Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ श्रावण २५ बुधबार २१:१९:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

नवौँ राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ प्रतियोगिता तोरीपानीबाट हुने  

Read Time : > 2 मिनेट
२०७९ श्रावण २५ बुधबार २१:१९:००

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हुने प्याराग्लाइडिङतर्फको प्रतिस्पर्धा पोखरा–१८ स्थित तोरीपानीमा हुने भएको छ । प्याराग्लाइडिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले सुरक्षासहित अन्य कारणले पोखराभन्दा अन्य स्थानबाट प्रतियोगिता सञ्चालन गर्न नसकिने र गरे बहिष्कार गर्ने चेतावनी दिएपछि प्रतियोगिता पोखरामै सञ्चालन हुने करिब निश्चित भएको छ । 

प्रतियोगिताअन्तर्गत खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक राजेशकुमार गुरुङलाई खेलाडीहरूले बिहीबार भेट गरी प्रतियोगिता पोखरामै गर्नुपर्ने माग राख्दै अन्यथा भए आफूहरूले प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएका थिए । भेटमा गुरुङले प्रतियोगिता सञ्चालनको लागि सुरक्षा पहिलो प्रथामिकतामा रहेकाले खेलाडीहरूले विरोध गरेका स्थानमा खेल सञ्चालन गर्न आफूले सिफारिस नगर्ने भन्दै पोखरा–१८ स्थित तोरीपानीबाट प्रतियोगिता सञ्चालन गर्ने बताएका थिए । 

तोरीपानीबाट प्रतियोगिता सञ्चालन गर्ने गरी तयारी गरेको र यसको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको उनको भनाइ थियो । अबको केही दिनमा प्रतियोगिताअन्तर्गत सञ्चालन गरिने ३६ खेलहरू कहाँ-कहाँ हुने भनी खेल स्थलको टुंगो लगाउनेसमेत उनले बताएका थिए । स्याङजाको स्वरेकमा प्रतियोगिता सञ्चालन गर्ने समाचारहरू बाहिरिएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले प्याराग्लाइडिङका लागि सुरक्षित र प्राविधिक हिसाबले धेरै नेटवर्क भएको स्थान आवश्यक पर्ने र त्यसका लागि पोखरा उपयुक्त रहेको बताएका थिए ।

प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीले स्वरेकमा ठूला-ठूला पहाड र हावाको चाप बढी हुने, नेटवर्कमा समेत समस्या हुने र यदि केही भइहाले उद्धारमा समेत सात आठ घण्टा बढी समय लाग्ने बताए । पोखराको विकल्पमा प्याराग्लाइडिङ प्रतियोगिता अन्य स्थानमा गर्न कठिन हुने उनको भनाइ छ । 

प्याराग्लाइडिङलाई पोखरामै व्यवस्थापन गर्ने उपायबारे खोजी भइरहेको छ : मन्त्री श्रेष्ठ
अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखरामा सञ्चालन भइरहेको प्याराग्लाइडिङ उडान के हुन्छ भन्नेमा अन्योल भइरहेको अवस्थामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्याराग्लाइडिङलाई पोखरामै व्यवस्थापन गर्ने गरी विभिन्न उपायको खोजी भइरहेको बताएका छन् । 

समाजवादी प्रेस संगठन कास्कीले बिहीबार पोखरामा अयोेजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले विमानस्थल सञ्चालनमा अवरोध नुहने गरी प्याराग्लाइडिङलाई सकेसम्म पोखरामै व्यवस्थापन गर्ने गरी विभिन्न माध्यमबाट उपायहरूको खोजी भइरहेको उनको भनाइ थियो । विमानस्थल सञ्चालनका लागि सुरक्षामा कुनै असर नपर्ने गरी प्याराग्लाइडिङलाईलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा सरोकारवालाहरूसँग मन्त्रालयले विभिन्न चरणमा छलफल गरेर उपायहरू खोजी रहेको मन्त्री श्रेष्ठले बताए । पोखरा चिनाउने एउटा ब्रान्ड बनिसकेको प्याराग्लाइडिङलाई पोखरामै राख्नका लागि अन्तिम समयसम्म उपायहरूको खोजी गरिने पनि उनले बताए । 

विमानस्थल निमार्णको काम सुरु भएसँगै निर्माणको अन्तिम तयारीमा आइपुग्दासमेत प्याराग्लाइडिङ उडानबारे सरकारी निकायबाट हालसम्म कुनै निर्णय हुन नसक्दा विगत २८ वर्षदेखि सञ्चालनमा आएको प्याराग्लाइडिङको भविष्यबारे अन्योलता सिर्जना भएको छ । 
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल १७ पुसदेखि सञ्चालन गर्ने तयारी गरिरहँदा प्याराग्लाइडिङ के गर्ने भन्नेमा अझै निर्णय नगरेका कारण के हुन्छ भन्ने अन्योल बढेको हो । 

५९ कम्पनी, सवा अर्ब लगानी, दुई हजारलाई रोजगार                                     
हाल पोखरामा प्याराग्लाइडिङका ५९ कम्पनीहरू रहेका छन् । ती कम्पनीहरूमा सवा अर्बको हाराहारीमा लगानी रहेको हवाई खेलकुद संस्थाका अध्यक्ष सुनीलबहादुर भट्टराईले बताए । प्याराग्लाइडिङ उडानका लागि लाइसेन्स लिएका ३७५ जना पाइलटहरू छन् । अन्य १५० पाइलट गरी पाँच सयको हाराहारीमा पाइलटहरू पोखरामा छन् । प्याराग्लाइडिङ कम्पनीसँगै प्याराग्लाइडिङ फ्लाइङ स्कुल तीन, अल्ट्रालाइट कम्पनी चार र हटएयर बेलुनको एक कम्पनीसमेत पोखरामा सञ्चालनमा छन् ।

प्याराग्लाइडिङ उडानका लागि विश्वका १०औँ उत्कृष्ट गन्तव्यमध्ये पोखरासमेत एक हो । यहाँ  हुने अधिकांश व्यावसायिक उडानहरू पोखरा–१८ स्थित सारङकोट र तोरीपानीबाट हुँदै आएको छ । यसको अलावा केही उडानहरू मान्द्रेढुंगा, अर्मला र ढिकीडाँडाबाट समेत हुने गरेका छन् । उडान भरेर अधिकांश फेवाताल किनारको खपौदी आसपासमा अवतरण गर्ने गरेका छन् ।