१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २ आइतबार ०८:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई महिनामा पुँजीगत खर्च डेढ प्रतिशत मात्रै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २ आइतबार ०८:१५:००

सरकारले चालू आर्थिक वर्ष ०७९/८० को पहिलो दुई महिनामा डेढ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले भदौसम्ममा पाँच अर्ब ८६ करोड रुपैयाँ पुँजीगत खर्च गर्न सकेको छ । जुन विनियोजित पुँजीगत बजेटको १.५४ प्रतिशत हो । चालू आवका लागि सरकारले पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । 

गएको आर्थिक वर्षको तुलनामा भने पुँजीगत खर्च बढेको देखिन्छ । गत वर्ष सरकारले भदौ मसान्तसम्ममा दुई अर्ब ६० करोड रुपैयाँ मात्रै पुँजीगत खर्च गर्न सकेको थियो । जुन उक्त आवमा पुँजीगततर्फ विनियोजित बजेटको ०.६९ प्रतिशत हो । पुँजीगत खर्च न्यून भए पनि चालू खर्च भने नियमित देखिन्छ । यो दुई महिनामा सरकारले चालू खर्च एक खर्ब आठ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको छ ।

जुन विनियोजित चालू बजेट ११ खर्ब ८३ अर्ब ३२ करोडको ९.१९ प्रतिशत हो । चालूतर्फको खर्च अघिल्लो आवको सोही अवधिको तुलनामा झन्डै दोब्बरले बढी हो । गत वर्षको भदौ मसान्तसम्ममा सरकारले ५८ अर्ब ५९ करोड चालू खर्च गरेको थियो । जुन उक्त आवमा चालूतर्फ विनियोजित बजेटको ५.५१ प्रतिशत हो । वित्तीय व्यवस्थातर्फ सरकारले १९ अर्ब ७४ करोड खर्च गरेको छ । जुन विनियोजित बजेट दुई खर्ब ३० अर्ब २१ करोडको ८.५८ प्रतिशत हो । 

कुल प्राप्ति एक खर्ब ६३ अर्ब
यस अवधिमा सरकारको कुल प्राप्ति एक खर्ब ६३ अर्ब दुई करोड रुपैयाँ रहेको छ । यसमा राजस्व, अनुदान तथा अन्य आम्दानी पर्छ । यसमा आन्तरिक र बाह्य ऋण भने जोडिएको छैन । यस अवधिमा सरकारले एक खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन विनियोजित वार्षिक लक्ष्य १४ खर्ब तीन अर्ब १४ करोडको १०.२५ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले ७९ करोड ३० लाख वैदेशिक अनुदान परिचालन गर्न सकेको छ । जुन वार्षिक लक्ष्य ५५ अर्ब ४५ करोडको १.४३ प्रतिशत हो ।