निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १४ शुक्रबार
  • Friday, 30 September, 2022
शूरवीर पौड्याल
२०७९ श्रावण २२ आइतबार ०९:४७:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

असारे विकासमाथि प्रश्न

अग्रलेख

Read Time : > 5 मिनेट
शूरवीर पौड्याल
२०७९ श्रावण २२ आइतबार ०९:४७:००

अघिल्ला आठ महिनामा खर्च नभएको पुँजीगत बजेट असारमा आएर अस्वाभाविक रूपमा रातारात खर्च हुनु विकास हो र ?

विकास ख्यालठट्टा वा हँसी–मजाक होइन । हाजिरी गरेर तलब हजम गर्ने र काममा लापरबाही गरी राजस्वको लुट गर्नु पनि होइन विकास । गम्भीर चिन्तन र निरन्तरको सामूहिक प्रयासपछिको प्रतिफल हो विकास । विकास अनुशासन, जिम्मेवारी र दायित्वबोध पनि हो । विकास कसैलाई पाइपबाट आउने खानेपानी हो, कसैलाई सडक, बिजुली बत्ती हो, घरछेउको स्कुल, कलेज हो, अस्पतालको उपचार हो भने धेरैलाई सस्तो बेसाहा पनि विकास हो ।

हातमा काम, दाम, बिहान–बेलुकाको माम, दिउँसोको खाजा, ओत लाग्ने छानो, आङ ढाक्ने लुगा, गुणस्तरीय स्वास्थ्य शिक्षामा पहुँच, प्रत्येक नागरिकलाई आआफ्नो इज्जतआमदअनुसारले शिर ठाडो पारेर समाजमा निर्धक्क हिँड्न सामथ्र्यवान् बनाउनु पनि विकास हो । के हाम्रा दलका नेता–कार्यकर्ताका मति र सरकारी नीति यसतर्फ उन्मुख छन् ? दुःखसाथ भन्नुपर्छ, निश्चय नै छैनन् । 

असारे बजेट 
म जान्नेबुझ्ने भएदेखि नै असारे बजेटको समस्या छ हामीकहाँ । अघिल्ला आठ महिनामा खर्च नभएको पुँजीगत बजेट असारमा आएर अस्वाभाविक रूपमा एक्कासि खर्च भएको महालेखा प्रतिवेदनले देखाउँछ । प्रत्येक वर्षको यसै याममा पुँजीगत खर्चमा वृद्धि देखाउन जथाभावी बजेट खर्च गरिएका खबर आउँछन् । रातारात बजेट हारलहुरल गरेर खर्च गरिएको, राताराता सडक पिच भएको, ती पिच एक साता पनि नटिकेकोजस्ता समाचारले पत्रपत्रिका भरिन्छन् । कसैलाई कारबाही हुँदैन, कोही जिम्मेवारीबाट मुक्त हुँदैन र कसैले यसका लागि जेल जानु पनि पर्दैन ।

अर्को वर्षसम्मका लागि यसमा कसैले चासो राख्दैन, यसमाथि चर्चासम्म हुँदैन, बिस्तारै यी समाचार विनावजनका फगत हल्ला भएर हावामा बिलाउँछन् । यतिका वर्षपछि पनि यसमा सुधार गर्न गम्भीर प्रयास गरिएको छैन । मानौँ, यसमा सुधार कदापि सम्भव छैन । अथवा, सम्भव त छ तर यस्तो सुधारको गम्भीर आवश्यकता महसुस गरिएको छैन । विकास बजेट दुरुपयोग गर्ने र देखाउनका लागि मात्रै बजेट खर्च गर्ने गलत परम्परा छ । यसमा सुधार हुनुपर्छ । सुधार गरिन्छ ।

यस वर्षदेखि सुधार हुन्छ भनेको सुनिएको पनि धेरै भयो । तर, सुधार कहिल्यै हुँदैन । एक त कुल बजेटमा चालू वा सालबसाली बजेटको अंशमा बढोत्तरीले पुँजीगत बजेट वर्षैपिच्छे कटौती हुँदै गएको छ, अर्कातिर विनियोजित सीमित पुँजीगत बजेटको पनि व्यापक दुरुपयोग हुने गरेको छ । पुँजीगत खर्चमा वृद्धि भएमा मात्र लगानी बढ्छ । लगानीले विकास ल्याउँछ । तर, हाम्रो मति उल्टो छ । उपभोग र तलबभत्तामा बढी खर्च गर्छौं । नयाँ–नयाँ मोडेलका कार झिकाउँछौँ । यसमा तत्काल सुधार आवश्यक छ । 

