मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १९ बिहीबार ०९:३२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १९ बिहीबार ०९:३२:००

भारतबाट ठूलो अन्तरमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले नेपालमा नघटाउने भएको छ । निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै खरिददर घटे पनि आगामी १५ दिनको वासलात नोक्सानीमा जाने देखिएकाले  मूल्य घटाउन नसक्ने तर्क गरेको हो । पछिल्लो १६ दिनमा दुईपटक गरेर इन्डियन आयल कर्पोरेसन (आइओसी)ले निगमलाई पेट्रोल ३२.५६ रुपैयाँ र डिजेल २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाएर पठाएको छ ।

१ साउनमा पेट्रोल १५.७६ रुपैयाँ र डिजेल १६.५६ रुपैयाँ प्रतिलिटर घटेर आएको थियो । त्यस्तै, १६ साउनमा निगमलाई पठाएको नयाँ खरिददरमा पनि पेट्रोल १६.८० रुपैयाँ र डिजेल १२.४५ रुपैयाँ प्रतिलिटर घटेर आएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ७७ रुपैयाँ घटेर आएको छ ।

ठूलो अन्तरले मूल्य घटेर आएपछि नेपाली बजारमा समायोजन गर्न सर्वसाधारण र विद्यार्थी संगठनले निगमलाई दबाब दिएका छन् । तर, निगमले यसअघि अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार मूल्य समायोजन नगरी चर्को घाटा खेपेको भन्दै अहिले खरिददर घट्दासमेत नोक्सानीमै रहेको जिकिर गरेको हो ।

निगमले विज्ञप्तिमार्फत नयाँ खरिददरपछि पेट्रोलमा प्रतिलिटर २.७८ रुपैयाँ नाफा रहेको जनाएको छ । सबैभन्दा धेरै खपत हुने डिजेलमा प्रतिलिटर ९.३७ रुपैयाँ नोक्सानी छ । पेट्रोलियम पदार्थमध्ये डिजेलको खपत हिस्सा ५९ प्रतिशत छ । त्यस्तै, दोस्रो धेरै खपत हुने (२१ प्रतिशत) एलपी ग्यासमा चार सय ९९ रुपैयाँ ५७ पैसा प्रतिसिलिन्डर नोक्सान छ । ‘समग्रमा अझै पनि निगमलाई आगामी १५ दिनमा करिब ६३ करोड ५८ रुपैयाँ घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था निगमसामु रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

आइओसीको बक्यौता २३ अर्ब
गत आर्थिक वर्ष ०७८–७९ मा निगम वर्षैभर नोक्सानीमा रहेर कारोबार गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर वृद्धि हुँदा जनदबाबका कारण निगमले ठूलो अन्तरमा मूल्य वृद्धि गर्न पाएको थिएन । जसकारण निगमले गत वर्ष ५० अर्ब रुपैयाँ नोक्सान व्यहोरेको थियो । त्यसमध्ये अघिल्लो आवको सञ्चित नाफा १९ अर्बसमेत खर्चिँदा गत आवमा निगम ३१ अर्ब सञ्चित नोक्सानीमा रहेको थियो । आयल निगमका नायब प्रबन्ध निर्देशक नागेन्द्र साहले सञ्चित नोक्सानीबराबरको ३१ अर्ब आइओसीलाई भुक्तानी गर्नुपर्ने बक्यौताबापत व्यवस्थापन गरिएको थियो ।