मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
माइतीघर मण्डलमा धर्ना दिँदै पीडित । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
टेकराज थामी काठमाडाैं
२०७९ श्रावण ३० सोमबार ०६:३०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

५५ साहुकारले चार करोड ऋणको १० करोड असुलिसके, थप ११ करोड तिर्न धम्क्याउँदै

नवलपरासीका १०९ पीडितले लिएको ऋण, साहुकारलाई बुझाएको र थप मागिएको रकम, बन्धकी वा राजीनामा पास गरेको जग्गालगायतको विवरण सिआइबीलाई बुझाए

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ श्रावण ३० सोमबार ०६:३०:००

नवलपरासीका ५५ मिटरब्याजी साहुकारले एक सय नौ सर्वसाधारणलाई विभिन्न समयमा तीन करोड ७० लाख ऋण दिएर करिब सवा १० करोड असुलिसकेका छन् । अझै ११ करोड तिर्न पीडितहरूलाई धम्क्याइरहेका छन् । न्यायका लागि आन्दोलनरत पीडितहरूले आफूहरूले लिएको ऋण, अहिलेसम्म साहुकारलाई बुझाएको र थप मागिएको रकम, बन्धकी वा राजीनामा पास गरेको जग्गालगायतको विवरण आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई बुझाएका छन्, जसमा नवलपरासीको सुस्ता, प्रतापपुर, सरावल, रामनगर र बर्दघाट क्षेत्रका एक सय नौजना पीडितको विवरण छ । 

नयाँ पत्रिकालाई प्राप्त प्रहरीमा बुझाइएको विवरणअनुसार पीडितहरूले ५५ साहुकारसँग विभिन्न मितिमा तीन करोड ७० लाख दुई हजार रुपैयाँ ऋण लिएका थिए । त्यसका लागि अधिकांशले आफ्नो जमिन साहुकारका नाममा दृष्टिबन्धक गरेका थिए । अहिलेसम्म साहुकारहरूले उनीहरूबाट १० करोड १५ लाख १६ हजार तीन सय उठाइसकेका छन् । तैपनि दृष्टिबन्धकमा राखिएको जग्गा कसैको पनि फिर्ता भएन । बरु, साहुकारहरूले अझै १० करोड ८१ लाख ६१ हजार ६ सय ८४ रुपैयाँ तिर्न बाँकी रहेको भन्दै धम्क्याइरहेका छन् । 

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष रामसुरत तेली गुप्ताका अनुसार सिआइबीमा बुझाइएको पीडितहरूको संख्या पूर्ण होइन, सम्पर्कमा आएका पीडितहरूको विवरण मात्रै पठाइएको हो । नवलपरासीमा मात्रै साहुकारबाट पीडितको संख्या अझ धेरै हुन सक्ने उनले बताए । ‘हाम्रो सम्पर्कमा रहेका पीडितको विवरण आज (आइतबार) सिआइबीमा बुझाएका छौँ । उहाँहरूले भनेअनुसार नै हामीले सबै विवरण पेस गरेका छौँ । पीडितहरूको संख्या भने अझ धेरै हुन सक्छ, किनकि नवलपरासीमा पीडित धेरै छन्,’ उनले भने । 

पीडितहरूको समस्या समाधान गर्न सरकारले गठन गरेको कार्यदलका सदस्य तथा सिआइबीका एसएसपी दिनेश आचार्यले मिटरब्याजपीडितको विवरण आएको बताए । ‘मिटरब्याजबाट पीडितले आइतबार हामीकहाँ विवरण पेस गरेका छन् । अब अध्ययन गर्छौँ । मुद्दा चल्न सक्ने–नसक्ने विषयमा छलफल हुन्छ । त्यसपछि कसरी अघि बढ्ने भन्ने टुंगोमा पुगिएला,’ उनले भने, ‘यस्ता विवरण अन्यत्रका पीडितबाट पनि संकलन गरिन्छन् ।’


 संघर्ष समितिका अध्यक्ष रामसुरत तेली गुप्ता भन्छन् ‘हाम्रो सम्पर्कमा रहेका पीडितको विवरण सिआइबीमा बुझाएका छौँ । उहाँहरूले भनेअनुसार नै हामीले सबै विवरण पेस गरेका छौँ । पीडितहरूको संख्या भने अझ धेरै हुन सक्छ, किनकि नवलपरासीमा पीडित धेरै छन् । ’

