मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज १६ आइतबार १५:५०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

व्याँसको छाङ्गरुमा बन्यो ‘चुच्चे नक्सासहितको राष्ट्रियस्तम्भ’

Read Time : > 1 मिनेट
२०७९ असोज १६ आइतबार १५:५०:००

दार्चुलाको व्याँस गाउँपालिका– १ छाङ्गरुमा चुच्चे नक्सासहितको राष्ट्रियस्तम्भ निर्माण गरिएको छ । व्याँस गाउँपालिकाले पहिलोपटक कालापानीनजिकैको भूमिमा चुच्चे नक्सासहितको राष्ट्रियस्तम्भ निर्माण गरेको हो । 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ७ जेठ ०७७ मा पहिलोपटक भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । सोही नक्सालाई समेटेर गाउँपालिकाले स्तम्भ निर्माण गरेको हो । 

ऐतिहासिक महत्व बोकेको कालापानीनजिकै २३ फिट उचाइको राष्ट्रियस्तम्भ निर्माण गरिएको गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताए । राष्ट्रियस्तम्भ वरिपरि घेरपर्खाल लगाइएको छ । कुल १५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको स्तम्भको राष्ट्र प्रमुखबाटै उद्घाटन गर्ने तयारी छ । 

कालापानी क्षेत्रनजिकै बनेको सो स्तम्भ उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी २७ असोजमा आउने तयारी भएको अध्यक्ष धामीले जानकारी दिए । ‘भारतीय क्षेत्रबाटसमेत देखिने गरी स्तम्भ ठड्याइएको छ । सीमा क्षेत्रका नागरिकले गर्व गर्ने गरी स्तम्भ निर्माण गरिएको हो,’ अध्यक्ष धामीले भने ।

व्यास गाउँ कार्यपालिकाको ९ साउनमा बसेको बैठकले राष्ट्रपति भण्डारीलाई व्याँस भ्रमणको निम्तो दिने निर्णय गरेको थियो । सोहीअनुसार गाउँपालिका अध्यक्ष धामी नेतृत्वको टोलीले अतिक्रमित क्षेत्रनजिकै निर्माण गरिएको स्तम्भको उद्घाटनको लागि राष्ट्रपतिलाई निम्तो दिन काठमाडौँ गएका थिए । दुईपटक राष्ट्रपति भण्डारीलाई भेटेर उद्घाटनको लागि निम्तो दिइएको हो ।

अध्यक्ष धामीले कालापानी क्षेत्रमा राज्यको उपस्थिति गराउनका लागि राष्ट्रपतिको भ्रमण महत्वपूर्ण रहेको बताए । उनले भने, ‘भारतको अतिक्रमणमा परेको कालापानी क्षेत्रमा निर्माण भएको स्तम्भले ठूलो सन्देश दिने छ ।’ महामहिज्यूको हातबाट उद्घाटन भएपछि यहाँ पनि राज्यको उपस्थिति छ भन्ने सन्देश प्रवाह गर्न विशेष निम्तो दिइएको हो । सरकारले अझै यो क्षेत्र चिनोस् भन्नको लागि पनि राष्ट्र प्रमुखको भ्रमण गराउन लागेका हौँ ।’

नेपालको कालापानी क्षेत्र सधैँ भारतको सीमा अतिक्रमण गरेको विषयले चर्चामा आउने गर्दछ । नक्सामा यो क्षेत्र समेटिएपछि चर्चा थप चुलिए पनि पछिल्लो समय फेरि ओझेलमा परेको थियो । यहाँका सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति भए पनि सेनाको उपस्थिति हुन सकेको छैन । 

यसक्षेत्रमा जाने सडक निर्माणको काम सुस्त छ । अहिले पनि यहाँका छाङगरु र तिंकरका स्थानीय भारतीय भूमि भए र गाउँ जानुपर्ने बाध्यता छ । राष्ट्र प्रमुखको व्याँस भ्रमणले यो क्षेत्रको विकासमा थप टेवा पुगोस् भन्ने स्थानीयको चाहना छ, व्याँस गाउँपालिका– १ वडाअध्यक्ष अशोकसिंह बोहराले भने, ‘नक्सा जारी गरेर चर्चा पाए पनि यहाँका नागरिकले अझै सरकारको अनुभूतिगर्न नसकेको कारण राष्ट्रप्रमुखज्यूको भ्रमणले केही आशा पलाएको छ ।’ 

‘स्थानीय छाङ्गरु तिंकरसम्म निर्माण भइरहेको महाकाली करिडोरको काम तीव्रता पाओस् भन्ने चाहन्छन्,’ उनले भने । करिडोरअन्तर्गत दार्चुला तिंकर सडकखण्डको ८७ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । व्याँस गाउँपालिका– ३ तुसरपानीदेखि तिंकरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । तर, सेनाले निर्माण गरिरहेको सडकखण्डमा बजेट थोरै मात्रै चालू वर्षमा विनियोजन गरिएको छ । सडकमा कम बजेट विनियोजन गरेकोप्रति स्थानीय असन्तुष्ट छन् । 

यस्तै, व्याँस गाउँपालिकासम्म पुग्न नेपालबाटै घोरेटो बाटो निर्माण होस् भन्ने स्थानीयको चाहना छ । आफ्नोतिर बाटो नहुँदा हरेक वर्ष भारतीय बाटोको प्रयोग गर्नुपरेको स्थानीय बताउँछन् । उनको भ्रमण हुने भएपछि गाउँपालिकाले छाङ्गरु क्षेत्रमा आवश्यक तयारी थालेको छ । 

यसअघि राष्ट्रपति भण्डारीले ०७६ सालमा राष्ट्रकै सातौँ धामका रूपमा परिचित दार्चुलाको मालिकार्जुन मन्दिरको भ्रमण गरेकी थिइन् । चुच्चे नक्सासहितको राष्ट्रियस्तम्भ उद्घाटन गर्न कालापानी क्षेत्रमा उनको उपस्थिति हुनुलाई महत्वका साथ हेरिएको छ ।