मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ २० सोमबार ०८:१६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डेंगु नियन्त्रणमा जुट्दै स्वास्थ्य मन्त्रालय

Read Time : > 3 मिनेट
२०७९ भदौ २० सोमबार ०८:१६:००

देशका १० जिल्लामा डेंगु संक्रमण भयावह बनेको छ । तर, यसको रोकथामको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने बल्ल तयारीमा जुट्दै छ । उपत्यकालगायत देशका केही जिल्लामा डेंगु फेलिएपछि मन्त्रालयले त्यसको रोकथाममा जुट्न सरकारी अस्पताल र स्वास्थ्य कार्यालयलाई आइतबार निर्देशन दिएको छ । उपत्यकाका सरकारी अस्पताल र तीनवटै जिल्ला स्वास्थ्य कार्यालय प्रमुखलाई मन्त्रालयमा बोलाएर डेंगु नियन्त्रणमा लाग्न निर्देशन दिइएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरका अनुसार सबैभन्दा बढी प्रभावित जिल्ला छुट्याएर नियन्त्रणमा लाग्ने निर्णय आइतबारको बैठकले गरेको छ । हाल देशका चारवटा जिल्लाका डेंगु भयावह बनेको छ भने ६ जिल्लामा संक्रमण तीव्र छ । यी जिल्लालाई लक्षित गरेर कार्यक्रम तय गर्न लागिएको प्रवक्ता ठाकुरको भनाइ छ । ‘हामीले तयारी गर्न बाँकी छ, तर डेंगु सोचेभन्दा तीव्र गतिमा फैलिरहेको छ,’ उनले भने, ‘सरकारी र निजी अस्पताल तथा जिल्लास्थित स्वास्थ्य कार्यालयहरूलाई यसको नियन्त्रणमा जुट्न भनिसकेका छौँ ।’ 

स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालले मात्रै डेंगुका बिरामीको चाप थेग्न नसक्ने भन्दै मंगलबार निजी अस्पतालका प्रमुखलाई पनि त्यसबारे छलफलमा बोलाएको थियो । आइतबारको बैठकमा सिभिल अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, ख्वपः अस्पताललगायत स्वास्थ्य कार्यालयका प्रमुखलाई बोलाइएको थियो । हाल उपत्यकाभित्र सबैभन्दा बढी संक्रमण ललितपुरमा छ । त्यस्तै, काठमाडौंमा भित्रभित्रै संक्रमण फैलिए पनि परीक्षण कम हुँदा संख्या कम आएको आकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले बताए । उनले स्वास्थ्य कार्यालयले मात्रै डेंगु नियन्त्रण थेग्न नसक्ने बताउँदै निजी अस्पतालको पनि साथ चाहिने बताए । ‘अहिले डेंगु भित्रभित्रै फैलिएको छ, यसबारे स्वास्थ्य कार्यालयले मात्रै कार्यक्रम अघि सारेर हुन्न,’ उनले भने, ‘हामीलाई स्थानीय तहले पनि सहयोग गरिरहेका छन्, तर निजी अस्पतालले पनि यसमा सहयोग गुर्नपर्छ ।’ 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता  सञ्जयकुमार ठाकुर भन्छन् –हामीले तयारी गर्न बाँकी छ, तर डेंगु सोचेभन्दा तीव्र गतिमा फैलिरहेको छ । सरकारी र निजी अस्पताल तथा जिल्लास्थित स्वास्थ्य कार्यालयहरूलाई यसको नियन्त्रणमा जुट्न भनिसकेका छौँ । हामीकहाँ अहिले आएका डेंगुको तथ्यांकभन्दा धेरै फैलिएको आकलन गरेका छौं । अब यसको म्यानेजमेन्टमा लाग्छौँ ।
 

स्वास्थ्य मन्त्रालयले विभिन्न विज्ञहरूलाई सहभागी गराएर मंगलबार लामखुट्टे नियन्त्रणबारे छलफल गर्नेछ । छलफलमा निजी र सरकारीका स्वास्थ्यकर्मी र विज्ञहरूको उपस्थिति रहनेछ । बैठकमा मुख्यतः तीनवटा विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ । डेंगु नियन्त्रणबारे स्वास्थ्यकर्मीलाई तालिम दिने, संरचनाको अध्ययन गर्ने, स्वास्थ्यकर्मीको संख्या आकलन गर्ने र गाइडलाइनबारे छलफल हुनेछ । ‘हामीकहाँ अहिले आएका डेंगुको तथ्यांकभन्दा धेरै फैलिएको आकलन गरेका छौँ,’ मन्त्रालयका प्रवक्ता ठाकुरले भने, ‘अब यसको म्यानेजमेन्टमा लाग्छौँ ।’ यसबाहेक डेंगु नियन्त्रणमा कति खर्च लाग्छ र कति किट चाहिन्छ भन्नेबारे पनि मंगलबारको बैठकमा छलफल गरिनेछ । कस्तो बिरामीलाई निगरानी राख्ने, कस्तोलाई घरमै उपचार राख्ने, कस्तो बिरामीलाई आइसियूमा भर्ना गर्ने भन्नेबारे पनि गाइडलाइन बनाइनेछ । 

