Skip This
रंगशालाको लगानी बालुवामा पानी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण १९ बिहीबार
  • Tuesday, 11 August, 2026
२o७९ श्रावण १९ बिहीबार ११:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रंगशालाको लगानी बालुवामा पानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १९ बिहीबार ११:४८:oo

ताप्लेजुङमा खेलमैदानको अभावमा खेलकुदका गतिविधि ठप्प बनेका छन्। जिल्लामा अहिलेसम्म एउटा पनि खेलकुद मैदान छैन। जिल्ला सदरमुकामदेखि करिब सात किलोमिटर तल फुङलिङ नगरपालिका– २ को तारिबुङमा बन्दै गरेको रंगशालामा करोडौँ रुपैयाँ खर्च भए पनि अहिलेसम्म बन्ने अत्तोपत्तो छैन। रंगशाला बनाउने भनिएको स्थानमा केही माटो फ्याँक्नेबाहेक अन्य कुनै काम अघि बढेको छैन।

रंगशाला निर्माणको काम सुरु भएको चार वर्ष बित्न लागेको छ। करिब तीन करोड रुपैयाँ खर्च भइसकेको छ। रंगशालाको प्रगति भने खासै नदेखिएको स्थानीयवासीको भनाइ छ। ०७६ सालमा प्रदेश सरकारले ६० लाख रुपैयाँ दिएर सुरु भएको सो रंगशालाको सहरी विकास मन्त्रालयले करिब ४० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी डिपिआर बनाएको थियो। तर, सो डिपिआर यहाँका लागि उपयोगी नदेखिएपछि अहिले डिपिआर नै परिवर्तन गर्नुपर्ने भएको फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले बताए। सुरुमा गरिएको डिपिआरमा सबै विषय नसमेटिएकाले पनि पुनरावलोकन गर्नुपर्ने भएको उनको भनाइ छ।

सो रंगशाला बनाउन भनेर ०७७ सालमा ५० लाख र ०७८ सालमा ३५ लाख रुपैयाँ प्रदेशबाट आएको थियो । रंगशालाका लागि १३ रोपनी जग्गा स्थानीयले निःशुल्क प्रदान गरेका थिए भने २२ रोपनी जग्गा ६० लाख रुपैयाँमा खरिद गरिएको थियो। अहिलेसम्म रंगशाला निर्माणका नाममा दुई करोड ९२ लाख रुपैयाँ खर्च भइसके पनि अहिले रंगशाला निर्माण कार्य अलपत्र परेको छ।

एक सय ६० मिटर लम्बाइ तथा एक सय १५ मिटर चौडाइ रहने सो रंगशालाका लागि फुङलिङ नगरपालिकाले भने बजेट छुट्याएको छैन। उता, प्रदेश सरकारले पनि रंगशालाका लागि यस वर्ष बजेट विनियोजन नगरेको नगरपालिकाका प्रवक्ता न्यौपानेले बताए। कतैबाट रकम विनियोजन नभएपछि रंगशालाको काम अलपत्र परेको हो।

खेलमैदानको अभावमा पाथीभरा गोल्डकप हुन सकेन
जिल्लामा सञ्चालन हुँदै आएको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष खेलमैदान अभावका कारण नहुने भएको छ। लाखेजात्राका अवसरमा ०२९ सालदेखि निरन्तर हुँदै आएको प्रतियोगिता यस वर्ष मैदान अभावका कारण नहुने भएको हो।

यसअघि पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण प्रतियोगिता आयोजना भएको थिएन। ‘विगतका दुई वर्ष कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न सकेनौँ । यस वर्ष प्रतियोगिता गर्ने योजना बनाएका थियौँ, तर खेलमैदान अभावका कारण आयोजना गर्न सकिएन,’ लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष नारायण थापाले भने। विगतका वर्षमा प्रतियोगिता सञ्चालन हुँदै आएको भानुजन माध्यमिक विद्यालयको खेलमैदान पनि कम्पाउन्ड वाल लगाउने क्रममा बिग्रिएको छ।