१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:२६:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

ठगीका ‘मास्टरमाइन्ड’ : वैदेशिक रोजगारीमा पठाइदिने भन्दै २३ वर्षीय युवाले ठगे १३ करोड

पीडितमध्ये अधिकांश सेनाका अवकाशप्राप्त सिपाही र हवल्दार

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:२६:oo

उमेर मात्रै २३ वर्ष । तर, ठगीमा ‘मास्टरमाइन्ड’ । ठगीको यस्तो जालो, जहाँ सर्वसाधारण मात्रै होइन, सुरक्षा निकायमा वर्षौँ बिताएकासमेत सजिलै फसे । विश्वास आर्जन र पैसा असुल्न पत्रिकादेखि सोसल मिडियासम्म विज्ञापन र नक्कली विज्ञ खडा गरी ‘ओरियन्टेसन’सम्मका सबै हर्कत । यसैका बलमा वैदेशिक रोजगारीका नाममा डेढ सय युवाबाट करिब १३ करोड असुल ।

यी हुन् ठगीका ‘मास्टरमाइन्ड’ पाल्पा रम्भा गाउँपालिका– ३ का सुरज थापा । जसले समीर जोशीसँगको सहकार्यमा चक्रपथमा ‘डी रोयल सेक्युरिटी रेक्वायरमेन्ट प्रालि’ नामको नक्कली मेनपावर कम्पनीमार्फत असुलीको धन्दा चलाउँथे । आफ्नो ठगी मिसन सकेर रातारात ‘बेपत्ता’ भए । बल्ल धेरैजसो पीडितले ठगिएको थाहा पाए । चलचित्रका लागि बनाएको ‘स्क्रिप्ट’मा जस्तै उनी एकपछि अर्को गरी आफ्नो योजना अगाडि बढाउँथे । नक्कली कम्पनी बनाएपछि उनले त्यसको नाममा फेसबुक पेज खोलेका थिए । पीडितहरूका अनुसार दुबईमा आकर्षक रोजगारी खुलेको भन्दै फेसबुकमा प्रचार गरे र सोही व्यहोराको विज्ञापन पत्रिकामा पनि छापे । सोही आधारमा युवासँग करोड रुपैयाँ उठाए र एकाएक बेपत्ता भए । 

पीडितमध्येका सल्यान सिद्धकुमार गाउँपालिका– ४ का २५ वर्षीय ज्ञानकुमार चलाउनेका अनुसार उनले करिब एक सय ५० युवासँग पाँचदेखि १२ लाखको दरले १३ करोड रुपैयाँभन्दा धेरै रकम उठाएका छन् । उनीबाट ठगिने नेपाल मात्र होइन र दुबईका होटेलमा समेत प्रशस्त भेटिने चलाउनेले बताए । ‘दुबईमा सेक्युरिटीगार्डमा आकर्षक तलबसहितको रोजगारी खुलेको भन्दै मलाई पटक–पटक भन्यो । विज्ञापन पनि गरेको रहेछ । मसँग यसले पटक–पटक गरी १२ लाख रुपैयाँभन्दा धेरै लियो । दुबई त पुर्‍यायो । तर, काम लगाएन,’ नयाँ पत्रिकासँगको सम्पर्कमा आएका चलाउनेले भने, ‘मजस्तै अलपत्र पर्ने डेढ सयभन्दा धेरै छन् । सबैबाट यसले १३ करोड रुपैयाँभन्दा धेरै रकम उठाएको रहेछ ।’

नेपाली सेनाबाट राजीनामा दिएका चलाउने वर्ष दिनअघि ‘भिजिट भिसा’मा दुबई पुगेका थिए । त्यसअघि उनले सुरजलाई नौ लाख रुपैयाँ बुझाएका थिए । रोजगारका लागि दुबईमा अन्तर्वार्तासमेत दिएका उनले काम भने पाएनन् । काम पाउने आशामा नौ महिना १० दिन दुबई बसेर अन्ततः खाली हात नेपाल फर्कनुपरेको उनले गुनासो सुनाए । सामाखुसीमा भेटिएका चलाउनेले बताएअनुसार सुरुमा थापाले वर्किङ भिसामा लैजाने भनेका थिए र सोही आशामा रकम लिएका थिए । ‘तर, एयरपोर्टमा पुगेपछि भने ‘भिजिट भिसा’ हातमा थमायो । विदेश हिँडेका हामी घर फर्कन सकेनौँ । काम पाउने आशामा दुबई पुग्यौँ । त्यहाँ पुगेर पनि तीन लाख रुपैयाँभन्दा धेरै रकम बुझायौँ । तर, काम पाउन सकेनौँ ।’ 

