
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि ८७ दल दर्ताको निर्णय गरेको छ । आयोगले ७५ दललाई एकल निर्वाचनमा सहभागी हुन र १२ दललाई चार चिह्नबाट संयुक्त निर्वाचनमा सहभागी हुने गरी मान्यता दिएको हो ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगमा आएका निवेदनमाथि छानबिन गरी दल दर्ताको निर्णय गरेको हो । दर्ताका लागि निवेदन दिएका ८० दल र एकै चुनाव चिह्नबाट लड्न चार संयुक्त निवेदन गरी ८४ वटै दल दर्ताका लागि निवेदन दर्ता भएका थिए ।
‘निर्वाचन प्रयोजनका लागि ८४ निवेदन परेकोमा चुनाव चिह्नका आधारमा ७९ दल, संख्याका आधारमा ८७ दललाई निर्वाचनमा सहभागी हुन मान्यता दिइएको छ,’ सहप्रवक्ता अर्यालले भने ।
सूर्यप्रसाद अर्याल, सहप्रवक्ता निर्वाचन आयोग
८० दलले छुट्टाछुट्टै र चार दलले एकै चुनाव चिह्नबाट लड्ने गरी दल दर्ताका लागि ८४ वटा निवेदन परेका थिए । आवश्यक छानबिनपछि ७५ दललाई एकल र १२ लाई संयुक्त चिह्नमा निर्वाचन लड्ने मान्यता दिइएको छ ।
त्यस्तै, आयोगले नेपाल समाजवादी पार्टी, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, माओवादी केन्द्र र नेकपा समाजवादी गरी पाँच दलले एकल रूपमा समेत दल दर्ताको निवेदन दिएकोमा छुट्टै दलका रूपमा दर्ता नगर्ने निर्णयसमेत गरेको छ ।
आयोगले संघीय एवं प्रदेश निर्वाचनमा भाग लिन २२ देखि ३१ साउनसम्म दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यस्तै, आयोगले दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने दललाई समेत दर्ताको आह्वान गरेको थियो ।
०७४ को प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि ९५ राजनीतिक दल दर्ताको निवेदन दिएका थिए । आयोगबाट ९१ राजनीतिक दल दर्ता भएका थिए । त्यस्तै, समानुपातिकतर्फ ५५ राजनीतिक दलले निवेदन पेस गरेकोमा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको ४९ दलले मात्र उम्मेदवारको बन्दसूची पेस गरेका थिए । हाल संसद्मा प्रतिनिधित्व गर्नेमा प्र्रत्यक्षतर्फबाट नौ दल र एक स्वतन्त्र सांसद रहेका छन् ।
त्यस्तै, समानुपातिकतर्फ पाँच दलको प्रतिनिधित्व रहेको छ । गत वैशाखमा भएको स्थानीय निर्वाचन प्रयोजनका लागि ७९ दल दर्ता भएका थिए । त्यसमध्ये निर्वाचनमा भाग लिएका दल ६५ थिए भने हाल स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलको संख्या २४ छ ।
कुन चिह्नमा को लड्दै
नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्नबाट नेपाल समाजवादी पार्टी, नेपाल आमा पार्टीको निर्वाचन चिह्नमा नेपाल नौलो जनवादी पार्टी र सचेत नेपाली पार्टी, नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादीको चिह्नबाट समाजवादी केन्द्र नेपाल र आधुनिक नेपाल समाजवादी पार्टी, सामाजिक एकता पार्टीको चिह्नबाट नेकपा (समाजवादी) र नेपाल दलित पार्टी लड्दैछन् ।
उनीहरूले एकै चुनाव चिह्नबाट लड्न संयुक्त निवेदन दिएका थिए । ०७४ को निर्वाचनमा समाजवादी जनता पार्टी र जागरण पार्टी नेपालले नेकपा (माओवादी केन्द्र) को निर्वाचन चिह्न, राष्ट्रिय नागरिक पार्टीले राष्ट्रिय शिव सेना पार्टीको निर्वाचन चिह्न र पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीले आधुनिक नेपाल पार्टीको चिह्नबाट निर्वाचनमा भाग लिएका थिए ।
प्रदेशमा कति दल लड्दै ?
प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा ६२ वटा दलका निर्वाचन चिह्नबाट ७० दल, मधेस प्रदेशमा ६७ वटा दलका निर्वाचन चिह्नबाट ७५ दललाई आयोगले मान्यता दिएको छ । बागमती प्रदेशमा ६४ निर्वाचन चिह्नबाट ७२, गण्डकी प्रदेशमा ५८ निर्वाचन चिह्नबाट ६६, लुम्बिनी प्रदेशमा ६० निर्वाचन चिह्बाट ६८, कर्णाली प्रदेशमा ५६ दल निर्वाचन चिह्नबाट ६४ दल र सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिह्नबाट ६४ दललाई निर्वाचनमा सहभागी हुन मान्यता दिइएको आयोगले जनाएको छ । आयोगले दर्ताको आधारमा निर्वाचनमा मतपत्रमा समावेश हुने निर्वाचन चिह्न राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।