१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
प्रेम गौतम काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:४६:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गठबन्धनमा आबद्ध दलहरू इमानदार भएनन्, पार्टीभित्रै अन्तर्घात

स्थानीय निर्वाचनबारे माओवादीको औपचारिक समीक्षा

Read Time : > 4 मिनेट
प्रेम गौतम, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:४६:oo

तालमेलअनुसार नतिजा नआएको भन्दै स्थानीय निर्वाचनमा तालमेल भए पनि कांग्रेस, एकीकृत समाजवादी र जसपाको भूमिकाप्रति माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ । स्थानीय निर्वाचनबारे माओवादीको पहिलो औपचारिक समीक्षामा गठबन्धनमा रहेका दलहरूको भूमिकालाई लिएर असन्तुष्टि जनाएको छ । यद्यपि, एक–अर्काको भूमिकाप्रति सबै दलका असन्तुष्टि छन् । 

आइतबारदेखि राजधानीमा सुरु केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचनमा दलहरूको भूमिका र आफ्नै पार्टीभित्रका समस्या औँल्याइएको छ । स्थानीय तह निर्वाचनपछि पहिलोपटक माओवादीले औपचारिक रूपमा गठबन्धन र चुनावी परिणामको समीक्षा गरेको हो । समीक्षामा माओवादीले कांग्रेस इमानदार नभएको, एकीकृत समाजवादीले बढी भाग खोजेको र जसपा तराई–मधेसका स्थानमा अनिच्छुक देखिएका कारण पाँचदलीय गठबन्धन प्रभावकारी बन्न नसकेको निष्कर्ष निकालेको छ । 

रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा माओवादीको बलियो उपस्थिति रहेका कैयौँ स्थानीय तहमा कांग्रेसले एमाले र अन्य दलहरूसँग तालमेल गरेको माओवादीको आरोप छ । माओवादीको बलियो उपस्थिति रहेका कैयौँ स्थानीय तहमा कांग्रेसले एमाले र अन्य दलसँग गठबन्धन गरी माओवादीलाई पराजित गर्ने वा कमजोर पार्ने घटना व्यापक रूपमा देखिएको प्रचण्डको प्रतिवेदनमा छ । 

‘कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलहरूको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरू बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँचदलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताहरूबाटै बागी उम्मेदवार खडा गर्नेजस्ता अघोषित नीति अपनाएको देखिन्छ,’ प्रतिवेदनमा छ, ‘कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवारलाई सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिँदा अत्यधिक मत बदर भएको पाइयो ।’ 

यसैगरी प्रतिवेदनमा एकीकृत समाजवादीले वास्तविक स्थितिभन्दा बढी दाबी गर्दा सिट बाँडफाँडमा समस्या देखिएको उल्लेख छ । ‘गठबन्धनको अर्को दल एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी दाबी गर्दा सिट बाँडफाँडमा ठाउँठाउँमा केही समस्या देखियो,’ प्रतिवेदनमा छ, ‘जसको परिणाम केही स्थानमा गठबन्धन नै पराजित बन्न पुग्यो ।’ जसपा तराई–मधेसमा गठबन्धनका लागि अनिच्छुक देखिएको माओवादीको आरोप छ । ‘जनता समाजवादी पार्टी आफ्नो आधार बलियो भएका तराई–मधेसका स्थानमा गठबन्धनका लागि अनिच्छुक रहेको पाइयो,’ प्रचण्डको प्रतिवेदनमा छ । 

माओवादी केन्द्र मूल रूपमा गठबन्धनप्रति इमानदार देखिएको, तर कतिपय स्थानमा स्थानीय अन्तर्विरोध तथा स्थानीय नेतृत्वको व्यक्तिगत महŒवाकांक्षा देखिएको प्रतिवेदनमा औँल्याइएको छ । अनेक कारणका बाबजुद विगतको तुलनामा निर्वाचन परिणाम सन्तोषजक रहेको माओवादीको निष्कर्ष छ । गुटबन्दी, असहयोग र अन्तर्घातजस्ता पार्टीविरोधी गतिविधिको गम्भीर छानबिन गरी आवश्यक कारबाही गर्ने प्रतिवेदनमा उल्लेख छ । आगामी दिनमा गर्ने ६ कामलाई पनि प्रतिवेदनमा लिपिबद्ध गरिएको छ । निर्वाचनका वेला पार्टीका तर्फबाट आठ कमजोरी भएको माओवादी मूल्यांकन छ । 