गोरखा पालुङटार नगरपालिका– १ का ३९ वर्षीय विकुल कोइरालाका अनुसार सुरजले युवालाई सुरुमा वर्किङ भिसामै दुबई लैजाने प्रलोभन दिन्थे र राहदानी, नागरिकतालगायतका आवश्यक कागजात पेस गर्न लगाउँथे । केही सातापछि दुबईस्थित कम्पनीबाट आएको भन्दै नक्कली ‘वर्किङ भिसा’ सामाजिक सञ्जालमार्फत पठाउँथे । ‘प्रतिव्यक्ति नौ लाखका दरले रकम बुझाउन भन्थे । जब युवा दुबई उड्न विमानस्थल पुग्थे । त्यसपछि भने दुबईको ‘भिजिट भिसा’ युवाको हातमा थमाउँथे,’ पीडित कोइरालाले भने । 

सामाजिक सञ्जालमार्फत दुबईस्थित ‘समन अलरायन टेक्निकल सर्भिस’ नामक कम्पनीबाट आएको नक्कली ‘वर्किङ भिसा’ देखाउँदै कोइरालाले भने, ‘होस्टेलमा वार्डेन बस्नुपर्ने र महिनाको ३५ सय दिराम तलब हुने भनेपछि म उसको सम्पर्कमा पुगेँ । उसले ‘वर्किङ भिसा’मै लैजाने भन्यो । हामी सातजना थियौँ । सबैले कागजात पेस गर्‍यौँ । केही सातापछि नभन्दै ‘वर्किङ भिसा’ आएको सन्देश फोनबाट आयो । त्यसपछि ढुक्क भएर रकम बुझायौँ । एयरपोर्ट पुगेपछि त उसले ‘भिजिट भिसा’ पो दियो । हामी जबर्जस्ती दुबई पुग्यौँ । ‘वर्किङ भिसा’ नक्कली रहेछ ।’

सैनिक सेवाबाट अवकाशप्राप्त कोइरालाका अनुसार युवालाई प्रभावित पार्न उनले नक्कली विज्ञ खडा गरी ‘ओरेन्टेसन’समेत गराउँथे । यसका लागि उनले छुट्टै घर भाडामा लिएका थिए । आधा रकम प्राप्त असुलेपछि उनले युवालाई ‘ओरेन्टेसन’ गराउँथे । त्यसपछि बाँकी रकम लिन्थे । दुबईबाट रित्तो हात फर्केका उनले भने, ‘यसको मेनपावर मात्रै नक्कली होइन, यसले गराउने ‘ओरेन्टेसन’समेत नक्कली रहेको नेपाल फर्केपछि मात्रै खुल्यो । ‘ओरेन्टेसन’मा सहभागी हुनेसमेत नक्कली रहेको सूचना छ । हामीसँग आवश्यक सबै प्रमाण छन् । वैदेशिक रोजगार विभागमा जाहेरी त दिएका छौँ । डुबेको रकम उठ्ने हो या होइन ठेगान छैन ।’

रामेछाप खाँडादेवी गाउँपालिका– ९ का ३३ वर्षीय सुमन भण्डारीका अनुसार सुरजले फरक–फरक लटमा युवा दुबई पठाउँथे । दुबईमा आवश्यक प्रबन्ध मिलाउने काम वसन्त श्रेष्ठले गर्थे । नेपालबाट फरक–फरक लटमा पुगेका युवालाई फरक–फरक फ्लाइटमा राख्थे । केही दिन खाना र बस्न दिन्थे । त्यसपछि भने उनी एकाएक बेपत्ता हुन्थे । पीडितमध्ये अधिकांश नेपाली सेनाबाट अवकाशप्राप्त सिपाही र हवल्दार रहेको भण्डारीले बताए । 

