१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
Invalid date format o६:१६:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कार्यपालिकाले दिएका योजना नै कटाएर गाउँपालिका अध्यक्षले भाइको खातामा हाले बजेट 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१६:oo

हुम्लाको अदानचुली गाउँपालिकाले दिएका ६ वटा योजना नै कटाएर तत्कालीन गाउँपालिका अध्यक्षले बजेट भाइको खातामा दाखिला गराएको खुलेको छ । पालिकाका तत्कालीन अध्यक्ष दल फडेराले ३४ योजनामध्ये निर्माण सम्पन्न भइसकेका ६ योजना कटौती गरेर भाइ नन्द फडेरासहितको मेलचौर कृषि पशुपालन समूह फर्मका सञ्चालकहरूको नाममा १३ लाख ७५ हजार जम्मा गरेका हुन् । 

१९ वैशाख ०७९ मा गाउँपालिकाले ९९ लाख २२ हजार चार सय ५२ रुपैयाँ ग्लोबल आइएमई बैंकको अदानचुली शाखामा जम्मा गरेर ३४ आयोजनाका उपभोक्ता समितिका खातामा जम्मा गरी भुक्तानी दिन अनुरोध गरेको थियो । ३४ योजनाको विवरणसहित पठाइएको पत्रमा पालिकाका लेखापाल दत्तबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेलको संयुक्त हस्ताक्षर थियो । तर, सोही दिन ६ योजना कटौती गरेर पालिका अध्यक्षका भाइलगायत कृषि फर्मका सञ्चालकहरूको नाम समेटी २९ योजनाका लागि बजेट दाखिला गरेको थियो । वडा ४ का कालाशिलता मन्दिर र पागरखोला धारा निर्माण, वडा ६ का गोरखाली पुनेरा ढल, महादेव मन्दिर र मदाना माडु फिल्ड निर्माण तथा वडा १ को खुदाई मन्दिर निर्माण योजना कटौती भएका हुन् । कटौटी भएका ६ वटै योजना गाउँपालिकाबाट स्वीकृति भएर काम सम्पन्न भएका थिए । अध्यक्षको भाइको फर्म भने पालिकाको योजनामा परेकै थिएन । 

मेलचौर सामुदायिक कृषि समूह फर्ममा जम्मा भएको रकममध्ये अध्यक्ष दलका भाइ नन्द फडेराको नाममा नौ लाख, लक्ष्मी बुढाको नाममा चार लाख ५० हजार र धनराज रोकायाको नाममा चार हजार ६ सय जम्मा गरिएको थियो । कृषि फर्मको खातामा १० हजार मात्रै राखिएको थियो । 

तत्कालीन गाउँपालिका अध्यक्ष दल फडेराले व्यक्तिको खातामा रकम जम्मा गरेको स्वीकार गरे । ‘उपभोक्ता समितिले समयमै खाता नखोलेपछि रकम फ्रिज हुने भएकाले व्यक्तिगत खातामा जम्मा गरेको हो । तर, अहिले उक्त रकम फेरि बैंकमै जम्मा गरिसकेका छौँ,’ उनले भने, ‘हिसाबकिताब मिलिसकेकाले मिडियाले हल्ला गर्नु आवश्यक छैन ।’ सूचना चुहिएपछि केही दिनअघि मात्रै फडेराले भाइको कृषि फर्मको नामबाट चेक काटेर उपभोक्ता समितिको खातामा रकम जम्मा गरिसकेका छन् । 

गाउँपालिकाका लेखापाल दत्तबहादुर थापा भने ३४ योजनाको चेक जारी गरे पनि ओसी आउँदा मेलचौर सामुदायिक पशुपालन फर्ममा जम्मा भएको आएको बताउँछन् । ‘३४ योजनाकै चेक जारी गरे पनि ओसी आउँदा मेलचौर सामुदायिक पशुपालन फर्मको नाममा जम्मा भएर आएछ । हामीले बैंकसँग बुझेका थियौँ । हाम्रो हस्ताक्षर पनि स्क्यानिङ गरेको पाएका छौँ,’ उनले दाबी गरे, ‘भएका ६ योजना कटाएर हुँदै नभएको योजनासमेत थपेर २९ योजनाको लिस्ट मात्रै बैंकबाट आएको रहेछ । मेरो कुनै गल्ती छैन ।’

एकैदिन उपभोक्ता समितिका फरक–फरक दुई सूची बैंकमा पठाएकोबारे थापाले नाम नबदली दुई सिफ्ट मात्रै गरेको दाबी गरे । तर, प्राप्त प्रमाणअनुसार सूची नै फेरेर पठाइएको छ । 

त्यसो त १२ चैत ०७८ मै गाउँपालिकाले मेलचौर कृषि पशुपालन समूह फर्म निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द फडेरा, कोषाध्यक्ष सरस्वती बुढा, सचिव नन्दबहादुर रोकायाको नाममा खाता सञ्चालन गरिदिन ग्लोबल आइएमई बैंकको अदानचुली शाखालाई सिफारिस गरेको थियो । गाउँपालिकाको लेटरप्याडमै गरिएको उक्त सिफारिसमा निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेलको हस्ताक्षर थियो । 

सम्पन्न योजनाको बजेट अन्तै पठाएपछि उपभोक्ता समितिले पैसा नै पाएन 
अदानचुली– ६ को महादेव मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष महादेव कट्टेलले पाँचपटक गाउँपालिका केन्द्र धाउँदासमेत रकम नपाएको गुनासो गरे । ‘गाउँपालिकाका प्राविधिक मिम टमटा गएर काम सम्पन्न भइसकेको फोटो खिचेर ल्याएका हुन् । बजेट निकासाका लागि पटक–पटक धाउँदा पनि खातामा पैसा आएको छैन,’ उनले भने, ‘लेखापाललाई सोध्दा तपाईंहरूको पैसा अन्य ठाउँ गएको रहेछ, खोजी गर्छु भन्ने आश्वासन मात्रै दिए ।’ उक्त मन्दिर निर्माण योजना दुई लाख ६७ हजार तीन सय २० रुपैयाँको हो । 

अदानचुली– ६ गोरखाली पुनेरा ढल निर्माण उपभोक्ता समितिका खडक बुढाले काम सकिए पनि पैसा नपाएको गुनासो गरे । पाउनुपर्ने दुई लाख २२ हजार ७६ रुपैयाँ नपाउने भएपछि निराश भएर घर फर्किएको उनको भनाइ छ । लेखापालले मेलचौर कृषि फर्ममा रकम जग्गा भएको जानकारी दिएको उनले बताए ।