१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:५९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा अकासेपुल निर्माण योजना अलपत्र 

योजना र बजेट पास भए पनि काम भएन, बनाउन थालिएका अकासेपुलको पनि फाउन्डेसन मात्रै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:५९:oo

काठमाडौं उपत्यकाका मुख्य सडकका चोकमा अस्थायी किसिमका अकासेपुल निर्माण गर्ने योजना अलपत्र परेको छ । योजना तयार भएका नौवटा पुलको निर्माण अझै सुरु हुन सकेको छैन । दुईवटामा भने फाउन्डेसनको काम भएको छ । 

मित्रपार्कस्थित पुलमा फाउन्डेसनको काम सुरु भए पनि अहिले रोकिएको छ । पुल निर्माण गर्दा निजी भवन भत्काउनुपर्ने अवस्था आएपछि काम रोकिएको हो । त्यस्तै, चाबहिलको ओरालोमा बनाउन थालिएको अकासेपुलको पनि फाउन्डेसनको मात्रै काम भएको छ । अन्य काम ठप्प छ । यी दुईवटा पुलका लागि काठमाडौं महानगरले ०७८/७९ मा नै एक–एक करोड बजेट विनियोजन गरेको थियो ।

गत ९ माघमा काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले चार महिनामा निर्माण सकिने गरी ती अकासेपुलको शिलान्यास गरेका थिए ।सम्झौताअनुसार सविरा कन्स्ट्रक्सनले गत जेठ मसान्तसम्म काम सक्नुपर्ने थियो । तर, अहिलेसम्म फाउन्डेसनबाहेक अन्य काम अघि बढेको छैन । 

 कागजमै सीमित ११ पुल 
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०/७९ को बजेट योजनामै कालीमाटी चोक, रविभवन, त्रिवि शिक्षण अस्पतालनजिक, गंगालाल अस्पतालअगाडि, कोटेश्वर, बबरमहल, पुतलीसडक, पद्मोदय मोड, बागबजारमा अकासेपुल बनाउने योजना समेटेको थियो । त्यसअघि अध्ययन गरेरै एउटा पुलबराबर एक करोड बजेट पनि विनियोजन गरिएको थियो । महानगरले बनाउने सबैजसो अकासे पुलको लम्बाइ ३३ मिटर र चौडाइ दुई मिटर रहने तय गरिएको थियो । तर, अहिलेसम्म यी स्थानमा पुल निर्माणको सुरु भएको छैन । 

अकासेपुल नहुँदा मुख्य सडकमा सडक वारपार गर्न सर्वसाधारणलाई सास्ती हुने गरेको छ, जामको समस्या पनि कायम छ । काठमाडौं महानगरका सहरी पूर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाले बजेट विनियोजन गरिए पनि विविध कारणले अकासेपुलको योजना अघि बढ्न नसकेको बताए । ‘दुईवटा अकासेपुलको काम भइरहेको छ, अन्य अकासेपुल बनाउने भनिएका कतिपय स्थानमा फुटपाथको चौडाइ मिलेन,’ उनले भने, ‘अकासेपुल बनाउँदा सडक नै साँघुरो हुने डर भयो । त्यस्तै, कतिपय फुटपाथमा खानेपानीको लाइन काटिने डर, बिजुलीका तार र पोल सार्नुपर्ने झन्झटले पनि अकासेपुल योजना अघि बढ्न नसकेको हो ।’ 

चार स्थानमा मात्रै बने पुल 
काठमाडौं महानगरको ०७५/७६ को बजेट कार्यक्रममा समेटिएका चार स्थानमा पुल निर्माण भएर सञ्चालनमा आएका छन् । महानगरले जयबागेश्वरी, चाबहिल चोक, माइतीघरस्थित पुरातत्वको अगाडि र डल्लुस्थित विष्णुमती करिडोरमा मात्रै पुल निर्माण सम्पन्न गरेको छ । यी पुलहरू ०७८ असोजदेखि सञ्चालनमा आइसकेका छन् । प्रत्येक पुल निर्माणमा ६५ लाख बजेट खर्च भएको महानगरले जनाएको छ । डल्लुको अकासेपुल भने प्रदेश सरकारको बजेटमा महानगरले निर्माण गरेको हो ।

अकासेपुल बनाउन झन्झट छ
 रामबहादुर थापा, प्रमुख, सहरी पूर्वाधार विकास विभाग, काठमाडौं महानगर

पुल बनाउने भनिएको कतिपय सडकछेउमा व्यक्ति घर पर्छन् । कतिपय ठाउँमा खानेपानी र ढलको पाइप गाडिएको छ । बिजुलीको तार र पोल हटाउन झन्झट छ । फुटपाथको चौडाइ पनि कम छ । त्यस्तो अवस्थामा कसरी अकासेपुल बनाउने ? कोटेश्वरको हकमा चाहिँ प्राधिकरणले रोकेपछि काम अघि नबढेको हो ।  

अकासेपुल सबैका लागि सुरक्षित
 राजेन्द्रप्रसाद भट्ट, एसएसपी उपत्यका ट्राफिक प्रहरी कार्यालय
 
सडकमा सवारीसाधनको मात्रै जाम हुँदैन, पैदल यात्रुको पनि संख्या धेरै छ । उनीहरूलाई सडक वारपार गर्नुपर्ने हुन्छ । त्यसैले उपत्यकाको सडकमा जाम फुकाउन अकासेपुल निर्माण र ट्राफिक लाइट जडानमा ध्यान दिनुपर्छ । यो बटुवा र सवारीसाधन दुवैका लागि सुरक्षित पनि मानिन्छ ।

कोटेश्वरको पुल निर्माण प्राधिकरणले रोक्यो 
उपत्यकामा सबैभन्दा धेरै जाम हुने सडकमध्ये कोटेश्वर–भक्तपुर सडक पनि एक हो । यो सडकमा वारपार गर्ने बटुवाको संख्या धेरै छ । तर, अहिलेसम्म यहाँ अस्थायी प्रकारको समेत अकासे पुल निर्माण हुन सकेको छैन । काठमाडौं महानगरले कोटेश्वरमा फलाम र स्टिल जडान गरेर पुल बनाउन एक करोड बजेट छुट्याए पनि अकासेपुल बन्न सकेन ।

०७/७८ मा कोटेश्वर चोकमा सडक विभागले पनि अकासेपुल योजना अघि सारेको थियो । तर, नागरिक उड्डयन प्राधिकरणले हवाई सेफ्टीको हिसाबले जोखिम हुने भन्दै अकासेपुल योजनाको काम अघि बढ्न दिएन । ‘सडक विभाग र हामीले कोटेश्वरमा अकासेपुल बनाउने योजना अघि सारेका थियौँ, तर नागरिक उड्डयन प्राधिकरणले रोक्यो,’ महानगरका सहरी पूर्वाधार विकास विभाग प्रमुख थापाले भने, ‘हवाई सुरक्षामा असर पर्ने भएपछि त्यहाँ हामीले पुल बनाउने अघि सार्नुको अर्थ भएन ।’ उनले कोटेश्वरको जाम हटाउने र हवाई सुरक्षाका लागि पनि फ्लाई ओभर योजना आवश्यक रहेको बताए । 

ad
ad