अलपत्र परी नेपाल फर्केका भण्डारीले भने, ‘नेपालमा सुरजले धन्दा गर्थे । दुबईमा भने वसन्त श्रेष्ठ थिए । फरक–फरक लटमा दुबई पुगेका सबै युवालाई उनले फरक–फरक ठाउँमा राख्थे । एकै ठाउँमा राख्दा कर्तुत खुल्ने डर यिनीहरूलाई थियो । सूचना आएअनुसार यिनीहरूमार्फत दुबई पुगेर अलपत्र पर्ने धेरै युवा छन् । नेपालमा पनि धेरै पीडित छन् । पीडितमध्ये अधिकांश सैनिक सेवामा आबद्ध छन् ।’

‘थापाबाट ठगिएका पाँचजना जाहेरीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन् । थापाले उनीहरूलाई दुबई लैजाने प्रलोभनमा प्रतिव्यक्ति पाँचदेखि ६ लाखका दरले ३५ लाख रुपैयाँ असुलेका थिए । थापा एकाएक बेपत्ता भएपछि जाहेरी बोकेर उनीहरू काठमाडौं परिसर पुगेका हुन्,’ जाहेरी दर्ताको प्रक्रियामा रहेका पीडितमध्येका कञ्चनपुर महेन्द्रनगरका वीरेन्द्रबहादुर पालले नयाँ पत्रिकासँग भने । उनले भने, ‘दुबई लैजाने भन्दै हामीसँग पैसा लियो । तर, दुबई लगेन । एकाएक बेपत्ता भएपछि खोजीमा लाग्यौँ । मेनपावर पनि नक्कली रहेको खुल्यो । जाहेरी बोकेर हामी पाँच भाइ टेकु गएका छौँ । जाहेरी दर्ताको प्रक्रियामा छ ।’

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले पीडित केही युवाहरूले ठगीबारे उजुरी दिएको बताए । उनले यसरी ठगिनुमा पीडित पनि जिम्मेवार रहेको बताए । ‘श्रम स्वीकृतिविना रोजगारमा विदेश जान मिल्दैन । तर, पछिल्ला दिन भिजिट भिसामा धेरै युवा वैदेशिक रोजागारमा गएको सूचना हामीकहाँ आएका छन् । त्यसमा पनि नेपाल सरकारको सुरक्षा निकायबाट अवकाश पाएका धेरै छन् । यसमा केही हदसम्म जानेको पनि दोष छ,’ महानिर्देशक पौडेलले भने, ‘जोखिम हुने जान्दाजान्दै भिजिट भिसामा जाने, अनि ठगिमा परियो भन्ने ? यस्ता विषयमा हामी आवश्यकताभन्दा धेरै भावुक हुन पुग्छौँ । हामीकहाँ केही युवाका जाहेरी आएका छन् । दर्ता गरी पक्राउ पुर्जी जारी भएका छन् । अभियुक्तको खोजी भइरहेको होला । अभियुक्त पक्राउ पर्लान् ।’ 

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले प्रक्रिया पुर्‍याएर पीडितको जाहेरी दर्ता हुने र ठगी सम्बन्धमा पक्राउ पुर्जी जारी भइसकेको हो भने प्रहरीले अभियुक्तलाई तुरुन्तै पक्राउ गर्ने बताए ।,‘ठगी सम्बन्धमा आएका जाहेरी दर्ता हुन्छन् । आवश्यक कानुनी प्रक्रिया भने पुर्‍याउनुपर्छ । वैदेशिक रोजगारका क्रममा भएका ठगीको सम्बन्धमा वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी हुन्छ । अभियुक्तको सम्बन्धमा विभागले पक्राउ पुर्जी जारी गरिसकेको हो भने प्रहरीले उसलाई तुरुन्तै पक्राउ गर्छ,’ उनले भने ।

यी हुन् ठगीका ‘मास्टरमाइन्ड’ पाल्पा 
रम्भा गाउँपालिका– ३ का सुरज थापा । जसले समीर जोशीसँगको सहकार्यमा चक्रपथमा ‘डी रोयल सेक्युरिटी रिक्वायरमेन्ट प्रालि’ नामको नक्कली मेनपावर कम्पनीमार्फत असुलीको धन्दा चलाउँथे । आफ्नो ठगी मिसन सकेर रातारात ‘बेपत्ता’ भए । बल्ल धेरैजसो पीडितले ठगिएको थाहा पाए । 

 

ad
ad