१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १२ आइतबार ०७:१४:००
Read Time : > 1 मिनेट
समाचार

उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १२ आइतबार ०७:१४:००

उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठिसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ । स्थनीयले अवरोध गरेपछि पछिल्लो दुई महिनायता उपत्यकामा फोेहोर ढुवानी रोकिएको थियो । १ भदौदेखि स्थानीयले अवरोध हटाएपछि महानगरले निजी टिपर र ट्रकको सहयोगमा दैनिक दुई सय ५० टिपसम्म फोहोर ढुवानी गर्दै आइरहेको थियो । 

लगातार १० दिनसम्म ढुवानी गर्दा सडकमा थुप्रिएको फोहोर उठाइसकिएको महानगरका प्रवक्ता नवीनमा मानन्धरले जानकारी दिए । उनका अनुसार अब उपत्यकाका सडक किनार र चोकहरूमा फोहोरका चाङ छैन । यद्यपि, दैनिक रूपमा उत्पादन हुने फोहोर भने एक–दुई दिन होल्ड हुन सक्ने उनले बताए । ‘अब फोहोरको समस्या हल भइसक्यो,’ उनले भने, ‘बरु हामीले अब यसको दिगो समाधानका उपाय अबलम्वन गर्न आवश्यक छ ।’ 

 अब टेकुमा थुप्रिएको २५ हजार मेट्रिकटन फोहोर ढुवानी गरिने
महानगरका अनुसार सडक तथा चोकहरूमा थुप्रिएको फोहोर ढुवानी भइसकेपछि अब टेकुस्थित ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहोर व्यवस्थापन हुनेछ । त्यहाँ करिब २५ हजार मेट्रिकटन फोहोर थुपारिएको छ । बन्चरेडाँडामा स्थानीयले फोहोर लैजान नदिएपछि महानगरले सडकको फोहोर उठाएर टेकुमा राखेको थियो । तर, त्यहाँ पनि खाली ठाउँ भरिएपछि सडकको फोहोर उठ्न सकेको थिएन । यद्यपि, सरोकार र स्थानीयबीच १ भदौमा सहमति भएपछि फोहोर ढुवानीको अवरोध हटेको थियो । टेकुमा रहेको फोहोर ढुवानी गरिसक्न करिब पाँच दिन लाग्नेछ । महानगरले आफ्ना कन्टेनरले नभ्याउने भन्दै निजी व्यवसायीबाट ढुवानीका लागि सहायता माग गरेपछि निजी व्यवसायीहरूले गाडी उपलब्ध गराउँदै आएका छन् । सबैको सहयोगले फोहोरको समाधान छिटो भएको महानगरका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । 

 उठ्यो बाफल चोकमा ६ महिनादेखि थुप्रिएको फोहोर
बाफलस्थित सडक किनारमा ६ महिनादेखि थुप्रिएको फोहोर उठाइएको छ । हजुरलाई नमस्ते परोपकारी संस्थाको अगुवाइमा उक्त स्थानको फोहोर उठाइएको हो । संस्थाका अध्यक्ष ताराबहादुर कुँवरका अनुसार उक्त फोहोर उठाएर सिसडोलमा ढुवानी गरिएको छ । कुँवरले आफ्नै गाडी प्रयोग गरी २० टिप फोहोर सिसडोलमा पुर्‍याएका थिए । महानगरले फोहोर उठाउन छाडेपछि चक्रपथ सडकखण्ड दुर्गन्धित बनेपछि केही व्यवसायीहरूले आफैँ फोहोर उठाएर ढुवानीमा महानगरलाई सहयोग गर्दै आइरहेका छन् । हरेक साता शनिबार कलंकी, बाफल, बालाजुलगायत क्षेत्रको सडक सफाइ गर्दै आइरहेको हजुरलाई नमस्ते ट्रेडलिंकका अध्यक्षसमेत रहेका कुँवरले बताए । 

फोहोरको समस्या समाधान भइसक्यो
 नवीन मानन्धर, प्रवक्ता, काठमाडौं महानगर

अब फोहोरको समस्या समाधान भइसक्योे । हामीले फोहोर व्यवस्थापन गरिसकेका छौँ । अब स्थानीयले पनि अवरोध गर्दैनन् भन्ने हामीले बुझेका छौँ । अहिले सबैजसो सडकको फोहोर उठिसकेको छ । यदि कहीँ फोहोर देखे हामीलाई जानकारी गराउनुहोला ।