सिआइबीमा पेस गरिएको विवरणअनुसार सबैभन्दा धेरै ऋण नवलपरासीको प्रतापपुर गाउँपालिका– ९ का खुँखार साहुकार ५५ वर्षीय जगदीश बानियाँले प्रवाह गरेका छन् । उनले २७ जनालाई विभिन्न मितिमा ८७ लाख सात हजार ऋण लगाएका थिए । उनले अहिलेसम्मले ऋणीहरूबाट तीन करोड २० लाख १३ हजार आठ सय असुलिसकेका छन् । तर, दृष्टिबन्धक राखेको कसैको जमिन पनि फिर्ता गरेका छैनन् । उल्टै दुई करोड २६ लाख ५० हजार तिर्न बाँकी छ भन्दै ऋणीहरूलाई धम्क्याउँदै मागिरहेका छन् । 

त्यस्तै, धेरै ऋण प्रवाह गर्ने अर्का साहुकार जगदीशकै भाइ सुजित बानियाँ हुन् । उनले विभिन्न मितिमा १० स्थानीयलाई २३ लाख २० हजार ऋण दिएका थिए । त्यसको ७२ लाख असुल गरिसकेका छन् । तैपनि थप २८ लाख ५३ हजार तिर्न भन्दै ऋणीहरूलाई ताकेता गरिरहेका छन् । दृष्टिबन्धकमा राखेको जग्गा पनि फिर्ता गरेका छैनन् । 

नवलपरासीका स्थानीयलाई मिटरब्याजको पासोमा पारेर उठीबास लगाउने अर्का साहुकार हुन्, प्रतापपुर– ९ कै सुनील बानियाँ । उनले पनि विभिन्न मितिमा आठ स्थानीयको जग्गा दृष्टिबन्धकमा राखेर १८ लाख ५० हजार ऋण लगाएका थिए । ऋणीहरूबाट अहिलेसम्म ९० लाख ६५ हजार उठाइसकेका छन् । अझै थप चार लाख ९३ हजार मागिरहेका छन् । दृष्टिबन्धकमा लिएको जग्गा उनले पनि फिर्ता गरेका छैनन् । 

 सिआइबीका एसएसपी  दिनेश आचार्य भन्छन् ‘मिटरब्याजबाट पीडितले विवरण पेस गरेका छन् । अब अध्ययन गर्छौँ । मुद्दा चल्न सक्ने–नसक्ने विषयमा छलफल हुन्छ । त्यसपछि कसरी अघि बढ्ने भन्ने टुंगोमा पुगिएला । यस्ता विवरण अन्यत्रका पीडितबाट पनि संकलन गरिन्छन् ।’

नवलपरासीकै साहुकार सुनील शर्माले तीन स्थानीयलाई २१ लाख १० हजार ऋण दिएर २१ लाख ८५ हजार असुल गरिसकेका छन् । अझै तिर्न बाँकी एक करोड ११ लाख छ भन्दै पीडितलाई धम्क्याइरहेका छन् । दृष्टिबन्धकमा लिएको जग्गा पनि फिर्ता गरेका छैनन् । 

खुँखार साहुकार जगदीशका  चारै भाइ मिटरब्याजको धन्दामा
मिटरब्याजको पासोमा पारेर प्रतापपुर र सुस्ताका दर्जनौँ विपन्नको उठीबास लगाउने खुँखार साहुकार जगदीश बानियाँका तीन भाइले पनि यही धन्दा चलाएका थिए । जगदीश र उनका भाइहरू सरेश, सुजित र सुनीलले मात्रै गाउँमा पाँच सयभन्दा धेरैलाई उठीबास लगाएका छन् । त्यही धन्दाबाट जोडेको धनले उनीहरू अर्बपति बनेका छन् । 

पीडितहरूका अनुसार विगतमा जगदीश र उनका भाइहरू गाउँमै ढुंगा र बालुवाको काम गर्थे । प्रगति नभएपछि उनीहरू अमेरिका जाने डिभी (डाइभर्सिटी भिसा) भर्ने पेसा गर्न थाले । केही रकम जम्मा गरे । र, त्यो रकम मिटरब्याजमा लगाउन थाले । जालसाझी गर्दै स्थानीयको जग्गा दृष्टिबन्धकमा लिए । कतिको जग्गा पनि बेचिदिए । यसबाट थप सम्पत्ति जोड्दै गए । अहिले उनीहरूको प्रतापपुरमा स्विमिङ पुलसहितको महल छ । जिल्लामा उनीहरूकै रजगज चल्छ । राजनीतिक दलका स्थानीय नेता उनीहरूकै प्रभावमा चल्छन् । सिडिओदेखि प्रहरीका हाकिमसँग बाक्लो उठबस छ । त्यसकै आडमा उनीहरूले विपन्न र निमुखा स्थानीयलाई उठीबास लगाइरहेका छन् ।