१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ भदौ ३ शुक्रबार ०६:२८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कुन–कुन क्षेत्रमा छ माधव नेपालको दाबी?

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ भदौ ३ शुक्रबार ०६:२८:००

पाँचदलीय गठबन्धनको तालमेलमा ४० सिटमा अडान राख्ने र २५ सिटलाई बटमलाइन बनाउने संसद्को चौथो शक्ति एकीकृत समाजवादीको रणनीति, तर गठबन्धनले १० दिन बित्दा पनि सिट बाँडफाँडको मापदण्ड बनाउन सकेको छैन

पाँचदलीय गठबन्धनमा तालमेल गरेर जाने निर्णय गरेको एकीकृत समाजवादीले प्रतिनिधिसभामा ४० सिटमा दाबी गर्ने र २५ सिटलाई ‘बटमलाइन’ बनाउने रणनीति लिएको छ । सातै प्रदेशमा आफ्नो जनाधार भएका ठाउँ हेरेर उसले तालमेलमा २५ देखि ४० सिटमा नजर लगाएको हो । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र छन् । 

अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहित ०७४ मा प्रत्यक्षतर्फका निर्वाचित अधिकांश सांसद, पार्टी पदाधिकारी र जनाधार रहेका जिल्लाका सिटमा दाबी गर्ने रणनीति एकीकृत समाजवादीको छ । पाँचदलीय कार्यदलले सिट बाँडफाँडको आधार र मापदण्ड अझै टुंग्याउन सकेको छैन । 

गठबन्धनभित्र शीर्ष नेताको व्यवस्थापनमा सहमति छ । तर, दलहरूले औपचारिक रूपमा आफ्नो दाबी अझै पेस गरेका छैनन् । गठबन्धनको सिट बाँडफाँडको आधार र संख्यासम्बन्धी प्रस्ताव बनाउने जिम्मा पाएको ११ सदस्यीय कार्यदलमा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव डा. बेदुराम भुसाल सदस्य छन् । 

२५ देखि ४० सिटमा नजर लगाएको एकीकृत समाजवादीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छान्न मापदण्ड र प्रक्रियासमेत टुंगो लगाइसकेको छ । प्रतिनिधिसभा र प्रदेश सभा क्षेत्रीय कमिटीले मापदण्डका आधारमा एक महिलासहित चार–चारजना उम्मेदवारको नाम जिल्लामा सिफारिस गर्नेछन् । जिल्लाले चारमध्ये तीनजनाको नाम छनोट गरेर प्रदेशमा पठाउनेछ ।

प्रदेशले उम्मेदवारको सबल र दुर्लभ पक्ष हेरेर रायसहित केन्द्रमा तीनजना उम्मेदवारको नाम पठाउनेछ । प्रदेशले पठाएकामध्येबाट सबैभन्दा उपयुक्त उम्मेदवार केन्द्रले छनोट गरेर प्रतिनिधिसभा वा प्रदेश सभाको टिकट दिने उपमहासचिव एवं केन्द्रीय कार्यालय सचिव डा. गंगालाल तुलाधरले जानकारी दिए । सम्बन्धित प्रदेश कमिटीले १५ भदौभित्र सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्नुपर्नेछ । २० भदौमा केन्द्रीय कमिटीले निर्णय गरिसक्ने उनले बताए ।

उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट गर्ने तथा कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानबिन गरी पैmसला गर्ने एकीकृत समाजवादीले उम्मेदवार चयनको प्रक्रिया तय गरेको छ । अर्कोतर्फ केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भइआएका र केन्द्रको अभिलेखमा रहेका नामबाट छनोट गरी समानुपातिकको बन्दसूची तयार गर्ने एकीकृत समाजवादीको निर्णय छ । 

तयारी त १६५ क्षेत्रमै गरिरहेका छौँ : जयन्ती राई उपाध्यक्ष, एकीकृत समाजवादी
मुख्य त गठबन्धनमा जित सुनिश्चित हुने गरी सिट लिने हो । पार्टीको शक्ति, विगतमा एमालेबाट जितेको क्षेत्र र स्थानीय तह निर्वाचनको परिणामका आधारमा हाम्रो सिट दाबी रहन्छ । कम्तीमा ४० सिटमा हाम्रो दाबी रहनु स्वाभाविक हो । हामी तयारी त एक सय ६५ वटै निर्वाचन क्षेत्रमा गरिरहेका छौँ । क्षेत्रीय कमिटीले एक महिलासहित चारजनाको नाम सिफारिस गरेर पठाउनेछ । त्यसैको आधारमा गठबन्धनमा हुने सहमतिअनुसार उम्मेदवार उठाउँछौँ ।

उम्मेदवार छनोटका यस्ता छन् ८ मापदण्ड
एकीकृत समाजवादीले उम्मेदवारका आठ मापदण्ड बनाएको छ । पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाति, कार्यक्षमता राम्रो भएको तथा सक्रिय र समावेशीताको सिद्धान्तविपरीत नहुने गरी उम्मेदवारको नाम सिफारिस हुनुपर्ने एकीकृत समाजवादीको मापदण्डमा छ । 

एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ । यस्तो समितिले दुई पार्टीबीचको एकता र सिंगो नेपाली कम्युनिस्ट आन्दोलनको एकताका सम्बन्धमा छलफल, बहसलगायत कार्य गरी एकताको वातावरण निर्माण गर्ने महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । 

काठमाडौं छोडेर माधव नेपालको गृहजिल्ला रौतहटबाट दाबी
आगामी निर्वाचनमा अध्यक्ष माधवकुमार नेपालले गृहजिल्ला रौतहटबाट उठ्ने तयारी गरेका छन् । उनी ०७४ मा  काठमाडौं–२ बाट निर्वाचित भएका थिए । यसपटक रौतहट–१ बाट नेता नेपालले चुनावी तयारी गरिरहेका छन् । काठमाडौं र रौतहटबाट निर्वाचन उठ्दै आएका नेपाल नयाँ संविधान बनेपछि एउटा मात्र क्षेत्रबाट उम्मेदवार हुन पाउने व्यवस्थाका कारण ०७४ मा काठमाडौं–२ बाट उम्मेदवार बनेका थिए । गएको स्थानीय निर्वाचनमा उनको क्षेत्रमा पर्ने गौर र राजदेवी नगरपालिका एकीकृत समाजवादीले जितेको छ । कार्यकर्ताले पनि रौतहटबाटै उम्मेदवार बन्न नेता नेपाललाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

स्वास्थ्य राज्यमन्त्री केसीको क्षेत्रमा समाजवादीले दाबी नगर्ने
स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको क्षेत्र दाङ–३ मा एकीकृत समाजवादीले दाबी गरेको छैन । दाङ–१ बाट सहरी विकासमन्त्री मेटमणि चौधरी दाबेदार छन् । पाँचदलीय गठबन्धनमा एउटै जिल्लाबाट दुई क्षेत्र पाउने सम्भावना नभएकाले केसीको क्षेत्रमा दाबी नगरिएको एक नेताले बताए । ०७४ को निर्वाचनमा केसी यही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए । आगामी निर्वाचनमा उनलाई प्रदेश सभा वा समानुपातिकको उम्मेदवार बनाउन सकिने ती नेताको भनाइ छ ।