
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। केही समययता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताएका हुन्।
वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले भविष्यमा आउन सक्ने विभिन्न महामारीको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामर्थ्य विकास गर्नुपर्ने बताए। ‘केही समययता मत्थर भएको कोभिड महामारी पुनः बिस्तारै फैलँदै जाने खतरा देखिएको छ। अझ यसलाई पूर्ण रूपमा नियन्त्रण गर्दै भविष्यमा आउन सक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामर्थ्य हामीले विकास गर्नुपर्ने खाँचो छ,’ उनले भने।
क्यान्सरजस्ता घातक रोगहरूको समयमै सहज ढंगले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरूले ध्यान दिने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे। उनले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको बताए।