नेपाली चलचित्रले फरक भूगोलमा पाइला राखेका यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । केही वर्षयता नेपाली कथा, परिवेशमा निर्माण भएका लघु चलचित्रले विदेशी बजार र दर्शकबीच चर्चा कमाइरहेका छन् । लघु चलचित्र ‘द कन्टाजियस अपरिसन्स अफ डम्बरे डेन्ड्राइट’, ‘दद्या’, ‘बाँसुल्ली’, ‘म खुसी छु’,लगायत लघु चलचित्रले यसअघि नै अन्तर्राष्ट्रिय पहिचान दिलाइसकेका छन् । ‘कामारो’, ‘जुनुको जुत्ता’, ‘कलम’, ‘जुन्को’, ‘अवशेष’, ‘तात्तिनी’, ‘काफल पाक्यो’, ‘अनन्त यात्रा’, लगायत लघु चलचित्रले पनि अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा बलियो उपस्थिति जनाइसकेका छन् ।
सिनेमा निर्देशन, लेखन, अभिनय, सिनेमाटोग्राफी, सम्पादनमा नयाँ पुस्ताको आगमनसँगै लघु चलचित्रका कथामा विविधता देखिन थालेको छ । निर्देशक नवनिधि दाहालका अनुसार अहिलेका लघु चलचित्रमा कथा भन्ने शैली र प्रस्तुतिमा पृथकता छ । ‘अर्थपूर्ण केही काम गरौँ भन्ने भावनाका साथ युवाहरू आएका छन्,’ दाहाल भन्छन्, ‘अब राज्यले पनि अन्तर्राष्ट्रिय बजारमा उपस्थितिका लागि रणनीति तयार गर्नुपर्छ ।
यही कारण नयाँ मेकरका कतिपय चलचित्र छायामा परेका छन् । प्रोत्साहनका लागि फेस्टिवलसम्म पुर्याउने बाटो बनाइदिनुपर्छ ।’लेखक तथा निर्देशक राजन कठेतका अनुसार युवा फिल्ममेकरमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलका लागि चलचित्र निर्माण गर्नुपर्छ भन्ने धारणा रहेको छ । उनी भन्छन्, ‘नेपाली सर्ट फिल्महरूले विदेशी मञ्चमा प्रतिक्रिया पनि राम्रो पाइरहेको छ । विदेशी फिल्म निर्माताहरूलाई पनि नेपाली सिनेमामा जिज्ञासा बढ्दै गएको छ ।’
लघु चलचित्र निर्माणमा समेत आर्थिक समस्या
निर्देशक निराजराज भेटवालले राम्रा कथा भए पनि कतिपयले आर्थिक समस्याका कारण चलचित्र बनाउन नसकेको बताए । उनी भन्छन्, ‘विदेशी फेस्टिभलहरूमा फिल्म पठाउन दुःख मात्रै होइन, राम्रो कथा भएर पनि आर्थिक अभाव झेल्नुपरेको छ । यसकारण पनि अर्काे फिल्म बनाउन समय लाग्छ ।’ निर्देशक सुनील पाण्डेको अनुभव पनि भेटवालको जस्तै छ । उनी भन्छन्, ‘चलचित्रका लागि विषयवस्तु त धेरै छन्, तर लगानी छैन । लगानी अभावकै कारण खुम्चिएर निर्माण गर्नुपर्ने बाध्यता छ ।’
लघु चलचित्र निर्देशनमा सक्रिय प्रवीण रावतको पनि पाण्डे र भेटवालको जस्तै अनुभव छ । उनी भन्छन्, ‘हाम्रोमा सर्ट फिल्मका लागि लगानीको समस्या छ । साथीभाइबाट सहयोग जुटाएर निर्माण गरिरहेका छौँ । विदेशी मेकरहरूको लगानी खोज्ने र खर्च गर्ने तरिका फरक रहेछ । हामीलाई जस्तो दुःख छैन । हामीलाई चाहिँ खर्च जुटाउने समस्याले पिरोल्ने गरेको छ । तर, हामी अभावका बीच पनि फिल्म बनाइरहेका छौँ ।’ नेपाली फिल्ममेकरको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय निर्माताहरू भित्र्याउनुपर्ने उनी बताउँछन् । ‘फिल्म मेकिङको विकासका लागि राज्यले अन्तर्राष्ट्रियस्तरको ल्याब सञ्चालन गरिदिए फिल्ममेकरलाई सजिलो हुन्थ्यो,’ रावतले भने ।
पुरस्कृत चलचित्रबारे बेखबर
प्रतिष्ठित फिल्म फेस्टिभलमा नेपाली चलचित्रहरूले चर्चा कमाइरहँदा स्वदेशमा भने प्रोत्साहन नभएको चलचित्रकर्मी बताउँछन् । चलचित्र विकास बोर्डले केही कलाकारलाई विशिष्ट श्रेणीको परिचयपत्र दिएर एक प्रकारको सम्मान गरे पनि त्यतिले नपुग्ने उनीहरूले बताएका छन् ।परिचयपत्र वितरण कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि कलाकारलाई परिचयपत्र दिएर मात्रै नपुग्ने बताएका थिए ।
‘कलाकार तथा सर्जक केवल राष्ट्रका गहना मात्रै होइनन्, राष्ट्रिय गौरव पनि हुन्,’ उनले भनेका थिए । उनले नेपाली फिल्म क्षेत्रको विकास र विस्तारका लागि सरकार सधैँ कलाकार तथा सर्जकसँग रहने आश्वासन दिएका थिए । तर, कान्समा अवार्ड जितको ‘लोरी’का निर्देशक अविनाश विक्रम शाहले चलचित्र विकास बोर्डले फरक धारका फिल्मको प्रवद्र्धनमा चासो नदिएको बताए ।