शुद्ध खानेपानी 
राजधानी काठमाडौंलगायत सहरमा खानेपानीका पाइप र ढलका पाइप एउटै खाल्डामा बिछ्याउने गरिन्छ । वर्षौं पुराना जीर्ण ढलका पाइपबाट दिसापिसाब चुहिएर खानेपानीमा मिसिने समस्या निकै पुरानो हो । यस वर्ष त पानीकै कारण हैजा पनि फैलियो राजधानीमा । वर्षाको भल मिसिएर हाम्रा धारामा धमिलो पानीसँगै मलमूत्र पनि आउँछ । खोलाको पानीलाई सोझै धारामा पठाएभन्दा पनि प्रदूषित छ हाम्रो खानेपानी । धाराबाट आएको पानी नउमाली पिउनलायक नै छैन ।

प्रत्येक वर्ष असार लागेपछि पुँजीगत खर्चमा वृद्धि देखाउन जथाभावी बजेट खर्च गर्ने, हारलहुरल गरेर बजेट खर्च गर्ने, राताराता सडक पिच गर्ने, त्यस्तो पिच एक साता पनि नटिक्नेजस्ता ननिका दृश्य जताततै देखिनु देशकै दुर्भाग्य हो 
 

खाना पकाउन इन्धन खरिद गर्न हम्मे पर्नेले पानी केले उमाल्ला ? एक्काइसौँ शताब्दीको नेपालमा खानेपानी वितरण प्रणाली यति धेरै गएगुज्रेको छ । तर, यसमा सुटेडबुटेड सर्वहारावादी नेतादेखि अमेरिकी विश्वविद्यालयका पिएचडी नेता कसैलाई लाजसरम छैन । यसमा सुधार गर्नुपर्छ भन्ने अठोट त के चासो राखेको पनि देखिन्न । मानौँ, यो कुनै समस्या नै होइन । धारामा पानी नआउनु मात्रै समस्या हो यो देशमा, त्यसको गुणस्तर समस्या होइन । 

०७९ को धरान नगरपालिकाको निर्वाचनमा यही गुणस्तरहीन धमिलो पानीसम्म नपाएर काकाकुल भएका जनतासामु पानी ल्याउने वाचा गरेर एकजना सज्जन मेयरमा स्वतन्त्र उमेदवारका रूपमा उठेर चुनिए पनि । दिनरात नभनी आफूसहित जनताको श्रमदानबाट एक–दुई महिनाभित्रै पानी ल्याउन सफल भएकामा उनी अहिले मखलेल भएका होलान् । उनले ठूलो काम गरेका होइनन्, इमानदारीपूर्वक वाचाकबुल पूरा मात्र गरेका हुन् । उनीअघिका मेयरसाबले यति काम गर्ने जाँगर नदेखाएकाले उनको उचाइ अग्लिएको हो ।

लाखौँलाख संगठित सदस्य भएका दलमा कैयौँ वर्ष आबद्ध भएर काम गरेका राजनीतिक कार्यकर्ता वा स्थानीय नेता नै सायद उनी अगाडिका मेयर थिए । अपवादलाई छाडेर सबै पालिका यस्तै पाराले चलेका थिए, अब पनि चल्लान् नै भनूँ । सबैलाई थाहा छ, चुनावमा मनी र मसलको बोलवाल चल्छ । दल भएपछि बल र पद भएपछि पैसा आउँछ । यसो भएर पनि विकास निर्माणका काम भइदिए त हुने नि, हुँदैनन् । यसले हाम्रा ठूला दल र तिनमा आबद्ध नेता–कार्यकर्तामाथि गम्भीर प्रश्न उठाएको छ । हाम्रा राजनीतिक दलका देखाउने दाँत ‘विकास’ भए पनि भित्र अर्कै केही लुकेको त छैन ? देशमा विकासको दूरवस्थाले पनि दलको बल विकासका लागि नभएर अरू नै केका लागि दुरुपयोग भइरहेको छ भनेर सोच्नुपर्ने भएको छ । 

