१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o८:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पहिलो खेलमा केन्याविरुद्ध सहज जित

केन्याले प्रस्तुत गरेको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:o१:oo

सोमपाल कामी र आदिल अलामको उत्कृष्ट बलिङका कारण केन्यालाई पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले पाँच विकेटले हराएको छ । भिसा समस्याका कारण ढिला गरी केन्या पुगेका उनीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् । नैरोबीस्थित जिमखानामा बिहीबार दिउँसो भएको खेलमा नेपालले पाँच टी–२० शृंखलामा १–० को अग्रता बनाएको हो ।
केन्याले प्रस्तुत गरेको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । २४ बलको सामना गरेका दीपेन्द्रले एक चौका र दुई छक्का प्रहार गरे । यस्तै, आरिफ शेखले अविजित २४ रन बनाए । १५ बलमा आरिफले ३ चौका र एक छक्का प्रहार गरे । 

राष्ट्रिय टोलीमा पुनरागमन गरेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ३० बलमा तीन चौकासहित २३ रनको योगदान गरे । उनी पाँच महिनापछि टिममा कमब्याक गरेका हुन् । नेपालका लागि आसिफ शेखले १९, उपकप्तान रोहित पौडेलले १३ रन बनाउँदा आदिल आलम दुई रनमा अविजित रहे भने ओपनर पवन सराफले एक रन मात्रै जोडे । चार रनमै पवनलाई पहिलो विकेटको रूपमा गुमाएको नेपालले आसिफलाई ४९ रन बनाउँदा गुमायो ।

७० रन बनाउँदा ज्ञानेन्द्रलाई तेस्रो विकेटको रूपमा गुमाएको नेपालले ८५ रन बनाउँदा रोहितलाई गुमायो । यसपछि दीपेन्द्रले नेपाली ब्याटिङ लाइन सम्हालेका थिए । शृंखलामा पहिलो जित दिलाउन दीपेन्द्र र आसिफले ४५ रनको पार्टनरसिप गरे । केन्याका विराज पटेल र लुकास ओलुओचले समान दुई विकेट लिए । विराजले ४ ओभरमा १९ रन र लुकासले ४ ओभरमा २० रन खर्चिए । यस्तै, नेहमिआ ओधिआम्बोले एक विकेट हात पारे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनको मध्यम स्कोर बनायो । विकेटकिपर तथा ब्याटर इरफान करिमले सर्वाधिक ३४ रन बनाए । इरफानले ४४ बलमा ३ चौका हिर्काएका थिए । लुकास अलुओच १३ बलमा ५ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे । यसबाहेक नेल्सन ओधिआम्बोले १९, सचिन भुडियाले १७ र कोलिन्स ओबुयाले १३ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 


नेपालका तीव्र गतिका बलर सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । ४ ओभर बलिङ गरेका सोमपालले २२ रन खर्चिए । सोमपालले दोस्रो ओभरको पाँचौँ बलमा ओपनर एलेक्स ओबान्डालाई ६ रनमा बोल्डआउट गरेपछि केन्याको ब्याटिङ लाइन धर्मराएको थियो । यस्तै, नेपालका लागि कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । उनले ४ ओभरमा ३३ रन खर्चिए । यस्तै, दीपेन्द्र र आदिलले समान एक–एक विकेट लिए । सोमपाल र आदिल बिहीबार बिहान मात्रै टिमसँग जोडिएका थिए । दुवै खेलाडी विनाअभ्यास मैदानमा उत्रिएका थिए । पाँच टी–२० शृंखलाको दोस्रो खेल आज (शुक्रबार) हुनेछ ।

ad
ad