१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
बसन्तराज मिश्र
२o८१ बैशाख ३० आइतबार o९:o३:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

भैरहवा र पोखरा एयरपोर्टबाट पर्यटक कसरी भित्र्याउने ?

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई श्रम गन्तव्य मुलुकसँग होइन, पर्यटक आउने देशहरूसँग जोड्नुपर्छ

Read Time : > 5 मिनेट
बसन्तराज मिश्र
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:o३:oo

विश्वमै कोभिड महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र पर्यटन हो । एक हिसाबले कोभिड पर्यटन क्षेत्रका लागि ‘अभिशाप’ नै बन्यो । कोभिडले विश्वकै पर्यटन क्षेत्रलाई तहसनहस बनाइदिएको छ । घुमफिर गरेर रमाउने मानिसहरू घरमै थुनिएर बस्दा पर्यटन ‘शिथिल’ बन्यो ।अब बिस्तारै महामारी कम हुन थालेको र पर्यटन क्षेत्र पनि तंग्रिन खोजेको छ । अहिले पर्यटन पुनरुत्थानमा विश्वका सबै देश आकर्षक प्याकेजसहित प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल सरकारले पनि निजी क्षेत्रलाई सक्दो सुविधा दिएर प्रोत्साहित गर्नुपर्ने आवश्यकता छ ।

खुसीको कुरा भन्नुपर्छ, सन् २०२२ को सुरुवातसँगै नेपाली पर्यटनमा आशाका किरण देखिन थालेका छन् । वसन्त ऋतुमा हिमाल चढ्न र ट्रेकिङ गर्न आएका पर्यटकले एक खालको उत्साह नै थपिदियो । पर्यटन विभागका अनुसार अहिलेसम्मकै धेरै आरोहीहरूले हिमाल चढ्न अनुमति लिएका थिए । शरद ऋतुमा पनि आरोही र ट्रेकर्स राम्रै आउलान् भन्ने आशा छ । अहिले चिनियाँहरू नआउँदा पनि पर्यटकको आगमन करिब ७५ प्रतिशतसम्म ‘रिकभरी’ भएको सरकारकै तथ्यांक छ । सरकार र निजी क्षेत्र आपसमा हातेमालो गरी प्रवद्र्धनमा जुटेमा छिटै पर्यटन क्षेत्र लयमा फर्किनेछ । देशमा धेरै पर्यटक भिœयाउन आकर्षक प्याकेज, छुट सुविधा, फ्री भिसा, नीतिगत सुधारलगायत आवश्यक छ ।

पर्यटन ‘बबल बिजनेस’ होइन : अहिले सबैजसो देशले पर्यटनलाई कसरी पहिलेकै अवस्थामा फर्काउन सकिन्छ भनेर गहन अध्ययन गरी योजना बनाइरहेका छन् । कोभिडपछि विश्वसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्न सरकार र निजी क्षेत्रले बनाउने नीति, योजना, प्याकेज र रिसर्चबेस इफेक्टिभ मार्केटिङले बाटो निर्धारण गर्नेछ । पर्यटन क्षेत्रले आफूलाई ‘बबल बिजनेस’ होइन भनेर प्रमाणित गरिसकेको छ । विभिन्न कालखण्डमा उदाएका पस्मिना, कार्पेट, गार्मेन्टलगायत व्यवसायहरूले निरन्तरता पाउन सकेनन् । तर, विगतमा देखिएका महामारीहरू सार्स, बर्ड फ्लु, इबोला तथा इराक, इरान र अफगानिस्ताका युद्ध, माओवादी जनयुद्ध, नाकाबन्दीजस्ता विषम परिस्थितिमा पनि पर्यटन उद्योगले ‘सस्टेन्ड’ गरेकै हो । अहिले पनि कोभिडलाई जितेर पर्यटन क्षेत्र पुनः तंग्रिन थालिसकेको छ ।