लाखौँलाख कार्यकर्ताले आर्थिक उपार्जनका लागि के काम गर्छन् ? उनीहरूको विकास निर्माणका काममा कहाँ कति योगदान रह्यो होला ? उनीहरूको भड्किलो जीवनशैली र धन सञ्चयको स्रोत के होला ? एउटा व्यक्तिले कुनै दलमा आबद्धता खोज्नुको अन्तर्य के होला ? व्यक्तिगत स्वार्थसिद्धि वा कुनै पदमा पुग्नु र विकासको रकम हिनामिना गरी कमाउनु त होइन ? यस्ता प्रश्न गर्नुपर्ने समय आएको छ । अबको नेपालमा धराने युवा हर्कजस्ता चुनावी वाचाकबुलअनुसार काम गरेर देखाउने जाँगरिला मेयर र जनप्रतिनिधि चुनिनुपर्छ र उनीहरूले खानेपानीलगायत सरकारी र निजी क्षेत्रबाट सबै उत्पादित वस्तु तथा सेवाका गुणस्तरमा पनि ध्यान दिनुपर्छ ।

राज्य सबै वस्तु तथा सेवाको उत्पादक होइन, तर सबै वस्तु तथा सेवाको गुणस्तरको निगरानी राख्ने निकायचाहिँ हो । पालिका भनेको जनताको घरदैलोको सरकार हो । प्रदूषित पानीका कारण लाग्ने झाडापखालालगायत नब्बे प्रतिशत रोगबारे पनि हर्कजस्ता जनप्रतिनिधिले जानकारी राखेर काम गर्नु जरुरी छ । सहरवासीले पानी प्रशोधन गर्दा खर्च गर्नुपर्ने लागत घटाउने वा शून्य पार्नेतिर ध्यान दिनुपर्नेछ । निम्न आय भएका सहरवासीले यस्तो खर्च गर्न सक्दैनन् । अहिलेको महँगीमा त यस्तो खर्च झन् बोझिलो भयो । 

राज्यले नै गुणस्तरहीन खानेपानी आपूर्ति गरिदिँदा सहरवासीको अनावश्यक खर्च हुन्छ । यसबाहेक पनि अनेकौँ बिरामीका कारण कार्यक्षमता र कार्यघण्टामा हुने कमी र औषधोपचारमा अनावश्यक खर्चको बोझ आफ्नो ठाउँमा छँदै छ । जनप्रतिनिधिले जनहितकारी काम गरेमा निर्वाचनमा खर्च नगरेरै पनि भोलिका दिनमा निर्वाचित हुन सक्नेछन् । त्यसका संकेत अहिले देखिएका छन् । 

फोहोर व्यवस्थापन 
फोहोरलाई मोहर बनाउँछु भन्नेलाई किन हो काठमाडौं सहरवासीले पत्याएनन् । उनको बदलामा बरु एकजना अन्जान युवा, त्यो पनि स्वतन्त्र उम्मेदवारलाई काठमाडौंजस्तो महानगरको मेयरमा निर्वाचित गरे । उनीबाट धेरै आशा गरेका पनि छन् काठमाडौँ महानगरवासीले । नेपालका सबै सहरमा फोहोर व्यवस्थापनको समस्या छ । तर, काठमाडौं ठूलो सहर भएकाले पनि होला यहाँ फोहोरको समस्या विकराल छ । विश्वमा काठमाडौंभन्दा निकै ठूला सहर पनि छन् । त्यहाँको फोहोरको सजिलै व्यवस्थापन भएको छ र सहरको सौन्दर्य यथावत् छ । यसबाट देखिन्छ, फोहोर व्यवस्थापनको प्रविधि मानवसँग हुँदै नभएकोचाहिँ होइन, केवल हाम्रा नेतृत्वकर्तासँग जाँगर नभएको मात्रै हो । सहर आफैँमा सभ्यता र विकासको प्रतीक हो । सहर आर्थिक गतिविधिको केन्द्रभाग हो र धेरैको रोजीरोटीको कर्मथलो हो ।

स्वच्छ हावापानी, सफा सडक, चोक, गल्ली, पार्क, मनोरञ्जन स्थल र हरियाली कुनै पनि सहरका सभ्यता र चरित्र हुन् । स्वच्छतामै स्वस्थ जीवन जिउन सम्भव हुन्छ, जुन नगरवासीको अधिकारभित्र पर्छ । त्यसैले, सबै सहरका मेयरसाबहरूले यसतर्फ ध्यान दिनु आवश्यक छ । सहरको विकास आफैँभित्र सीमित हुँदैन । यसको अन्तत्र्रिmया र आर्थिक लेनदेन गाउँघरसँग हुने गर्छ । अर्थतन्त्रको विकासको अत्यन्तै बलशाली पाटो सहरको विकासमा समेटिएको हुन्छ । सहरमा थुप्रै आर्थिक क्रियाकलाप हुन्छन् र टाढाटाढाका गाउँबाट थरीथरीका सपना बोकेर मान्छे सहर पस्छन् । काठमाडौं यस्तैमध्येको सबैभन्दा ठूलो सहर हो । देशको सबैभन्दा ठूलो र विकसित सहर सबैले देख्ने र हेर्ने रहरको सहर हो । धेरैका सपनालाई विपनामा सजाउने आशाको सहर पनि हो । बालेनहरूले यी मान्छेका सपनालाई मिल्काउन कदापि मिल्दैन, किनकि यी पनि यसै देशका नागरिक हुन् र यो सहर उनीहरूको देशको पनि राजधानी हो । काठमाडौंको वैभवमा यी सबैको केही न केही हिस्सा जरुर छ । 

