
अपांगता भएका व्यक्तिहरूका लागि पोखरा महानगरपालिकाले छुट्टै गाडी उपलब्ध गराएको छ । महानगरपालिकाले १८ सिट क्षमताको एउटा विंगर गाडी अपांगता भएका व्यक्तिहरूका लागि हस्तान्तरण गरेको हो । पूर्ण रूपमा अपांगता भएका व्यक्तिको यातायातमा सहज पहुँच पुगाेस् भन्ने उद्देश्यले महानगरले गाडी हस्तान्तरण गरेको हो ।
बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा महानगरपालिकाका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले स्वाबलम्बन जीवन पद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङलाई संयुक्त रूपमा सो गाडी हस्तान्तरण गरेका हुन् । केन्द्रले पाएको सो गाडीको पछाडिपट्टिको भागमा रहेको दुई सिट हटाएर केन्द्रले लिफ्ट जडान गर्नेछ ।
गाडी हस्तान्तरणपछि मेयर आर्चायले अपांगता भएका व्यक्तिहरूको आवागमन तथा यातायातमा पहुँच वृद्धि गर्ने उद्देश्यले गाडी सहयोग गरिएको बताए । स्थानीय सरकार हरेक नागरिकहरूको साथमा रहेको भन्दै प्राप्त गाडीको सही ढंगले सदुपयोग गर्न उनले आग्रहसमेत गरे । विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक रूपमा अपांगता भएका व्यक्तिहरूको जीवन सरल बनाउने कार्यमा थोरै भए पनि सहयोग पुग्ने मेयर आचार्यको भनाइ थियो ।
स्वाबलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष गुरुङले प्राप्त गाडीलाई पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता जनाए । पूर्ण रूपमा अपांगता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात पहुँचयुक्त नभएका वेला महानगरले दिएको गाडीका कारण उनीहरूलाई आउजाउको लागि सहज हुने अध्यक्ष गुरुङले बताए ।
पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यका अनुसार केन्द्रलाई प्रदान गरिएको गाडीको मूल्य करिब ४० लाखबराबरको छ । गाडी सञ्चालनको सम्पूर्ण जिम्मा केन्द्रले लिनेछ । केन्द्रले आफ्नो संस्थामा आबद्ध भएकाहरूसँगै अपांगता भएका अन्य व्यक्तिहरूको आउजाउको लागि सो गाडी प्रयोग गर्नेछ ।