निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
२०७९ श्रावण २ सोमबार १३:४७:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपाली लोकतन्त्रको ‘कमेडी’

साहित्य र कलामा जेसुकै भए पनि समकालीन लोकतन्त्रमा अभिधा, लक्षणा र व्यञ्जना सबैबाट हास्य उत्पन्न गराउन सकिन्छ

Read Time : > 4 मिनेट
२०७९ श्रावण २ सोमबार १३:४७:००

काव्यशास्त्रमा शब्दहरूको तीनवटा शक्तिबारे भनिएको छ । पहिलो, शब्दहरूको सीधा, जस्ताको तस्तै अर्थ लाग्ने अभिधा । दोस्रो, उद्देश्यपरक वा लक्ष्यार्थको बोध हुने लक्षणा । तेस्रो, व्यंग्यको बोध हुने व्यञ्जना ।

व्यंग्य यस्तो शब्दशक्ति हो जसले अभिधा र लक्षणामा भएका त्रुटिबारे व्यक्ति, वर्ग, विचारधारा, समाज वा सामाजिक विसंगतिमाथि प्रहार गर्छ र सामाजिक, सांस्कृतिक र राजनीतिक विद्रुपताको यथार्थ तस्बिर जनसमुदायसमक्ष प्रस्तुत गर्छ ।

तात्पर्य के हो भने, अभिधा सोझै बुझिन्छ भने लक्षणा र व्यञ्जनामा पाठक वा स्रोताले निहितार्थ बुझ्न प्रयत्न गर्नुपर्छ । राजनीतिक व्यवहारमा लक्षणा र व्यञ्जनाको प्रयोग बढी गरिन्छ । केही उदाहरण हेरौँ :

दुई वर्ष पहिले भारतीय विदेशमन्त्री एस जयशंकरले ‘अब असंलग्न युगको नीति सकियो’ भनेका थिए । दोस्रो विश्वयुद्धपछि तत्कालीन सोभियत संघ र संयुक्तराज्य अमेरिकाबीचको शीतयुद्धकालमा साना, अविकसित र विकासशील देशहरूले प्रत्यक्ष रूपमा कुनै पक्षमा लाग्नुबाट बच्नका निम्ति सन् १९६१ देखि असंलग्न आन्दोलन सुरु गरेका थिए । युगोस्लाभियाका मार्सल टिटोसँगै भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू यसका मुख्य संस्थापक थिए । हाम्रो देशका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला पनि यसका संस्थापक सदस्य हुन् । असंलग्न परराष्ट्रनीति नेपालजस्तै भारतको पनि घोषित कूटनीतिक आधार हो । तर, फेरिएको परिस्थितिमा अन्डमान र निकोबार टापुमा भारतले अमेरिकी जलसेनासँग संयुक्त अभ्यास गर्नुपरेको थियो । यसैकारण आलोचकहरूलाई जवाफ दिँदै सन् २०१९ मा भारतीय विदेशमन्त्री जयशंकरले असंलग्नताको युग समाप्त भइसकेको धारणा राखेका थिए । उनले वर्तमान युगलाई ‘अधिक सतर्कता, बहुपक्षीय रूपमा अधिक निर्भरताको युग..’ भनेका थिए । हुन पनि असंलग्नता साना र परनिर्भर अर्थतन्त्र भएका देशका निम्ति नै उचित हो । भारत आर्थिक रूपमा विकासशील रहे पनि अहिले महŒवाकांक्षी उदीयमान शक्तिशाली देश बन्न प्रयत्नशील छ । क्षेत्रीयस्तरमा ऊ चीनसित पौँठेजोरी खोज्दै छ भने अर्कातिर रुससँग सम्बन्ध निर्वाह गरिरहेको छ र अमेरिकासित घाँटी जोड्दै छ । अरूतिर जेजस्तो भए पनि दक्षिण एसियामा त उसले वर्चस्व प्रदर्शन गरेकै छ । यस्तोमा भारतीय विदेशमन्त्रीको भनाइ अस्वाभाविक होइन । एस जयशंकरको यो भनाइ अभिधा हो, जस्ताको तस्तै बुझे हुन्छ । 