शिक्षा, स्वास्थ्य र रोजगारी 
स्थानीय सरकार आफैँ विकासको संवाहक हुनुपर्छ । चोखो मनले राजनीति गर्नेहरूका लागि स्थानीय तहभन्दा गतिलो निकाय अरू छ भन्ने पंक्तिकारलाई लाग्दैन । आफू हुर्के–बढेको खाइखेलेको गाउँसहरमा राजनीतिमा लागेर सेवा गर्ने सौभाग्य प्राप्त गर्नु भनेको राम्रो काम गरेर पिता पुर्खा र कुलको समेत नाम उँचो राख्ने ठूलो अवसर पनि हो । सहरबजार वा गाउँघरमा विकास निर्माणका कामले रोजगारी सिर्जना गर्छ । कसरी आफ्नो क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन सकिएला चिन्तनमनन गर्नुपर्छ र सम्भावनाको खोज र अनुसन्धान गर्नु आवश्यक छ । विज्ञहरूसँग छलफल अन्तत्र्रिmया र स्थानीय जनताको सहभागितामा विकास कार्यक्रम अगाडि बढाउनुपर्छ । आर्थिक क्रियाकलाप बढ्दै जाँदा नै पालिकाको आयस्रोत बलियो हुन्छ । चोखो मन र इच्छाशक्ति भएको नेतृत्व भए काम गर्दै अगाडि बढ्दा सिक्दै जान सकिन्छ । अरूले गरेको काम, अनुभव र भूलबाट पनि सिक्न सकिन्छ । शिक्षा र स्वास्थ्यमा सुधारले यस पुस्तालाई मात्रै होइन, भावी पुस्तालाई समेत सपार्छ । विकासप्रति जागरण र विकास कार्यमा सहभागिताका लागि पनि गुणस्तरीय शिक्षा जरुरी छ । निजी क्षेत्रमा सञ्चालित शिक्षण संस्थाले गुणस्तरीय शिक्षामा केही मात्रामा भए पनि योगदान दिएका छन् ।

निजी क्षेत्र भन्नु नै मुनाफाका लागि सञ्चालित हुने भएकाले स्वाभाविक रूपमा महँगा हुने नै भए । फलतः यी सबैका पहुँचभित्र पर्दैनन् । यसमा हेर्ने राज्यले हो । सबैलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य प्रदान गर्ने काम राज्यको हो । राजनीतिकर्मीले निजी क्षेत्रका शिक्षा र स्वास्थ्य संस्थामा हिस्सेदार वा सञ्चालक रहेर स्वार्थ बाझिने गल्ती गर्नु हुँदैन । सार्वजनिक रूपमा सञ्चालित विद्यालय, महाविद्यालय र स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय सेवा प्रदान गर्नतिर पालिका प्रमुखहरूको प्रयास हुनुपर्छ । निजी क्षेत्रमा सञ्चालित संस्थाहरूको व्यवस्थापनबाट पनि धेरै कुरा सिक्न र सहयोग प्राप्त गर्न सकिन्छ । सुधारको पहिलो सर्त भनेको सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिको क्रीडास्थल हुनबाट निर्ममतापूर्वक रोक्नुपर्ने हुन्छ । दोस्रो सर्त, राजनीतिकर्मीले कि राजनीति छाड्नुपर्छ कि यी क्षेत्रमा गरेको लगानीबाट हात झिक्नुपर्छ । पालिका प्रमुखहरूको पहलमा ठूला दलका विभिन्न संगठन र तह हुँदै शीर्ष तहका नेताहरूसम्म यस बहसलाई पुर्‍याउन आवश्यक छ । शिक्षा र स्वास्थ्यमा भएको विभेद मात्रले पनि देशमा ठूलो दुर्घटना निम्त्याउनेछ ।