पर्यटन अर्थतन्त्रकै अभिन्न अंग : वैदेशिक मुद्रा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने पर्यटन क्षेत्र रोजगारी सिर्जनामा पनि अग्रणी मानिन्छ । युएनडब्लुटिओको अध्ययनले प्रत्येक १२ जना जागिरेमा एकजना पर्यटन क्षेत्रमा आबद्ध रहेको देखाएको छ । पर्यटकमार्फत कति विदेशी मुद्रा भित्रिन्छ र विदेशी मुद्रा राष्ट्रका लागि कति महत्वपूर्ण छ भन्ने आज श्रीलंकाकै ज्वलन्त उदाहरण हामीसामु छ । कोभिडअघि पर्यटन क्षेत्रबाट करिब ७०–७५ करोड अमेरिकी डलरसम्म आम्दानी भएको थियो । तर, गत आर्थिक वर्षमा पर्यटकमार्फत ३२ करोड ४४ लाख अमेरिकी डलर भित्रिएको छ । यो अलि भयावह अवस्था नै हो । यो क्षेत्रलाई जोगाउनु राज्यको पनि दायित्व हुन्छ । 

नेपालमा साठीको दशकमा ‘वाइल्डलाइफ टुरिजम’ सुरु भएको हो, त्यसवेला एसियामा ‘वाइल्डलाइफ’ भन्ने नै थिएन । विश्वले ‘वाइल्डलाइफ’ भन्नेबित्तिकै अफ्रिका मात्र सम्झन्थ्यो । हामी वाइल्डलाइफमा एसियाकै पायोनियर बन्यौँ । नेपाललाई ‘अफ्रिका अफ एसिया’ पनि भनियो । विश्व बैंकका तत्कालीन अध्यक्ष रोबर्ट म्याक्नामाराले सिंगापुरको एक बैठकमा भनेका थिए, ‘कन्जरभेसन र वाइल्डलाइफलाई एकअर्काको परिपूरक बनाएर सँगसँगै कसरी अगाडि बढाउने भनी सिक्न नेपाल जाऊ ।’ अहिले त्यही वाइल्डलाइफ पर्यटन बन्द हुनु देशकै लागि ठूलो क्षति हो ।

विश्वका ठूला हिमाल, धार्मिक स्थल, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदालगायत पर्यटकीय विविधताले भरिपूर्ण हुँदाहुँदै पनि वर्षको १० लाख पर्यटक पु¥याउने लक्ष्य झन्डै एक दशकको प्रयासपछि सन् २०१८/०१९ मा आएर पूरा भयो । तर, त्यो खुसी साट्न नपाउँदै कोभिड महामारीले निमोठ्यो । पछिल्लो समय कोभिड कम हुँदै गएपछि पर्यटक आगमन निरन्तर बढ्दो छ । सन् २०२२ को आठ (जनवरी–अगस्ट) महिनामा तीन लाख २६ हजार ६६७ पर्यटक आइसकेका छन् ।

पर्यटनबाट लाभ लिन कहाँ चुक्यौँ ? : नेपाल पर्यटकीय विविधतामा अब्बल छ । हाम्रो ‘सर्भिस’ राम्रो छ, ‘प्रडक्ट’हरू पनि उत्कृष्ट छन् । एक–आधा घन्टाको यात्रामै तराईको हपहपी गर्मीबाट ठन्डा मौसम भएको हिमालयको काखमा पुग्न सकिन्छ । यति सानो मुलुकमा १० वटा ‘हेरिटेज साइट’ छन् भने विश्वका अधिकांश अग्ला हिमाल यहीँ छन् । कला, संस्कृति र सम्पदामा पनि धनी छौँ । यति हुँदाहुँदै पनि किन पर्यटनमा फड्को मार्न सकेनौँ त ? यसको अर्थ, हामी कहीँ न कहीँ नीति निर्माण र प्लानिङमा चुकेका छौँ । हामीले पर्यटनलाई ‘लिब सर्भिस’का रूपमा मात्र लियौँ । कतै ‘पर्यटक भनेको आइहाल्छन्, आज नआए भोलि आउँछन् नि’ भनेर हल्का रूपमा सोच्यौँ कि ? 

