दोलखामा ४६ हजार निजी आवास पुनर्निर्माण

दोलखामा ४६ हजार भूकम्पपीडितले निजी आवास पुनर्निर्माण गरेका छन् । भूकम्प गएको चार वर्ष पुग्न लाग्दा ४६ हजार ७ सय २२ परिवारले निजी आवास निर्माण सकेका हुन् । दोलखामा ७० प्रतिशत लाभग्राहीले आवास पुनर्निर्माणको काम सकेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार विकास कार्यालय दोलखाले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर निर्मलदर्शन आचार्यका अनुसार निजी आवास निर्माण सकेका ४६ हजार ७ सय २२ परिवारले तेस्रो किस्ताबापतको अनुदान रकमसमेत लगिसकेका छन् । दोलखामा ७२ हजार २ सय २० परिवार भूकम्पपीडित लाभग्राही सूचीमा सूचीकृत भएका छन् । त्यसमध्ये ६७ हजार १ सय ५२ जनाले अनुदान सम्झौता गरेका थिए । अनुदान सम्झौता गरेर पहिलो किस्ता लिनेको संख्या ६५ हजार १ सय ६५ पुगेको कार्यालयले जनाएको छ । 

पुनर्निर्माण तीव्र
अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका लेखा प्रमुख राजकुमार ढुंगेलले दोलखामा ७० प्रतिशत पुनर्निर्माणको काम सकिएको बताए । उनले ७० प्रतिशतले तेस्रो किस्ता, ८१ प्रतिशतले दोस्रो र ९७ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता लगेका जानकारी दिए । बिगु गाउँपालिका–२ ओराङ र वैतेश्वर गाउँपालिका–३ स्थित यार्सा गाउँमा दाताको सहयोगमा निजी आवास पुनर्निर्माणको काम सकिएको छ । यही रफ्तारमा पुनर्निर्माणको काम अघि बढे राज्यले तोकेकै समय अवधिमा दोलखामा पुनर्निर्माणको काम सकिने आचार्यले बताए ।