दुई दिन पहिले नेपाल र भारतका मिडियामा एस जयशंकर र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भेटको समाचार र तस्बिर छापियो । समाचारमा भनिएबमोजिम जयशंकरले ‘छिमेकी पहिलो’ नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको हितमा भारत सदैव साझेदार रहने प्रतिबद्धता व्यक्त गरे । प्रचण्डले पनि आफ्नो देशको भूमि कसैविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता तथा भारतसँगको युगौँ पुरानो बहुआयामिक मैत्रीपूर्ण सम्बन्धप्रति प्रतिबद्ध हार्दिकता दोहो¥याए । यसपटकको भारत भ्रमणका क्रममा माके अध्यक्ष प्रचण्डले एउटा कार्यक्रममा भारतसँगको सन् १९५० को सन्धि पुनरावलोकन हुनुपर्ने कुरा उठाएका थिए । नेपाल र भारतबीच स्थायी रूपमा कटु सम्बन्धको कारक भारतले लिम्पियाधुरा तथा कालापानीमा गरेको अतिक्रमण तथा नेपालले पारित गरेको चुच्चे नक्सा हो । यो लेख तयार पार्दासम्म यो विषय भने कुनै पनि पक्षबाट उठेको छैन । यस्तोमा एउटा पक्षले ‘छिमेकी पहिलो’को राग अलाप्नुको वर्चस्व बोध गराउनु हो भने, अर्कोले देशको सार्वभौमिकताको प्रश्नलाई प्रत्यक्ष नपारी द्विदेशीय हार्दिकताको बखान स्वाभाविक देखिँदैन । हुन त प्रचण्डले आपसी सम्बन्ध र समस्याबारे दुई देशका बौद्धिकहरूको संयुक्त टिमको अध्ययन प्रतिवेदन (इपिजीको रिपोर्ट) बुझ्न लामो समयदेखि आनाकानी गरिरहेको भारतले बुझ्नुपर्ने कुरा पनि उठाए । प्रतिवेदनमा आंशिक रूपमा कालापानीको विषय पनि उठाइएको छ भनिन्छ । (भारतले इपिजी रिपोर्ट बुझ्न नचाहेको कारण पनि यही हो ।) तैपनि दुई देशबीच कटुताका विषय यथावत् रहिरहेसम्म कटुता समाप्त होस् भनेर सकारात्मक त हुन सकिन्छ, हार्दिक भने कसरी हुन सकिन्छ ? 

यस सन्दर्भमा लक्षणा र व्यञ्जना दुवैको अर्थ निहित छ । जयशंकरले दुई देशबीचका कटुताका विषयलाई पन्छाउँदै प्रचण्डलाई ‘छिमेकी पहिलो’ भनेर हँसिलो अनुहार देखाउनु लक्षणा हो, र यति हुँदाहुँदै पनि प्रचण्डको मुसुमुसु हाँसिरहेको मुद्रामा कसैले निरीहताको अनुभूति गर्छ भने, त्यो व्यञ्जना हो ।

तर, कलाको क्षेत्रमा एउटा अर्को प्रवृत्ति पनि छ– हास्य । अभिधा होस् वा लक्षणा वा व्यञ्जना, प्रस्तोताले चाहेको भन्न वा देखाउन असफल भइरहे पनि निरर्थक प्रयत्न गरिरहनुले नाटकीय परिस्थिति हुन्छ र देख्ने–सुन्नेका निम्ति हास्य सिर्जना हुन्छ । सम्बन्धमा कटुता र अर्को पक्षको उपेक्षापूर्ण अनुभूति गरेको भन्दै जब प्रचण्ड मुसुमुसु हाँस्ने प्रयत्न गरिरहेका हुन्छन्, त्यसमा उत्पन्न नाटकीयता देख्नेहरूमा हाँसो उत्पन्न हुन्छ । यो हास्य हो, जो नाटकीय हुन्छ !

नेपाली लोकतन्त्रमा पनि हास्यका ताजा सन्दर्भ खोज्न सकिन्छ । केही दिन पहिले काठमाडौंमा नेपालको भूराजनीतिक चुनौती विषयक एउटा कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमालेका अध्यक्ष केपी ओलीलाई आत्मसमीक्षा गर्न र ‘सेरमाथि सवा सेर’ नबन्न व्यंग्य गर्दै वाम एकतामा आउन सुझाव दिए । जवाफमा ओलीले ‘कोही वामपन्थी भए गठबन्धन छाडेर हामीसँग सरकार बनाउन आऊ’ भनेर ठाडै चुनौती दिए । सबैलाई थाहा छ, कम्तीमा आगामी संसदीय चुनावसम्म नेका–माकेलगायत गठबन्धन टुट्ने सम्भावना देखिँदैन । यो कुरा काजी, ओली तथा त्यस कार्यक्रममा भएका सबैले बुझेका थिए । यस्तोमा दुई नेता आफूहरू वाम एकताको पक्षमा भएको देखाउन नाटकीय प्रयत्न गरिरहेको देखेर कार्यक्रममा सहभागीहरू मुसुमुसु हाँसिरहनु स्वाभाविक नै थियो । त्यसरी नै जब ओलीले ‘कोही वामपन्थी छ भने...’ भनेर आफू मात्रै वामपन्थी रहेको दाबी गरिरहेको हेर्नु पनि रोचक थियो । माक्र्सवादका आधारभूत सर्वहारावादी मान्यताबाट विचलित भएर रामभजन र दक्षिणपन्थी राप्रपाहरूसँग समेत गठबन्धन गर्न पछि नपर्ने ओलीहरूले कानुनी माक्र्सवादको चिप्लेटी यात्रामा वामपन्थको घेरा उहिल्यै तोडिसकेको कुरा कसलाई थाहा छैन र ? यस्तोमा वामपन्थका निम्ति निरर्थक प्रयत्न देखेर हाँसो नै त उठ्ने हो !

