१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १o:१२:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

समुद्रबाट पानी तानेर  सुक्दै गरेको ताल भर्दै इजरायल

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:१२:oo

नाममा समुद्र जोडिएको भए पनि सी अफ ग्यालिली वास्तवमा एक ताजा पानीको ताल हो । र, शताब्दीऔँदेखि यसले जैविक पर्यावरण धानिरहेको छ । आज पनि यो तालको पानी वरपरका स्थानीय खेतको सिँचाइमा प्रयोग गरिन्छ । यो ताल वरपर अवस्थित ऐतिहासिक अवशेष, तातो मुहान र हाइकिङ मार्गका कारण कैयौँ पर्यटक यहाँ आउँछन्, जसले स्थानीयको जनजीवन सहज बनाएको छ । 

न्यु टेस्टामेन्टमा जिससले कैयौँ चमत्कार गरेको भनी उल्लेख यो क्षेत्र धार्मिक तीर्थस्थल पनि हो । तर, यस क्षेत्रमा जलवायु संकटको प्रभाव देखिन थालेको छ । यसले तालको पानीको सतहमा ठूलो उतारचढाव भइरहेको छ । पाँच वर्षअघि यसको पानीको सतह हालसम्मकै न्यूनस्तरमा पुगेको थियो । 

जलवायु परिवर्तन र पानीको जथाभावी प्रयोगले मध्यपूर्वका मात्र होइन, विश्वभरकै ताल सुक्न थालेका छन् । यसैबीच, इजरायली सरकारले सुक्दै गएको यस ताललाई पुनः भरण गर्ने विशेष अभियान नै चलाएको छ । ऊ आफूले सुरु गरेको अभियानले आशावादी परिणाम दिनेमा ढुक्क छ । 

इजरायलले नजिकैको भूमध्यसागरबाट पानी तान्ने, समुद्री पानीमा रहेको नुन छानेर निकाल्ने र त्यसलाई देशभित्र पठाएर आवश्यक परेको समयमा तालको सतह बढाउने योजना बनाएको छ । सी अफ ग्यालिलीले कुनै समय लगभग सम्पूर्ण इजरायली नागरिकको पिउने पानीको आवश्यकता धान्थ्यो । तर, अब यही ताललाई नै पानी चाहिने भएको छ । 

सी अफ ग्यालिलीले कुनै समय लगभग सम्पूर्ण इजरायली नागरिकको पिउने पानीको आवश्यकता धान्थ्यो । तर, अब यही ताललाई नै पानी चाहिने भएको छ ।

इजरायल ‘डिसेलिनेसन’ प्रविधिमा अग्रणी मानिन्छ । पानीको न्यून उपलब्धताका कारण यस राष्ट्रले विगत दुई दशकभन्दा बढी समयदेखि भूमध्यसागरबाट समुद्री पानीलाई शुद्ध बनाउँदै प्रयोग गरिरहेको छ । रिभर्स ओस्मोसिस भनिने प्रक्रियामार्फत समुद्री पानीमा रहेको नुन निकालेर पिउनयोग्य बनाउने गरेको छ । खडेरीको समयमा विश्वका अन्य विकसित ठाउँमा पनि यो प्रक्रिया अपनाइन्छ । तर, इजरायलले भने खडेरी मात्र होइन, अन्य समयमा पनि यसको प्रयोग गर्छ । अर्थात् उसका लागि समुद्री पानीको नुन निकालेर उपयोग गर्नु दैनिक वास्तविकता हो । उसका तटीय क्षेत्रमा रहेका पाँचवटा डिसेलिनेसन प्लान्टहरूले अहिले देशका ९२ लाख मानिसको पानीको आवश्यकता पूरा गरिरहेका छन् । 

यी डिसेलिनेसन प्लान्टको एउटा समस्या के छ भने यो खनिज इन्धन मानिने प्राकृतिक ग्यासबाट चल्छ । खनिज इन्धन अहिलेको बढ्दो जलवायु संकटका लागि जिम्मेवार मानिन्छ । यही संकटले तालहरूको पानीको स्तर घटाउने गरी मौसमलाई विषम बनाइरहेका छ । तर, बिस्तारै विद्युतीय ग्रिडहरू स्वच्छ ऊर्जाका स्रोततर्फ बदलिरहँदा डिसेलिनेसन थप आकर्षक हुन सक्छ । 

ताल भर्ने नयाँ परियोजना ठूलो छैन । अहिले खाली १.६ मिटर चौंडा पानीको पाइप ३१ किलोमिटर मात्र बिछ्याइसकिएको छ । तर, यो प्रारम्भिक चरणमै छ । यसले समुद्री पानीबाट नुन हटाएपछि बाँकी रहेको पानी तालमा पठाउनेछ । यस परियोजनाबारे पहिलोपटक सुन्दा इजरायलको राष्ट्रिय पानी कम्पनी मेकोरोटका प्रमुख इन्जिनियर नोआम बेन सोयालाई यो अनौठो विचार लागेको थियो । तर, चाँडै, हामीले राष्ट्रिय बजारमा यसको मूल्य बुझ्यौँ,’ सोया भन्छन् । 

