म पाँच–चार कक्षामा पढ्थेँ । त्यो बाल्यकालमा भोजपुरबाट धरान जान कोसीको किनारैकिनार झर्नुपथ्र्यो । भोजपुरबाट कोसीपारि धनकुटामा खोपु र छिन्ताङ गाउँ पथ्र्यो । त्यो गाउँबाट पहेँला सुन्तला बोकेर हिँड्ने ढाक्रेहरू (ढाकर बोक्ने) सानोमा देखेको थिएँ । मनमनै सोच्थेँ, ‘कहाँ लान्छन् होला यो सुन्तला ?’
म काठमाडौं आइसकेपछि एक एनजिओमा जागिर गर्न थालेँ । जागिरकै सिलसिलामा धनकुटा गएँ । बसाइ धनकुटा बजारमै भए पनि मेरो फिल्ड उही खोपु–छिन्ताङ गाउँ थियो । यो त्यही गाउँ थियो, जहाँ म सानोमा जाने–आउने गर्थें । जहाँ मैले ढाक्रेहरू देखेको थिएँ । यहाँ बसेपछि मैले सुन्तला बोक्नेहरूको कथालाई नजिकबाट बुझेँ । यो गाउँमा सुन्तला नगदे बाली थियो । अहिले पनि यहाँको सुन्तला प्रख्यात नै छ । त्यही सुन्तला बोकेर कृषकहरू धरानसम्म आउने रहेछन् । मैले सानोमा देखेका ढाक्रेहरूलाई नै सम्झेर गीत कोरेँ–
सुनकै भाउ छ सुन्तला भारीको ।
चाखिजानु भन्ने मनकारीको ।
खोइ त बुटजुत्ता ?
कतिन्जेल धाउँछौ दाइ धरान धनकुटा ?’
कुन्ती मोक्तानले स्वर भरेको यो गीत राम्रै चल्यो ।