१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २ सोमबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका ब्रसेल्स
२o७९ श्रावण २ सोमबार २o:५७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

खडेरीको जोखिममा झन्डै आधा युरोप, ‘अत्यन्तै गम्भीर’ स्थिति आइपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ब्रसेल्स
नयाँ पत्रिका
२o७९ श्रावण २ सोमबार २o:५७:oo

दक्षिण पश्चिम युरोपमा उग्र गर्मीको लहरसँगै हाल युरोपेली संघ (इयू) को झन्डै आधा भू–भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताहरूले सोमबार चेतावनी दिएका छन्। युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले हालै सार्वजनिक गरेको प्रतिवेदनमा इयूको ४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिम रहेको बताइएको हो।

इयूको ११ प्रतिशत भू–भागमा खडेरीका कारण विशेष सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ भने यहाँका खेतीयोग्य जमिनमा पानीको अभावले लगाइएको बाली प्रभावित बनिसकेको छ। खडेरीको सबैभन्दा बढी प्रभाव इटाली र यहाँको पनि सबैभन्दा बढी प्रभावित उत्तरमा रहेको ‘पो रिभर बेसिन’ले खडेरीको उच्चतमस्तर सामना गरिरहेको रिपोर्टमा उल्लेख छ। 

स्पेनमा हाल १० वर्षको औसतभन्दा पानीको जलाशयको मात्रा कम भएको र जलाशयको मात्रा अन्य वर्षको यो समयको तुलनामा ३१ प्रतिशतले घटेको उक्त रिपोर्टमा उल्लेख छ। त्यस्तै, पोर्चुगलमा जलविद्युत् ऊर्जा उत्पादन गर्ने पानी गत सात वर्षको औसतभन्दा आधा कम छ। युरोपेली मौसमविज्ञहरूले पानीको अभाव र तीव्र तापले गर्दा फ्रान्स, रोमानिया, स्पेन, पोर्चुगल र इटालीमा बालीको उत्पादन कम हुने चेतावनी दिए। इयूको मौसम पूर्वानुमान शाखाले पनि यस पहिले नै खडेरीको पूर्वानुमान गरेको छ। शाखाले ‘अत्यन्तै गम्भीर स्थिति’ को सामना गर्नुपर्ने र कृषि, ऊर्जा र पानीको आपूर्तिमा पर्ने प्रभावलाई झनै चर्काउने जनाएको थियो।