भैरहवा र पोखरालाई ‘रिजनल हब’ एयरपोर्ट बनाऔँ : हामी सबैलाई थाहा छ, पर्यटन व्यवसाय एक्लै अगाडि बढ्न सक्दैन । पर्यटन क्षेत्रको ठूलो सारथि भनेकै ‘एभिएसन’ हो । नेपालजस्तो ‘ल्यान्डलक्ड कन्ट्री’मा पर्यटक ल्याउने ‘गेट–वे’ नै एभिएसन हो । जबसम्म उड्डयन क्षेत्रमा परिपक्वता आउँदैन, तबसम्म ठूलो संख्यामा पर्यटक भिœयाउँछु भन्नु दिवास्वप्न मात्रै हो ।

अहिलेसम्म नेपालमा एउटा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थियो । अब भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थपिएको छ । पोखरामा पनि ढिलोचाँडो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ । भविष्यमा निजगढमा पनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेवाला छ । यी विमानस्थलको व्यापक रूपमा मार्केटिङ गरेर सकेसम्म व्यस्त बनाउने योजना बनाउनुपर्छ । सरकारले विमानस्थलबाट कमाइ गर्नेभन्दा पनि समग्र अर्थतन्त्रमा हुने योगदानतर्फ ध्यान दिनुपर्छ । एयरपोर्टमा विशेष छुट दिएर धेरै वायुसेवा र पर्यटक भित्र्याउन सक्यौँ भने समग्रमा त्यसको फाइदा बढी हुन्छ । 

सरकार र निजी क्षेत्र आपसमा हातेमालो गरी प्रवद्र्धनमा लागेको खण्डमा छिटै पर्यटन क्षेत्र ‘रिकभरी’ हुनेछ । पर्यटक भिœयाउन आकर्षक प्याकेज, छुट सुविधा, फ्री भिसा, नीतिगत सुधारलगायतको व्यवस्था गर्नु आवश्यक छ ।
 

कोभिडपछि अर्थतन्त्र सबल बनाउन धेरै देशहरू पर्यटकलाई अधिकतम सुविधा दिएर आफ्नो देशमा आकर्षित गर्न खोजिरहेका छन् । निःशुल्क अनअराइभल भिसादेखि अरू सेवा सुविधाहरूमा प्रतिस्पर्धा हुन थालेको छ । हामीले पनि तिनै देशसँग प्रतिस्पर्धा गरेर पर्यटक आकर्षित गर्नुछ, त्यसका लागि चानचुने प्रयासले पुग्दैन । यस्तो वेला सरकारले सेवाहरूमा छुट दिनुपर्नेमा उल्टै विमानस्थल सेवा शुल्क नियमावली संशोधन गरेर शुल्क बढाएको छ, जुन गलत हो । कुनै पनि एयरपोर्ट बनाउनु भनेको राज्यको दीर्घकालीन लगानी हो । हामीले ती एयरपोर्टबाट फाइदा लिन सक्नुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विमानस्थल निर्माण सुरु गर्नेबित्तिकै विश्व बजारमा व्यापक मार्केटिङ र प्रचारप्रसार गर्नुपर्ने थियो, जुन हुन सकेन । भैरहवा र पोखरा विमानस्थलको व्यापक मार्केटिङ गरी धेरै उडान सञ्चालन गरेर पर्यटक भित्र्याउन सकिन्छ । 

२ जेठदेखि सञ्चालनमा आएको भैरहवा एयरपोर्टमा एउटा कुवेतको जजिरा एयरवेजले मात्र उडान गरिरहेको छ । राज्यको ३० अर्बभन्दा बढी लगानी भइसकेको एयरपोर्टमा सातामा तीनवटा अन्तर्राष्ट्रिय उडान गरेर बस्नु हुँदैन । नयाँ एयरपोर्ट ७० प्रतिशतभन्दा बढी अकुपेन्सीमा सञ्चालन भयो भने ‘ब्रेकइभन’मा पुग्न १० देखि १२ वर्ष लाग्ने अन्तर्राष्ट्रिय मान्यता छ । भैरहवा र पोखराका अन्तर्राष्ट्रिय एयरपोर्टलाई ‘रिजनल हब’ बनाएर धेरै पर्यटक भित्र्याउने उद्देश्य हुनुपर्छ । दुवै एयरपोर्टबाट पर्यटक ल्याउनका लागि बजार व्यवस्थापनमै जोड दिनु जरुरी छ ।

