मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ११ मंगलबार ०७:०२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रदेश १ ले सुधारिएको प्रदर्शन गर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ११ मंगलबार ०७:०२:००

प्रदेश १ खेलाडी उत्पादन हुने प्रदेश हो । फुटबलमा धेरै राम्रा स्टार खेलाडी प्रदेश १ कै छन् । फुटबल मात्र नभएर अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश १ एक उर्वर भूमि नै मानिन्छ । यही उर्वर भूमिले बृहत् राष्ट्रिय खेलकुदमा खासै तहल्का मच्चाउन सकेको छैन । पूर्वका राम्रा खेलाडीहरू विभागीय क्लबमा आबद्ध हुनाले राष्ट्रिय खेलकुद प्रतियोगितामा राम्रो नतिजा निकाल्न नसकिएको पूर्वका खेल पदाधिकारीहरूको भनाइ छ । सातौँ राष्ट्रिय खेलकुद आफैँले आयोजना गर्दा पनि प्रदेश १ ले पदक तालिकामा उल्लेखनीय प्रगति गर्न सकेन । नेपालगन्जमा भएको आठौँ संस्करणमा प्रदेश १ आठौँ स्थानमा सीमित भयो ।

२८ असोजदेखि गण्डकी प्रदेशमा सुरु हुने नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ ले उत्कृष्ट नतिजा निकाल्ने तयारीमा लागेको छ । प्रदेश १ को खेलकुद विकास परिषद्का सदस्यसचिव हंसराज वाग्ले नवौँ राष्ट्रिय खेलकुदमा पाँचौँ वा छैटौँ स्थानको लक्ष्य राखेको बताए । ‘विभागीय टोली र बागमतीपछि पाँचौँ वा छैटौँ स्थानमा उक्लिने हाम्रो लक्ष्य छ,’ हंसराजले भने । 

राष्ट्रियमा सहभागिता
प्रदेश १ ले नवौँ राष्ट्रियमा समावेश ३६ खेलमध्ये लनटेनिसलाई छोडेर ३५ खेलमा सहभागिता जनाउँदै छ । प्रदेश १ बाट प्रतिस्पर्धा गर्न अहिलेसम्म सात सयभन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् । तयारी ढिलो भए पनि जिल्लादेखि प्रदेश तहसम्मको छनोट प्रतियोगिता राम्रो तरिकाले भएको हंसराजले बताए । २९ भदौदेखि ८ असोजसम्म इटहरी रंगशालामा छनोट भएको थियो । समापनकै वेला नवौँ राष्ट्रिय प्रतियोगिताको ट्रफी विराटनगर रंगशालामा प्रदर्शन गरिएको थियो । 

पौडी, गल्फ, पाराग्लाइडिङ, कराँते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, सफ्ट टेनिस, कबड्डी, स्क्वास, आर्चरीजस्ता खेलमा प्रदेश १ ले राम्रो नतिजा ल्याउने सम्बन्धित खेलका पदाधिकारीहरूले दाबी गरेका छन् । ‘समूहगत खेलमा फुटबल र भलिबलमा हामीले कडा चुनौती पेस गर्ने लक्ष्य छ,’ हंसराजले भने, ‘कडा चुनौती पेस गर्ने दाबी गरेको प्रदेश १ ले खेलाडीलाई प्रतियोगिताको तालिका हेरेर एकदेखि डेढ हप्ता बन्द प्रशिक्षणमा राख्नेछ ।’ सदस्यसचिव वाग्लेका अनुसार बन्द प्रशिक्षण २१ असोजदेखि सुरु हुनेछ । 

बजेट र सुविधा
खेलकुद विकास ऐन २०७७ को प्रावधानअनुरूप भएको प्रतियोगिताअनुसार खेलाडी छनोट गरेर राष्ट्रिय प्रतियोगितामा पठाउने जिम्मा प्रदेश सरकारको हो । सोहीअनुरूप प्रदेश १ सरकारले नवौँ राष्ट्रियका लागि ९ करोड १९ लाखको बजेट विनियोजन गरेको छ । अन्य प्रदेशभन्दा प्रदेश १ ले जिल्ला तहको छनोटदेखि नै खेलाडीलाई ट्र्याकसुट वितरण गरेको थियो । छनोटमा सहभागी सबै खेलाडीलाई दैनिक एक हजार ६ सय भत्ता वितरण गरिएको थियो ।