मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २६ आइतबार १९:२८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विवाद समाधान नभएसम्म 'एनएसएल' दोस्रो संस्करण नहुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २६ आइतबार १९:२८:००

सहिद स्मारक ए डिभिजन लिगका चार क्लबले नेपाल सुपर लिग (एनएसएल)प्रति असन्तुष्टि जनाएपछि दोस्रो संस्करणको एनएसएल अन्योलमा परेको छ । तत्कालीन अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष र एनएसएलको आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्ट एन्ड इभेन्ट कम्पनीसँगको सम्झौता नै त्रुटिपूर्ण भएको भन्दै सो सम्झौता खारेजीका लागि एन्फा पदाधिकारी र असन्तुष्ट क्लब निचोडमा पुगेका थिए । आइतबार आयोजकसँग अनौपचारिक बैठक गरी एन्फाले विवाद समाधान नभएसम्म दोस्रो संस्करणको नेपाल सुपर लिग नहुने जनाएको हो । 

कोरोना महामारीका बीच सफलतापूर्वक पहिलो संस्करणको एनएसएल सम्पन्न भइसकेको छ । दोस्रो संस्करणका लागि मिति तोकिए पनि सहिद स्मारक ए डिभिजन लिगका चार क्लबले असन्तुष्टि जनाउँदा अहिले एनएसएल अन्योलमा परेको छ । खेलाडी स्थानान्तरणको विषयदेखि फिफा र एफसीमा क्लब सिफारिस सम्बन्धमा चार ए डिभिजन क्लबले प्रश्न उठाएपछि दोस्रो संस्करणमा समस्या आएको हो । अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) मा अहिले नेतृत्व परिवर्तन भएको छ र नयाँ नेतृत्वले सम्झौता स्पष्ट नभएको र त्रुटिपूर्ण भएको बताएको छ । तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा र एनएसएल आयोजकबीचको सम्झौता स्पष्ट नभएको नयाँ नेतृत्वले औँल्याएको र सोहीबारे आयोजकलाई आइतबार एन्फा मुख्यालयमा बसेको अनौपचारिक बैठकमा जानकारी गराएको महासचिव किरण राईले जानकारी दिए । 

दोस्रो संस्करणको एनएसएलका लागि अक्सन पनि सम्पन्न भइसकेको छ । पहिलो संस्करणमा भन्दा तीन बढी टोलीले सहभागिता जनाउँदै छन् । दुईपटक मिति तोकिए पनि दोस्रो संस्करणको एनएसएल हुनेमा अझै अन्योल छ । त्रुटिपूर्ण सम्झौतालाई परिमार्जन गरेर विवाद समाधान भएपछि मात्र दोस्रो संस्करणको एनएसएल हुने महासचिव राईले बताए ।