मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तुल खड्का
२०७९ असार २८ मंगलबार ०८:०२:००
Read Time : > 2 मिनेट
Read Time : > 2 मिनेट
तुल खड्का
२०७९ असार २८ मंगलबार ०८:०२:००

नेपालमा नेपाल बन्दैन, बन्दैबन्दैन भन्ने भाष्य तरलीकरण भएको छ । नेपाल नबन्नुको तात्पर्य अविकास, भ्रष्टाचार, दुराचार, नातावाद, भनसुन, बेइमानी र बेथिति मौलाउनु हो । त्यसो भए के नेपाल साँच्चै बन्दैबन्दैन त ?यसको जवाफ एकै ताप र रापमा भेटिन सम्भव छैन । मुलुकलाई झन् बढी सुन्दर, उन्नत र विकसित बनाउने सवालमा कुँदिएका कथ्य तथा कथनलाई जोडेर हेर्दा तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा नेपाललाई एसियाली मापदण्डको बनाउने घोषणा गरे ।

२०४८ मा जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजालाई चुनौती दिँदै युरोपेली मापदण्डको नेपाल बनाउने घोषणा गरे । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई सिंगापुर मोडलको बनाउने उद्गार व्यक्त गरे । जनप्रतिनिधि सम्मिलित ऐतिहासिक संविधानसभाबाट नेपालको संविधान निर्माणपछि मुलुक निर्माणको समृद्ध नेपाल र सुखी नेपाली दीर्घकालीन सोच अभिव्यक्त भयो ।

हाम्रो देश नबन्नुमा भ्रष्टाचार, भाग्यवाद, आफन्तवाद, नैतिकताको क्षयीकरण, परिवर्तन अरूमा खोज्ने प्रवृत्ति, कमजोर अर्थव्यवस्था, उदाहरणीय नेतृत्वको अभाव, प्रशासनिक तथा राजनीतिक अस्थिरता, बेरोजागारी, न्यून उत्पादन र उपभोक्तावादी विलासी सोचशैलीलाई जिम्मेवार मान्न सकिन्छ । सार्वजनिक प्रशासनका विज्ञ भ्रष्टाचारलाई अल्पविकसित मुलुकको विकासको शत्रुका रूपमा लिन्छन् । खुुद्रेदेखि नीतिगत तहसम्मको भ्रष्टाचार व्याप्त रहेको सन्दर्भ अब नयाँ रहेन । यसले विधि र पद्धतिको उपहास मात्र गरेन, व्यवस्थामा समेत प्रश्न उठ्ने वातावरण तयार गर्‍यो । 

विकासको बाधकका रूपमा रहेको थप पक्ष हुन्,‘हिप्पोक्रेसी’ र ‘नेपोटिज्म’। यस प्रवृत्तिले गर्दा सार्वजनिक सेवा प्रदायक संस्थाप्रति सबैको विश्वास हरायो । विकास, कार्यक्रम, स्रोत–साधन र बजेट आफ्नो क्षेत्रमा मात्र केन्द्रित गर्न नेतृत्वको ध्यान गयो । विकास आवश्यकतामा केन्द्रित भन्दा पनि आफन्तमा केन्द्रित हुँदै गए । निर्वाचित पदाधिकारी दल र कार्यकर्ता रिझाउनैमा सीमित बने । 

विकासको अर्को बाधक उदाहरणीय एवं रोलमोडल राजनीतिक नेतृत्वको अभाव हो । राज्यका हरेक नीतिहरू राजनीतिक छत्रछायामा हुर्केका हुन्छन् । कुशल र सशक्त नेतृत्वको अभावमा मुलुक बन्दैन । बेलायतको नियन्त्रणबाट मुक्त भएपछि मलेसियासँग मिल्न गएको तर मलेसियाले फालिएको सिंगापुरले ली क्वानलाई नपाएको भए आज सिंगापुर बन्दरगाहमै मात्र सीमित हुने थियो ।विकासको आधुनिक मोडलमा सिंगापुरको विख्यात चर्चा हुँदै छ । सिंगापुर यो अवस्थामा आइपुग्नुमा ली क्वानको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता नै प्रमुख आधार बन्यो । युवा र ऊर्जावान्लाई स्थान दिनुले अर्को महत्वपूर्ण कडीका रूपमा काम गर्‍यो । लगानीमैत्री र सौहार्दतापूर्ण वातावरणले झनै काम गर्‍यो । त्यस्तै अस्तव्यस्तताको चंगुलमा रुमल्लिएको मलेसियालाई आधुनिक मलेसिया बनाउन महाथिर मोहम्मदले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले आर्थिक उदारीकरणका माध्यमबाट आर्थिक विकास हासिल गरे । उत्पादन, कृषि तथा पूर्वाधारमा जोड दिँदै अपेक्षित आर्थिक वृद्धि हासिल गरे । 

