
पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीबाट उत्तरी क्षेत्रमा चिचिला र मकालु गाउँपालिका कोसी-ल्हासा राजमार्ग बन्द गरेको छ। खाँदबारी–किमाथांका उत्तर- दक्षिण कोसी- ल्हासा राजमार्गको चिचिला गाउँपालिकाको छयाङकुटीदेखि मकालु गाउँपालिकाको फ्याक्सिन्दा दोभानसम्मको राजमार्ग बन्द गरेको हो।
दुवै गाउँपालिकाले पालैपालो सूचना जारी गर्दै अरुण तेस्रोले सडक मर्मतमा ध्यान नदिएकाले राजमार्ग बन्द गरिएको जनाएको छ। चिचिला गाउँपालिकाले छयाङकुटीदेखि देउरालीसम्म र मकालु गाउँपालिकाले देउरालीदेखि फ्याक्सिन्दा दोभानसम्मको सडकखण्डमा गुड्ने अरुण तेस्रोको ठूला मालबाहक सवारीसाधन बन्द गरेको हो।
जिल्लाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा ड्यामसाइड निर्माणाधीन रहेको छ भने चिचिला गाउँपालिका–३ पुखुवामा पावरहाउस निर्माणाधीन अवस्थामा रहेको छ। निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका ठूला मालबाहक सवारीसाधानका कारण सडकको बेहाल भएकाले मर्मत गर्न ध्यानाकर्षण गर्दै सडक बन्द गरेको हो।
अरुण तेस्रोका परियोजना विकास सम्झौता (पिडिए) अनुसार सडक सञ्चालनमा ध्यान नदिएको भन्दै हेभी सवारीसाधनहरू सञ्चालनमा रोक लगाएको मकालु गाउँपलिका अध्यक्ष ओङ्दीछिरिङ शेर्पाले बताए। उनले पिडिएमा भएको सडक सम्झौताको बुँदा १०. ११. २ अनुसार आयोजनाले मर्मत कार्य नगरेकाले सवारीसाधन सञ्चालनमा रोक लगाएको स्पष्ट पारे।