स्वास्थ्य मन्त्रालयको आइतबारसम्मको तथ्यांकअनुसार हाल देशभर पाँच हजार २९ जनामा डेंगु संक्रमण भएको छ । त्यसमध्ये दुईजनाको मृत्यु भएको छ । तर, संक्रमित हुनेको संख्या धेरै भएको आकलन मन्त्रालयले गरेको छ । संक्रमण भयावह हुन सक्ने भन्दै मन्त्रालयले निजी अस्पतालसँग पनि सहयोग माग गरेको छ । त्यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग पनि आवश्यक सहयोग माग गरिएको छ । मन्त्रालयले देशभरिको डेंगुको डाटा सिस्टम पनि व्यवस्थित बनाउन इडिसिडीलाई निर्देशन दिएको छ । निजी र सरकारी अस्पतालमा संक्रमितको तथ्यांक अद्यावधिक व्यवस्थित पार्नेबारे आइतबार छलफल भएको थियो ।

 चार जिल्लामा स्थिति भयावह, ६ मा तीव्र 
स्वास्थ्य मन्त्रालयका अनुसार हाल चारवटा जिल्लामा डेंगु भयावह छ । तीमध्ये ललितपुरमा एक हजार आठ सय ३२, काठमाडौंका आठ सय ८८, मकवानपुरमा पाँच सय ९८, रूपन्देहीमा चार सय ३९ जनामा डेंगु संक्रमण भेटिएको छ । यसबाहेक अन्य ६ वटा जिल्लामा पनि डेंगु फैलँदो छ । धादिङ एक सय ११, भक्तपुर ९९, तेहथुम ८८, गुल्मी ५९, सिन्धुली ६६ र संखुवासभा ५७ जनामा डेंगु देखिएको छ । यसबाहेक अन्य केही जिल्लामा दुई–चारजनामा मात्रै डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।

ललितपुरमा १८ सय ३२ जनामा संक्रमण, एकजनाको मृत्यु 
ललितपुरमा डेंगुबाट एकजनाको मृत्यु भएको छ । सिराहा घर भई हाल ललितपुर ज्वागल बस्ने ३८ वर्षीय हिमालयकुमार साहको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी १२ भदौमा पुल्चोकमा रहेको अल्का अस्पतालमा उपचार गर्न गएका थिए । तर, अस्पतालले उनको अवस्था थप गम्भीर बनेपछि मेडिसिटीमा रिफर गरेको थियो । त्यहाँ भर्ना भएको तीन दिनपछि १५ भदौमा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएका छ । 

पछिल्लो तीन दिनमा मात्रै ललितपुरमा करिब पाँच सयजना डेंगु संक्रमित थपिएका छन् । हालसम्म ललितपुरमा एक हजार आठ सय ३२ जनामा डेंगु पुष्टि भइसकेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । डेंगु संक्रमण भयावह बनेपछि जिल्लास्थित स्थानीय तहहरूले पनि जनचेतनाका कार्यक्रम र लामखुट्टेको वासस्थान नष्ट गर्न सुरु गरेका छन् । हाल ललितपुरको ज्वागल, बंगलामुखी क्षेत्र, थसिखेल, महालक्ष्मीस्थान, एकान्तकुनालगायत क्षेत्रमा संक्रमण तीव्र छ । त्यस्तै महालक्ष्मी नगरपालिकामा पनि डेंगु संक्रमण बढेको छ । हालसम्म त्यहाँ दुई सय १५ जनामा संक्रमण भइसकेको छ । गोदावरी नगरपालिकाभित्र पनि ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । 

स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक सतिश विष्टले संक्रमण तीव्र बनेपछि स्थानीय तहमा स्ययंसेवक र स्वास्थ्यकर्मी परिचालन गरेको जानकारी दिए । उनका अनुसार गोदावरी, महालक्ष्मी, ललितपुर महानगरपालिका, बागमती गाउँपालिकामा सोमबार डेंगुको वासस्थान नष्ट गर्ने कार्यक्रम तय गरिएको छ । ‘हामीले मात्रै डेंगु प्रकोप थेग्न सक्दैनौँ, केस पत्ता लगाएर स्थानीय तहलाई परिचालन हुन भनेका छौँ,’ प्रमुख जनस्वास्थ्य प्रशासक विष्टले भने, ‘हामीले सकेसम्म परीक्षण दायरा बढाउने, डेंगु नष्ट गर्ने काममा चासो दिएका छौँ ।’ उनका अनुसार ललितपुरमा यस वर्ष ९ असारदेखि डेंगु देखिएको थियो । बिस्तारै फैलने क्रम बढेपछि स्वास्थ्य कार्यालय र स्थानीय तह यसको नियन्त्रणमा लागेका छन् ।