वर्तमान नेपाली लोकतन्त्रमा यस्ता हास्य सन्दर्भहरू बग्रेल्ती छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र उनका मन्त्रीहरूले सरकारी योजनाको रकमबाट आ–आफ्ना बाबुको नाममा प्रतिष्ठान, भवन र परोपकारी कोष बनाउन बजेट नै विनियोजन गरे । उनीहरूलाई नियमले नमिल्ने काम गरे अख्तियारले समात्छ भन्ने थाहा थिएन भन्ने पनि छैन । तर, उनीहरूले गरे । अब मर्नु न बाँच्नु छ । यस्तोमा न हाँसेर के गर्नु !

भर्खरै, झापाको दमक नगरपालिकामा एमालेका जनप्रतिनिधिहरूले संसद्मा भएजस्तै नगरसभामा आफूलाई प्रमुख प्रतिपक्षको दाबी गर्दै प्रतिपक्षी नेतालाई गाडी उपलब्ध गराउन ‘मसल’ देखाइरहेको समाचार मिडियामा छ । उनीहरूलाई थाहा छ, यो संसद् होइन, नगरसभा हो । नियमले मिल्दैन । तैपनि बलमिच्याइँ गरेको देखेर हाँसो नउठे अरू के उठ्छ त ? अझ कदाचित् बलमिच्याइँले हार खाएर ‘पक्ष’ले ‘प्रतिपक्ष’लाई प्रमुख प्रतिपक्ष स्वीकार गरेर गाडी उपलब्ध गराए भने झन् जबर्जस्त हाँसो हुनेछ । तर, यो सम्भावनाको कुरा मात्रै भयो । यो दुईटा सन्दर्भ अभिधाबाट उत्पन्न हुने हास्यको उदाहरण हो । 

यसको अर्थ साहित्य र कलामा जेसुकै भए पनि समकालीन लोकतन्त्रमा अभिधा, लक्षणा र व्यञ्जना सबैबाट हास्य उत्पन्न गराउन सकिन्छ । हाम्रो लोकतन्त्र ! एकअर्कामा हिलो छ्यापाछ्याप गरिरहेका हुन्छन्, एकअर्कालाई भारत, चीन र अमेरिकाका चाकरसम्मको आरोपित गरिरहेका हुन्छन् । अहिले गठबन्धन सरकारको धुइँपाताल खेदो खनिरहेका ओली र एमाले तथा ओली र एमालेको सके जरोसमेत उखेल्न तम्सेका देखिने नेका, माकेलगायत गठबन्धनकारी दलका नेताहरू एमसिसीको मामिलामा शालीनतापूर्वक एउटै कित्तामा उभिन्छन् । आफूलाई देशभक्त देखाउने होडमा नेपालको चुच्चे नक्सा पारित गर्ने वेला सबै दल एउटा कित्तामा उभिन्छन्, तर त्यसपछि अतिक्रमणविरुद्ध कोही पनि बोल्न चाहँदैनन्; उल्टै कुम जोडेर निकटता साध्न सबै लालायित देखिन्छन् । यो लोकतन्त्रको हास्य हो, जो अभिधा, लक्षणा र व्यञ्जना सबैमा देखिन्छ ।

तर, यो हास्य होइन । यसमा हाम्रो समकालीन लोकतन्त्रको विद्रुप यथार्थ निहित छ । सत्ताधारीहरूले यसलाई नांगाहरूको स्नानगृहमा परिणत गरिदिएका छन् । वर्तमान लोकतन्त्रमा सत्ताधारीहरू हरेक पाँच वर्षमा चुनावको झलझले वस्त्र ओढेर नग्नता छोपिएको अभिनय गर्छन् । जनताको अथक त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीय गणतन्त्रका जनवादी अपेक्षा हँस्यौलीमा परिणत हुँदै छन् र प्रतिक्रियावादी तŒवले गिज्याउने र यसको खारेजीका निम्ति प्रोत्साहित हुँदै छन् । र भन्नुपर्दैन, यो यसका सञ्चालकहरूकै कारण हो । गम्भीर लोकतान्त्रिक कमेडीको यो स्थिति फेरिनुपर्छ ।