विश्वमा बौद्धमार्गीको संख्या २५ प्रतिशतभन्दा धेरै छ । हामीले बौद्धमार्गीहरू बस्ने देशमा गएर व्यापक प्रचार–प्रसार गर्न सकियो भने भोलिका दिनमा भैरहवा र पोखरा विश्वका बुद्धिस्ट धर्मावलम्बीहरूका लागि ‘मक्का–मदिना’जस्तै हुनेछन् । सरकारले भैरहवा र पोखरामा एक वर्षसम्म ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षालगायत शुल्क पूर्ण रूपमा छुट दिएको छ । यस्तै, नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिएको छ । जसले गर्दा न्यारोबडी जहाजले भैरहवाको प्रत्येक उडानमा अढाई लाखसम्म बचत गर्न सक्छन् । तर, यो विषय पनि अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार भएको जस्तो देखिँदैन । सरकारले यो छुट सुविधा पनि कम्तीमा तीन वर्षसम्म लम्ब्याउनु पर्छ । 

इयूले देखाएको कन्सर्नमा ध्यान दिन जरुरी : युरोपेली युनियन (इयू)ले नेपाली वायुसेवालाई सुरक्षाको कारण देखाउँदै आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगाएको छ । त्यस्तै, आफ्ना नागरिकलाई आन्तरिक हवाई सेवा पनि सकेसम्म प्रयोग नगर्नु भनेको छ । ‘उड्डयन क्षेत्रको नियामक र सेवाप्रदायक एउटै निकाय हुनु हुँदैन, यसो हुँदा सुरक्षा प्रत्याभूति १०० प्रतिशत हुँदैन’ भन्ने इयूको आफ्नो धारणा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले पनि नियामक र सेवाप्रदायक छुट्याउन सुझाव दिएको छ । पछिल्लो अडिट रिपोर्टमा आइकाओले नेपाली आकाश सुरक्षित रहेको पुष्टि पनि गरेको छ । 

हामीले युरोपियन मुलुकलाई कुनै पनि हालतमा चिढ्याउन हुँदैन । त्यो स्रोत मार्केट हो । कुनै वेला नेपाल एयरलाइन्सले युरोपमा उडान गरेर नेपाल आउने ६५ प्रतिशतभन्दा धेरै पर्यटक बोकेर ल्याउँथ्यो । नेपाल एयरलाइन्सले युरोप उडान गर्न छाडेपछि त्यसको प्रतिस्थापन अहिलेसम्म हुन सकेको छैन । युरोपसँग कनेक्टिभ फ्लाइट नहुँदा नेपाली पर्यटन उद्योगले धेरै गुमाइरहेको छ । युरोपमा सीधा उडान गर्नैपर्छ ।

अहिले मध्यपूर्वी मुलुकबाट जति पनि एयरलाइन्स आइरहेका छन्, तिनीहरूको फोकस भनेकै ‘लेबर मार्केट’ हो । उनीहरूले नेपालको पर्यटन प्रवद्र्धनका लागि कुनै पहल गरेका छैनन्, ‘लेबर मार्केट’मै सन्तुष्ट देखिन्छन् । हामीले धेरै पर्यटक ल्याउन युरोप, अमेरिका, अस्ट्रेलियालगायत मुलुकहरूमा सीधा हवाई सम्पर्क बढाउन जरुरी छ । यसका लागि इयूले देखाएको कन्सर्नमा ध्यान दिनैपर्छ । क्यानलाई नियामक र सेवाप्रदायकमा विभाजन गर्न कर्मचारीदेखि सरोकारवाला सबैले साथ दिन जरुरी छ । 

निजी क्षेत्रको उत्साहजनक लगानी : अहिले देशमा १८ वटा पाँचतारे होटेल सञ्चालनमा छन् । ०८० भित्र थप १८ वटा पाँचतारे सञ्चालनमा आउँदै छन्, जसमा करिब ५५ अर्ब रुपैयाँ लगानी हुँदै छ । ०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको देशभरिका होटेलमा कुल कर्जा लगानी एक खर्ब ६० अर्ब ३१ करोड पुगेको छ । यस्तै, ट्रेकिङ, माउन्टेनियरिङ, रिसोर्ट, र्‍याफ्टिङ, क्याम्पिङलगायतमा थप २४ अर्ब ७८ करोड रुपैयाँ लगानी छ । देशैभरि पर्यटन व्यवसायमा उत्साहजनक लगानी ओइरिरहेको देखिन्छ । सरकार र निजी क्षेत्र दुवैले संयुक्त पहलमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने अठोट लिएर अगाडि बढेमा पर्यटन उद्योग एक्लैले सबै नेपालीलाई पाल्न सक्ने ल्याकत राख्छ ।

ad
ad