१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ४ बुधबार ०९:३७:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ४ बुधबार ०९:३७:००

वर्षायाममा खोलानाला र पुलपुलेसामा पानीको सतह बढ्छ । बस्तीमा पनि जताततै पानी जमिरहेको हुन्छ । वर्षा र जमेको पानीका कारण सर्प, मुसालगायत जीवको प्राकृतिक बासस्थान भत्कन्छन् र विशेषगरी गर्मी महिनामा सर्प, मुसालगायत जीव बाहिर निस्किन्छन् । वर्षको आधा समय अर्थात् जाडो महिनाभर जमिनमुनि लुक्ने र गर्मीको ६ महिना बाहिर निस्किने भएकाले यी जीव मानिसको सम्पर्कमा आउँछन् । यसकारण गर्मी मौसममा सर्पलगायत जीवसँग सधैँ सजग रहनुपर्छ । 

सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले एन्टिस्नेक भेनम निःशुल्क उपलब्ध गराएको छ । सर्पदंश उपचार केन्द्रमा यस्ता भेनम सहजै उपलब्ध हुन्छन् । सर्पदंशका बिरामीको उपचारका लागि भरतपुर अस्पतालको आइसियूमा एउटा बेड नै छुट्याइएको छ । 

तराईमा तुलनात्मक रूपमा विषालु सर्प बढी हुन्छन् । यद्यपि, पहाडको सर्पले टोक्दा विषै नलाग्ने भन्ने पनि होइन । देख्ने मानिसले नभनेसम्म कुन सर्पको टोकाइ हो भनी चिन्न सकिँदैन । विषालु वा जुनसुकै सर्पले टोके पनि अस्पताल जान सल्लाह दिन्छु । 

सर्पले टोकेको कसरी चिन्ने ?

सधैँ मान्छेले देख्ने गरी मात्रै सर्पले टोक्छ भन्ने हुँदैन । कहिलेकाहीँ नदेखिने गरी पनि सर्पले टोक्न सक्छ । सर्पले टोकेको स्थानमा ससाना दुईवटा घाउ हुन्छन् । यस्तो देखिए सर्पले टोकेको अनुमान गर्दै उपचारमा लाग्नुपर्छ । 

सर्पले टोकेको थाहा पाएमा सकेसम्म सर्पलाई चिन्ने प्रयास गर्नुपर्छ । सर्पले डसेको व्यक्ति प्रायः अत्यन्त डराएको हुन्छ । त्यस्ता मानिसलाई सबैले सान्त्वना दिनुपर्छ । र, उसलाई सकेसम्म छिटो सर्पदंश उपचार केन्द्रसम्म लैजाने व्यवस्था मिलाउनुपर्छ । यसबीचमा सर्पले टोकेको भागलाई सकेसम्म कम चलाउनुपर्छ ।

कसरी जोगिने ?
विषालु सर्पको डसाइका घटना रातको समयमा धेरै हुने गरेको पाइन्छ । रातको समयमा बाहिर निस्किँदा उज्यालो बत्ती, टर्चलाइट, लालटिन, लठ्ठी लिएर मात्रै निस्किने गर्नुपर्छ । सर्पको जोखिमको समयमा बाहिर हिँड्दा घुँडासम्म आउने बाक्लो जुत्ता, रबरको बुट र पूरा खुट्टा छोप्ने बाक्लो पाइन्ट लगाउने गर्नुपर्छ । सम्भव भएसम्म भुइँमा नसुत्ने, सुत्दा झुल लगाएर सुत्ने गर्नुपर्छ ।

जुत्ता लगाउँदा जुत्ताभित्र राम्रोसँग हेरेर मात्रै लगाउनुपर्छ । भान्सादेखि ट्वाइलेट जाँदा पनि सजगता अपनाउनुपर्छ । भ्यागुता, मुसा, चरा, छेपारो आदि सर्पका आहारा भएकाले तिनलाई सकेसम्म घरभित्र बस्न दिनुहुँदैन ।

सर्पको टोकाइबाट बच्न घरलाई सुरक्षित बनाउनुपर्छ । सम्भव भएसम्म घरका झ्यालढोकामा जाली हाल्नुपर्छ । ग्रामीण भेगका घरमा नियमित लिपपोत गर्ने, खाल्टाखुल्टी पुर्ने र सफा बनाउने गर्नुपर्छ । फूलबारी छ भने जमिन प्रस्ट आँखाले देखिने गरी सफा गर्नुपर्छ । बालबालिकालाई एक्लै छाड्न हुँदैन । बालबालिकालाई सर्प हुन सक्ने ठाउँबारे जानकारी दिने र सावधान रहन सिकाउनुपर्छ । सर्पको डसाइमा गरिने प्राथमिक उपचार थाहा पाइराख्ने र प्रतिविष (एन्टिस्नेक भेनम) पाइने नजिकको स्वास्थ्य संस्था वा अस्पतालबारे जानकारी राख्नुपर्छ ।