१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना
यम बम काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मनसुन ‘ब्रेक’ भइदिँदा देशभर गर्मी बढ्यो, जनजीवन प्रभावित

वर्षा नहुँदा आइतबार पोखरा, जोमसोम, नेपालगन्ज, दीपायल, डडेल्धुरालगायतका क्षेत्रमा अधिकतम औसत तापक्रम २ देखि ४ डिग्री बढेको मौसमविद्को भनाइ

Read Time : > 2 मिनेट
यम बम, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:१८:oo

मध्य बर्खायाममै मनसुन ‘ब्रेक’ भइदिँदा देशभर गर्मी बढेको छ । यो गर्मी सिजन रहे पनि झरी पर्दा तापक्रम घट्थ्यो भने किसानले धान रोपाइँ गर्न पाउँथे । यसपटक औसतभन्दा नौ दिनअघि भित्रिए पनि खासै सक्रिय नबनेको मनसुनी वायुले असार दोस्रो साता पर्याप्त वर्षा गराएको थियो ।

तर, मनसुनको न्यूनचापीय रेखा नेपालबाट औसतभन्दा दक्षिण (भारतको केरलाभन्दा पनि दक्षिण) सरेपछि असार चौथो साताबाट मनसुन ‘ब्रेक’ भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसकारण देशभर अधिकतम र न्यूनतम तापक्रम बढेको छ, जनजीवन प्रभावित भएको छ ।

‘पानी नपरेर तापक्रम बढेको हो, पानी नपर्नुको कारण मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा औसत दक्षिण छ, कोलकाताभन्दा दक्षिण छ,’ मौसमविद् हिरा भट्टराईले भने, ‘त्यही भएर गर्मी बढेको हो, पानी नपर्दा गर्मी सिजन नै हो ।’ यद्यपि, पहाडी क्षेत्रमा भने हल्का वर्षा हुने गरेको छ । सामान्यतया नेपालमा मनसुन सक्रिय हुन भारतको कोलकाता–दिल्लीको रेखामा न्यूनचापीय हुनुपर्छ । कोलकाताभन्दा दक्षिण पुगेको मनसुनको न्यूनचापीय रेखा आइतबारबाट बिस्तारै उत्तरतिर लागेको भारतको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ ।

औसतभन्दा चार डिग्रीसम्म बढ्यो अधिकतम तापक्रम
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार अधिकतम तापक्रम औसतभन्दा चार डिग्रीसम्म बढेको छ । वर्षा नहुँदा आइतबार पोखरा, जोमसोम, नेपालगन्ज, दिपायल, डडेल्धुरालगायतका क्षेत्रमा अधिकतम औसत तापक्रम २ देखि ४ डिग्री बढेको छ । काठमाडौंमा पनि गर्मी बढेको छ ।

जल तथा मौसम विज्ञान विभागको हावापानी विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा ३२ वटा केन्द्रको तापक्रम ३५ देखि ३९.८ डिग्री सेल्सियस रेकर्ड भएको छ । सबैभन्दा बढी नवलपुरको दुम्कौलीमा ३९.८ डिग्री रेकर्ड भएको छ, त्यहाँ शुक्रबार अधिकतम तापक्रम ४० डिग्रीसम्म पुगेको थियो ।

विभागका अनुसार अधिकतम तापक्रम ३० देखि ३५ रहने स्टेसन २६ वटा छन् भने ३५ देखि ४० डिग्री तापक्रम रेकर्ड भएका केन्द्र ३३ वटा छन् । नेपालगन्जमा अधिकतम तापक्रम ३८.२ डिग्री रेकर्ड हुँदा धनगढीमा ३७.८, दिपायलमा ३७.५ र भैरहवामा ३७.२ डिग्री रेकर्ड भएको छ । विराटनगरमा ३५.७, सिमरामा ३६.५, पोखरामा ३४.८, काठमाडौंमा ३२.३, धनकुटामा ३०.८, जुम्लामा २७.१ र जोमसोममा २५ डिग्री तापक्रम रेकर्ड भएको छ । पछिल्लो २४ घन्टामा ८९ वटा केन्द्रमा वर्षा मापन भएको छ । जसमा सबैभन्दा बढी वर्षा गोरखाको बारपाकमा ९४.३ मिलिमिटर भएको छ ।

पश्चिमी क्षेत्रमा औसतभन्दा कम वर्षा
मनसुन सुरु भएयता डेढ महिनामा औसत ४६८.४ मिलिमिटर वर्षा भएको छ । गत वर्ष भने पहिलो महिनामै मनसुन सक्रिय बनेको थियो । वरिष्ठ मौसमविद् कँडेलका अनुसार प्रदेश १, मधेस र बागमतीका अधिकांश केन्द्र तथा गण्डकीका धेरैजसो केन्द्रमा सरदरभन्दा बढी वर्षा मापन भएको छ । तर, कर्णाली, सुदूरपश्चिमका धेरैजसो केन्द्र र लुम्बिनीको बर्दियामा सरदरभन्दा कम वर्षा भएको छ ।

साउनमा झरी पर्नुपर्नेमा मनसुन ब्रेक भइदिएको छ । तर, मनसुन चार महिना लामो हुने भएकाले अझै पानी पर्ने सम्भावना रहेको उनले बताइन् । ‘कुनै वर्ष मनसुन भित्रिएसँगै वर्षा हुन्छ, कुनै वर्ष मध्य वा अन्त्यतिर वर्षा हुन्छ,’ उनले भनिन्, ‘बल्ल डेढ महिना बितेको छ । वर्षा परिमाणबारे निष्कर्ष निकाल्न मिल्दैन ।’

मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि मनसुन सक्रिय हुन सक्ने आकलन गरेको छ । औसतभन्दा दक्षिणमा रहेको मनसुनी रेखा क्रमशः उत्तरतिर लाग्दै गएकाले मनसुन सक्रिय भएर वर्षा हुन सक्ने मौसमविद् भट्टराईले बताए । ‘पहाडी क्षेत्रमा अचेल पनि हल्का वर्षा हुने गरेको छ । तर, मंगलबार देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ उनले भने, ‘देशभर वर्षा भएमा तापक्रम घटाएर जनजीवनमा सघाउ पुग्नेछ ।’ 

मंगलबारपछि मौसमबारे महाशाखाले प्रक्षेपण गरिसकेको छैन । सोमबार पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा वर्षाको आकलन गरिएको छ । राति भने सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको प्रक्षेपण गरिएको छ । राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने ठानिएको छ ।

ad
ad