको भेटमा उनले यो पनि भनेका थिए, ‘म पर्सा १ मा आउँदा पर्सा ४ का जनता रोइरहेका छन् ।’
दोस्रो, स्थानीय तहको परिणाम पनि सत्तागठबन्धनको विपक्षमा छ । 

यो क्षेत्रअन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २, ४, ५, ७, ८, ११, १२, १३, १४, १५, १६, १८, २०, २१, २२, २३, ३०, ३१ र ३२ वडा पर्छन् । जसको वडाध्यक्ष उम्मेदवारले पाएको मत हेर्दा जसपा–एमाले गठबन्धन करिब नौ हजार मतले अगाडि देखिन्छ । एमालेको १३ हजार तीन सय ३५ र जसपाले ल्याएको १५ हजार सात सय ६ मत जोड्दा यहाँ विपक्षी गठबन्धनको मत २९ हजार ४१ पुग्छ ।

जब कि सत्ता गठबन्धनको मत २० हजार सात सय ४० मात्रै आएको देखिन्छ । जसमा कांग्रेसको १३ हजार एक सय दुई, माओवादीको तीन हजार सात सय ४६, लोसपाको दुई हजार दुई सय ८९ र एकीकृत समाजवादीको एक हजार ६ सय तीन छ । 

एकातिर अंकगणित त आफूअनुकुल भएन–भएन, अर्कोतिर कर्णका लागि बागी उम्मेदवारी पनि चुनौती बनेको छ । यहाँ कांग्रेसबाट अजय द्विवेदीले बागी उम्मेदवारी दिएका छन् । स्थानीय तहमा यो क्षेत्रमा कांग्रेसकै बढी मत आएको आधारमा पनि यसले कर्णमा पनि दोब्बर चुनौती थपेको छ । 

लोसपाका कार्यकारिणी सदस्य रहेका कर्णविरुद्ध पर्सा १ मा विपक्षी गठबन्धनबाट प्रदीप यादव उम्मेदवार छन् । यादवले यसअघि पनि यही निर्वाचन क्षेत्रबाट चुनाव जितेका हुन् । स्थानीय तहको अंकगणित आफूअनुकूल र कर्णविरुद्ध बागी उम्मेदवारीले यादवलाई यहाँ सहज बनाएको देखिन्छ । 

यसपटक धनुषा ३ मा पुरानो प्रतिस्पर्धा छैन तर नयाँ पनि रोचक छ । अघिल्लोपटक कांग्रेसका विमलेन्द्र निधिलाई हराएका लोसपाका राजेन्द्र महतो अहिले सर्लाही २ पुगेपछि त्यहाँ लोसपाका अर्का वरिष्ठ नेता अनिलकुमार झा प्रतिस्पर्धा गर्न पुगेका छन् । 

निधि यसपटक समानुपातिकमा बसेपछि त्यहाँ झा सत्तागठबन्धनको उम्मेदवार बनेका छन् । विपक्षी गठबन्धनको सहयोगमा त्यहाँ एमालेबाट जुलीकुमारी महतो उम्मेदवार बनेकी छिन् । उनी यो क्षेत्रका लागि नयाँ अनुहार होइनन् । ०७० को निर्वाचनताका उनी निधिसँग पराजित भएकी थिइन् ।

उता झा अघिल्लोपटक रौतहट १ बाट सांसद निर्वाचित भएका थिए । तर, यसपटक एकीकृत समाजवादीका माधव नेपाल त्यहाँबाट उठ्ने भएपछि आफूले जितेको क्षेत्र छाडेर राजेन्द्रले छाडेको क्षेत्रमा लड्न उनी धनुषा आइपुगेका छन् । 

जम्मा ३८ वडा रहेको यो क्षेत्रमा जनकपुरधाम उपमहानगरपालिकाका १७ वटा वडासहित नगराइन नगरपालिकाका नौवटा वडा, मुखियापट्टी–मुसहरनिया गाउँपालिकाका ६ वटा वडा, धनौजी गाउँपालिकाका पाँचवटा वडा र विदेह नगरपालिकाको वडा नम्बर ९ पर्छन् । 

गत स्थानीय तहको वडाध्यक्ष उम्मेदवारहरूले ल्याएको मत हेर्ने हो भने यो क्षेत्रमा सत्तागठबन्धन नै अगाडि देखिन्छ । ३४ हजार आठ सय ९१ मतसहित सत्तागठबन्धन यहाँ विपक्षीभन्दा करिब १० हजार मतले अगाडि छ । 

विपक्षी एमाले–जसपा गठबन्धनको मत भने २५ हजार तीन सय ३९ देखिन्छ । निधिको पकड क्षेत्र मानिएको यहाँ सबैभन्दा अगाडि कांग्रेस नै देखिन्छ । स्थानीय तहमा ३८ मध्ये १९ वडा जित्न सफल कांग्रेसको मत यहाँ २२ हजार पाँच सय ४२ छ । 

दोस्रोमा एमालेले १७ हजार नौ, जसपाले आठ हजार दुई सय ४३ र लोसपाले सात हजार नौ सय ५१, एकीकृत समाजवादीले तीन हजार सात सय २५ र माओवादीले ६ सय ७३ मत प्राप्त गरेको देखिन्छ । 

यहाँ तमलोपा, जनमतले ल्याउने मत अर्थपूर्ण देखिन्छ । स्थानीय चुनावमा तमलोपाले त जनकपुर उपमहानगरको वडा नम्बर ३ को अध्यक्ष पद नै जितेको थियो । यो क्षेत्रमा महतो र झासँगै राप्रपा नेपालबाट हुसेन कबाडी, राप्रपाबाट रामपदारथ मण्डल, जनमत पार्टीबाट शम्भुनाथ शाह र स्वतन्त्रबाट उमेश साह पनि उम्मेदवार छन् ।

ad
ad