सी अफ ग्यालिलीले इजरायलको बृहत् क्षेत्रमा कृषिको विकासमा सघाउनुका अतिरिक्त छिमेकी जोर्डनसँगको सम्बन्धलाई पनि सहयोग पुर्‍याउँछ । इजरायलले जोर्डनलाई बर्सेनि दसौँ लाख घनमिटर पानी बेच्ने सम्झौता गरेको छ । सन् २०२१ मा, दुई देशले नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्, जसअनुसार जोर्डनले इजरायलबाट वर्षमा २० करोड घनमिटर डिसेलिनेटेड पानी प्राप्त गर्नेछ । त्यसले जोर्डनको पानीको आवश्यकताको २० प्रतिशत पूरा गर्नेछ । त्यसको बदलामा जोर्डनले इजरायलको विद्युतीय ग्रिडलाई सौर्य ऊर्जा दिनेछ । इमिराटी कम्पनीहरूले जोर्डनमा ६ सय सौर्य ऊर्जा उत्पादन केन्द्र बनाउने तय भएको छ ।

इजरायलले समुद्रको पानीबाट नुन छुट्याएर अहिले देशका ९२ लाख मानिसको पिउने पानीको आवश्यकता पूरा गरिरहेको छ

केही महिनाभित्रै इजरायलले २६.४ करोड डलरको पाइपलाइन बनाइसक्ने अपेक्षा गरिएको छ । यसले प्रतिवर्ष १२ करोड घनमिटर पानी बोक्नेछ । तर, तालमा भने आवश्यक पर्दा मात्र पानी पठाइने बेन सोया बताउँछन् । ‘यस परियोजनाको विशिष्टता नै यो हो कि यसले हामीलाई पानी जति भने पनि दिन्छ । हामी जहाँ पानी छ, त्यहाँ गएर त्यसलाई जहाँ आवश्यक छ, त्यहाँ फर्काउन सक्छौँ । जनसंख्या केन्द्रमा आवश्यक हुँदा त्यहाँ, कृषि वा औद्योगिक प्रयोगका लागि आवश्यक भए त्यतै लगिनेछ,’ सोयाले भने । 

संकट आउनुअघि नै तयार रहने प्रयास
इजरायलले सन् २०१९ अघि पाँच वर्ष लामो खडेरी सामना गरेको थियो । त्यसले मुलुकलाई संकटको गाम्भीर्य महसुस गरायो । सरकारले तालबाट पानी निकाल्न प्रतिबन्ध गर्दा पनि यहाँ पानीको स्तर कीर्तिमानीस्तरले तल झर्‍यो । त्यसमाथि बढ्दै गएको जलवायु संकटले निम्त्याउन सक्ने संकटलाई मध्यनजर गर्दै जल प्राधिकरणले केही न केही गर्नुपर्ने आवश्यकताबोध गर्‍यो । 

‘उनीहरूले भविष्यको जलवायु परिवर्तनको असर मूल्यांकन गरे अनि यस क्षेत्रमा हुन सक्ने वर्षा, जनसंख्याको वृद्धि र त्योसँगै बढ्ने पानीको मागको पनि प्रक्षेपण गरे,’ किनरेट लिम्नोलोजिक ल्याबरोटोरीका प्रमुख तथा शीर्ष वैज्ञानिक गिदोन गल भन्छन् । प्रक्षेपणका क्रममा उनीहरूले आगामी ३०, ४० वर्षमा तालको पानीको स्तर कायम राख्न कठिन हुने देखे । उनीहरूलाई केही न केही हस्तक्षेप गर्नुपर्ने आवश्यकताको महसुस भयो । तर, जे गरिँदै थियो, त्यो पहिले कहिल्यै पनि प्रयोग गरिएको थिएन । त्यसैले वैज्ञानिकलाई नुन हटाइएकै भए पनि समुद्रको पानीले स्वच्छ पानी रहेको तालका जीवनलाई असर गर्ने हो कि भनेर चिन्तित बनाएको थियो । ‘स्वच्छ पानीको एकाइमा डिसेलिनेटेड पानी मिसाउँदा नुन नआए पनि अन्य कुरा आउन सक्छन्, जसले तालको जैविक विविधतालाई असर गर्ने सम्भावना हुन्छ,’ गल भन्छन् । तर, हालसम्मको प्रयोगमा नुन हटाइएको समुद्री पानीले तालको जीवनलाई त्यति ठूलो प्रभाव पारेको पाइएको छैन । 

तालमा पानीको परिमाण बढ्दा जलवायु परिवर्तनको प्रभाव कम हुने आकलन गर्न थालिएको छ । पानीको परिमाण बढेपछि तालमा ब्याक्टेरियाको वृद्धि रोकिन र पानीको तापक्रम ठन्डा रहन मद्दत पुग्ने बताइएको छ । ‘जलवायु परिवर्तनका असर र त्यसले तालमा पुर्‍याउने असरबारे हामीलाई जे थाहा छ, त्यसका आधारमा हामीले तालमा डिसेलिनेटेड पानी हाल्नु जोखिम भए पनि यो उठाउनु नै पर्ने जोखिम हो ।’

(एजेन्सी)
 

ad
ad