१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o७:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जिटुजीमार्फत तत्काल मल नआउने : धान रोपाइँ करिब ६० प्रतिशत सकियो, तर  ४० प्रतिशत किसानले मल पाएनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२१:oo

सरकारले भारतबाट जिटुजीमार्फत ल्याउन लागेको मल तत्काल आउने सम्भावना टरेको छ । जिटुजी (सरकार–सरकार) प्रक्रियामार्फत मल खरिदका लागि बजेटको सुनिश्चितता, सार्वजनिक खरिद नियमावली, प्रतीतपत्र र खरिद करका विषयलगायत द्विविधाहरू अझै कायमै रहेकाले तत्काललाई जिटुजीमार्फत मल आउने सम्भावना टरेको हो ।

सम्झौतामा खरिद मूल्य, करको दरलगायत सम्झौतापछिका अन्य धेरै कुरा बाँकी रहेकाले तत्काल जिटुजीमार्फत मल ल्याउन नसकिने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । ‘तत्काललाई जिटुजीमार्फत आउने मलको सम्भावना छैन, यो सिजनलाई भन्दा पनि अन्य बालीमा ल्याउने तयारी छ,’ सञ्जेलले भने । उनका अनुसार धानबालीलार्ई आवश्यक मल अभाव नभएको दाबी गर्दै अन्य बालीका लागि मल ल्याइनेछ ।

चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले जिटुजीमार्फत ल्याउने मलका लागि बजेट सुनिश्चितता नगरेको र विभिन्न खरिद प्रक्रिया अवलम्बन गर्नुपर्ने भएकाले मल आपूर्तिमा ढिलाइ भएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । उनले भने, ‘जिटुजीको मल यो सिजनलाई त त्यस्तै हो, अर्को धानबालीलाई आशा गर्न सकिन्छ कि !’

जिटुजीमार्फत ८० मेट्रिकटन मल खरिदको पक्रिया अघि बढाएको कृषि सामग्री कम्पनीले जनाएको छ । आगामी कात्तिक–मंसिरमा जिटुजीमार्फत ल्याइने पहिलो चरणको मल झार्ने तयारी भएको कृषि सामग्री कम्पनीका प्रबन्धक ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले भने, ‘बल्ल पक्रिया अघि बढ्यो, मूल्य समायोजन भारतबाट आएपछि यताको मन्त्रिपरिषद्ले पास गर्छ, त्यसपछि मल ल्याउन कसैले पनि रोक्दैन ।’ किसानहरू अहिले पनि मल कहिले आउला भनेर कुरिरहेका छन् । 

भारतसँग अघिल्लो वर्ष फागुनमा पाँच वर्षका लागि मल ल्याउने सम्झौता भएको थियो । सम्झौताअनुसार भारतले पहिलो वर्षमा एक लाख ५० हजार मेट्रिकटन मल दिनुपर्नेछ । त्यसमध्ये ६० प्रतिशत डिएपी र ४० प्रतिशत युरिया मल दिनुपर्ने उल्लेख छ । 

३० हजार मेट्रिकटन मल आउँदै
३० हजार मेट्रिकटन युरिया मल कोलकाता बन्दरगाहमा आइपुगेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार  सञ्जेलले बताए । सञ्जेलका अनुसार मंगलबार साँझ उक्त मल कोलकाता आइपुगेको हो । इजिप्टबाट ग्लोबल टेन्डरमार्फत खरिद गरिएको उक्त मल छिट्टै नेपाल आइपुग्ने उनले बताए । ‘करिब ३० हजार टन मल आपूर्तिकर्ता कम्पनीले कोलकाता बन्दरगाहमा ल्याइसकेको छ,’ सञ्जेलले भने, ‘यथाशीघ्र नेपाल पठाउन आपूर्तिकर्ता कम्पनीसँग कुराकानी भइसकेको छ ।’

दुई र्‍याक मल यथाशीघ्र पठाउन र बाँकी मल निरन्तर पठाउन भनिएको उनले बताए । कुनै अवरोध नभए १० दिनभित्र सबै मल नेपाल भित्रिने सञ्जेलको भनाइ छ । किसानलाई मल आपूर्तिको सुनिश्चितता गर्न र अभाव हुन नदिने गरी बाँकी ठेक्का अघि बढाउने कृषि सामग्री कम्पनीका प्रबन्धक राजेन्द्रबहादुर कार्कीले बताए । ठेक्का भइसकेको मल छिट्टै ल्याउन पहल गर्ने र चालू आवका लागि समयमै मल खरिदका लागि ठेक्का लगाउने उनको भनाइ छ ।

ad
ad