मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण ११ बुधबार १६:१६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बुटवलले घटायो करको दर 

Read Time : > 1 मिनेट
२०७९ श्रावण ११ बुधबार १६:१६:००

बुटवल उपमहानगरपालिकाले करको दरमा हेरफेर गरेको छ । आर्थिक वर्ष ०७९/८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, ई–रिक्सा, हाटबजार बैठकी करलगायतमा दर घटाइएको छ । यी करका दर यही साउन १ गतेदेखि लागू भएका छन् । 

सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटेको छ । यसअघि १० हजार रुपैयाँ घरबहाल लिनेले एक हजार रुपैयाँ घरबहाल कर तिर्नुपर्नेमा अब नौ सय रुपैयाँ तिरे पुग्नेछ । सम्पत्ति कर सम्पत्तिको मूल्यअनुसार एक सय रुपैयाँदेखि ४९ हजार पाँच सय रुपैयाँसम्म कायम गरिएको छ । पाँच लाख रुपैयाँसम्म करयोग्य सम्पत्ति भएमा एक सय रुपैयाँ र पाँच करोडदेखि माथि भएमा प्रतिहजारको दुई रुपैयाँका दरले सम्पत्ति कर तिनुपर्नेछ । 

यस्तै, ई–रिक्सा व्यवसायीले यसअघि रुट परमिट र नवीकरणबापत पाँच सयका दरले एक हजार रुपैयाँ तिर्दै आएकोमा चालू आर्थिक वर्षमा तीन सयका दरले ६ सय रुपैयाँ बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख  दामोदर ज्ञवालीले बताए । उनका अनुसार चालू आर्थिक वर्षको मंसिरदेखि लागू हुने गरी हाटबजार बैठकी कर १० देखि १८ प्रतिशतसम्म घटेको छ । यसअघि रेडिमेड कपडा पसलले हाटबजार बैठकी करबापत एक सय ३० रुपैयाँ तिर्दै आएकोमा मंसिरदेखि एक सय १५ रुपैयाँ र एक सय रुपैयाँ तिर्ने तरकारी पसलले ९० रुपैयाँ तिरे पुग्ने उनले बताए । 

यस्तै, महिला, अल्पसंख्यक र अपांगता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट भएको छ । यस्तै, सडक विस्तारका कारण व्यवसाय सञ्चालनमा कठिनाइ व्यहोरेका चौराहादेखि गोलपार्कसम्मका राजमार्ग मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने भएका छन् । ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरूमा सम्पत्ति कर असुली गर्दा सम्पत्ति मूल्यांकनमा ७५ प्रतिशत छुट गरिने भएको छ । 

यस्तैगरी, नागरिकता, अपांगता, ज्येष्ठ नागरिक परिचयपत्रसहित १३ प्रकारका सिफारिस दस्तुर निःशुल्क गरेको ज्ञवालीले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । 

उनले राजस्व परामर्श समितिको सिफारिसअनुसार चालू आर्थिक वर्षको राजस्व संकलनको प्रक्षेपण गरिएको बताए । यसअघि ७१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा ५३ करोड रुपैयाँ संकलन भएको राजस्व शाखा प्रमुख ज्ञवालीले बताए ।