हाम्रो देश नबन्नुमा भ्रष्टाचार, भाग्यवाद, आफन्तवाद, नैतिकताको क्षयीकरण, परिवर्तन अरूमा खोज्ने प्रवृत्ति, कमजोर अर्थव्यवस्था, उदाहरणीय नेतृत्वको अभाव आदि जिम्मेवार छन्
 

भारतमा नरेन्द्र मोदिको पार्टीको राज चलिरहेको वेला केन्द्रप्रशासित दिल्लीमा आमआदमी पार्टीका अरविन्द केजेरिवालले मुख्यमन्त्रीको निरन्तर नेतृत्व गरिरहेका छन् । भ्रष्टाचारविरुद्धको लडाइँ र जनताप्रति उत्तरदायी संयन्त्रका कारण आज आमआदमी पार्टी र त्यसका नेता केजरिवाल चर्चाको शिखरमा छन् । केजेरिवालले सार्वजनिक शिक्षाको दिल्ली मोडलको विकास गरेका छन् । शिक्षाको नतिजामा निजीको तुलना सरकारीसँग हुन नसक्ने गरी लोभलाग्दो बनाइसकेका छन् । नेपाल बन्न र बनाउन यहाँ पर्याप्त आधार छन् । संविधान छ । सरकार छ । संघीयता छ । स्रोतसाधन छन् । स्वाधीन र स्वाभिमानी जनता छन् । सक्रिय उमेर समूहको ठूलो जनशक्ति छ । अब त्यसलाई सञ्चालन, परिचालन र व्यवस्थापन गर्ने उदाहरणीय नेतृत्व चाहियो । 

जब कुनै पनि मुलुकका ‘लिडर’ ‘ल्याडर’मा रूपान्तर हुन्छन्, तब मुलुक लथालिंग हुन्छ । अस्तित्व मेटिन्छ । जसको उदाहरण लेन्डुप दोर्जेले सिक्किम नामक देश नै विलीन बनाए । राज्यका राजनीतिक र प्रशासनिक संरचनाको नेतृत्वमा सक्षम पात्र पुग्नेबित्तिकै मुलुक बन्न समय लाग्दैन । विकासको आवश्यकता पहिचान र त्यसको डिजाइन आफ्नोमाटोअनुकूलको नक्सांकन गर्न आवश्यक देखिन्छ । स्थानीय विकासको मोडल भ्युटावर र डोजरे विकासमा केन्द्रित हुँदा दिगो विकासको सघनता हराएको प्रतीत हुन्छ । पिउने पानीको प्यास भ्युटावरले मेटाउँदैन । आवश्यकताको सम्बोधन नै सफलता हो । विकासमा क्रमिकताको नियम लागू हुन्छ । एकै छाक र एकै रातमा सबै केही हुँदैन । 

धेरै अपेक्षावादी हुँदा श्रीलंकाले सञ्चालन गरेका राष्ट्रिय मेगा प्रोजेक्टजस्तो हुन्छ । उसले आफ्नो क्षमताभन्दा बढी वैदेशिक ऋण सहायतामा मेगा प्रोजेक्ट सञ्चालन गर्दा आज समग्र अर्थतन्त्र नै धरापमा परेको छ । आफ्नो गच्छेअनुसार विकासका पाइला चाल्नुपर्छ । मुलुक निर्माणको अर्को आधार विधि, पद्धति र प्रविधिको उचित संयोजन हो । विधिले काम नगर्ने, पद्धतिले काम नगर्ने पात्रले काम गर्ने र प्रविधि विकास सम्भव नहुने उपयोगमा कुशलता नहुने अवस्थाबाट मुक्ति पाउन असल सक्षम र अनुशासित नेतृत्वलाई स्थान र जिम्मेवारी सुम्पिनुपर्छ । 

व्यवस्था सुन्दर भए मात्र मुलुक बन्ने होइन, व्यवस्था सञ्चालकका चित्र, चरित्र र चिन्तनसमेत सुन्दर हुनुपर्छ । मन सफा भएर मात्र पुग्दैन, कर्मसमेत सफा हुनुपर्छ । विचार शुद्ध भएर मात्र हुँदैन, व्यवहारसमेत व्यभिचारी हुनुहुँदैन ।राजनीतिक संस्कृति र संस्कारको खडेरी परेको वेलामा सक्दो श्राप र गाली–गलोजले मुलुक बन्दैन । परिवर्तित व्यवस्थाको जस र अपजसको होडबाजीभन्दा पनि परिवर्तित व्यवस्थालाई संस्थागत र सघन बनाउन सामूहिक प्रयत्न जरुरी हुन्छ । मुलुक दोषारोपण, गाली–गलोज र आरोप–प्रत्यारोपले बन्ने विषय नभई एकता र सामूहिकताको निरन्तर प्रयासले बन्ने हो ।