 आगामी निर्वाचनको तयारी राष्ट्रिय राजनीतिक एजेन्डाका आधारमा माओवादी 
केन्द्र पहिलो शक्ति र गणितीय संख्यामा तेस्रो बनेको विश्लेषण गरेको माओवादीले अग्रगामी विचार, संगठन, शक्ति र नेतृत्वको तादात्म्यता मिलाएर आगामी निर्वाचनमा होमिने योजना छ । केन्द्रीय सदस्यलाई निर्वाचनकेन्द्रित कार्यक्रम बनाई ठोस कार्यविभाजनसहित निर्वाचन क्षेत्रमा पठाउने, संघ र प्रदेशमा जनसहभागितासहित चुनावी प्रतिबद्धतापत्रको तयारी गर्ने, संघीय तथा प्रदेश निर्वाचन क्षेत्रको तथ्यांक संकलन र विश्लेषण गर्ने माओवादीको रणनीति छ । 

यस्तै, संयुक्त मोर्चा, गठबन्धनमा सहभागी दल र विपक्षीको अवस्थाको अध्ययन गर्ने, निर्वाचन क्षेत्र आधारित संगठन परिचालन, स्थितिको आकलन र जनताको अपेक्षाको आधारमा निर्वाचनमा विजयी बन्ने रणनीति बनाउने, सम्भावित उम्मेदवारको सूची तयार गर्ने र दक्षिणपन्थी तथा प्रतिगामी शक्तिलाई पराजित गर्ने ढंगले चुनावी रणनीति तयारी गर्ने कार्ययोजना प्रचण्डले अघि सारेका छन् । 

 निर्वाचनकेन्द्रित गठबन्धन र मोर्चा
माओवादी केन्द्रले समाजवादी कार्यदिशा अवलम्बन गर्ने पार्टी, शक्ति र व्यक्तित्वहरूको तत्कालको मोर्चा निर्माण आवश्यक रहेकोमा जोड दिएको छ । ‘समाजवादी मोर्चामार्फत नेपाली विशेषताको समाजवाद, त्यसको कार्यनीतिक शृंखला, क्रान्तिकारी शक्ति निर्माणजस्ता विषयमा खुला छलफल र बहस गरिनुपर्छ,’ राजनीतिक प्रतिवेदनमा छ, ‘यसबाट तात्कालिक रूपमा निर्वाचनमा क्रान्तिकारी शक्ति एवं जनतालाई गोलबन्द गर्ने र दीर्घकालिक रूपमा समाजवादी वैकल्पिक क्रान्तिकारी धारको निर्माण हुनेछ ।’क्रान्तिकारी धारले केपी ओली प्रवृत्तिको दक्षिणपन्थी धारलाई कमजोर पार्ने, संविधान र आन्दोलनका उपलब्धिलाई खोस्न उद्यत् प्रतिगामी प्रवृत्तिलाई पराजित गर्ने विश्वास माओवादी केन्द्रको छ । तत्काल प्रतिगामी र दक्षिणपन्थी शक्तिका विरुद्ध तात्कालिक जिम्मेवारी संविधानको रक्षा, शान्तिप्रक्रियाको पूर्णता एवं संघीयतासहितको लोकतन्त्रमा सहमत शक्तिसँग गठबन्धनको नीति अख्तियार गरिने माओवादी केन्द्रले स्पष्ट पारेको छ ।

 पदाधिकारी चयनदेखि गठबन्धनसम्मका योजना 
आगामी संघ र प्रदेश निर्वाचनको तयारीमा लाग्ने मुख्य कार्ययोजना माओवादी केन्द्रले बनाएको छ । सबै पार्टी समितिहरूको बैठक गरी संविधान र लोकतन्त्रविरोधी, दक्षिणन्थी तथा प्रतिगामी शक्तिहरूलाई निर्वाचनमा पराजित गर्ने रणनीति र कार्यक्रम बनाउनुपर्ने प्रतिवेदनमा औँल्याइएको छ । ‘आगामी निर्वाचनको तयारी, संयुक्त मोर्चा निर्माण, चुनावी गठबन्धन, निर्वाचनमा आफ्नो विचार–राजनीतिको प्रचार, संगठन विस्तारका साथै निर्वाचनको प्रयोगबारे सैद्धान्तिक मान्यता एवं चुनाव र समाजवादी कार्यदिशाबीचका अन्तर्सम्बन्धका विषयमा अभियानकै रूपमा प्रशिक्षण सञ्चालन गर्नुपर्दछ,’ प्रतिवेदनमा छ । 

पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गरी केन्द्रीय समितिलाई पूर्णता दिने, आयोगहरूलाई पूर्णता दिएर कामकाजी बनाउने, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्चलाई पूर्णता दिने र बैठकको आयोजना गर्ने, विभागहरूलाई पुनर्गठन र कामकाजी बनाउने, विभागहरूले नयाँ नेपालको खाका बनाउन आफ्नो विषयमा नीतिहरू तयार गर्ने योजना प्रचण्डले अघि सारेका छन् । यस्तै, आगामी निर्वाचनको प्रतिबद्धतापत्रका लागि सुझाव संकलन र तयारी गर्ने, सबै तहका पार्टी समिति र निकायहरूको बैठक आयोजना गरी आ–आफ्ना कार्यक्रम बनाउने, माओवादी धारका नेता–कार्यकर्ता र समर्थहकलाई ठोस योजना बनाई मूल घरमा फिर्ता ल्याउने योजना पनि प्रचण्डले अघि सारेका छन् । यस्तै, वामपन्थी धारका नेता–कार्यकर्ता र शुभचिन्तकलाई ठोस कार्यक्रम बनाई पार्टीमा समाहित हुन अपिल र पहल गर्ने, सम्भव भएसम्म विभिन्न पार्टीबीच एकताको पहल अगाडि बढाउने योजनासहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको छ । विभिन्न लोकतान्त्रिक, देशभक्त शक्ति र व्यक्तित्वहरूलाई क्रान्तिकारी धारमा आबद्ध हुन अपिल र पहल गर्ने तथा स्थानीय तहका निर्वाचनका अनुभवका आधारमा वर्तमान गठबन्धनलाई प्रभावकारी बनाउन जोड गर्ने योजना पनि प्रचण्डले अघि सारेका छन् ।

 माओवादीकै कारण एसपिपी अस्वीकार
प्रचण्डले आफ्नो प्रतिवेदनमा एसपिपी सम्झौतामार्फत नेपाललाई आइपिएसको अंग बनाउने प्रयास माओवादीको विशेष पहलमा असफल पारिएको दाबी गरेका छन् । प्रतिगमनकारी षड्यन्त्र र चलखेल अझै जारी रहेको माओवादीको ठहर छ । आन्तरिक राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेको निष्कर्ष माओवादीले निकालेको छ ।

 स्थानीय चुनावमा माओवादीका आठ कमजोरी

  • पार्टीपंक्तिमा गठबन्धनप्रति आवश्यकताभन्दा बढी विश्वास गर्नाले तयारीमा फितलोपन
  • गठबन्धन हुँदा उम्मेदवारका आकांक्षी बढी हुने र एकल प्रतिस्पर्धा गर्नुपर्दा अरुचि 
  • कांग्रेसलगायतका गठबन्धनका सहयात्रीमा बढी भर पर्नु
  • प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षमा मात्र गठबन्धन हुँदा वडा तहमा चुनावी प्रचार, एकीकृत परिचालनमा तालमेल मिलाउन नसक्नु
  • व्यक्तिकेन्द्रित वा निश्चित पालिकाकेन्द्रित तालमेलको प्रयत्न गर्नु
  • लोकप्रियलाई भन्दा आफूनिकटलाई उम्मेदवार बनाउन जोड गर्नु, टिकट नपाउँदा असहयोग गर्नु
  • पैसा खर्च गरेर मतदाता किन्नेजस्ता प्रतिस्पर्धी दलहरूको विकृतिलाई रोक्न नसक्नु
  • कतिपय स्थानमा पार्टीभित्रको गुटबन्दी, असहयोग एवं अन्तर्घात

 अब गर्ने ६ काम

  • आफ्नो शक्ति र संगठनमा भर परेर निर्वाचनको तयारी गर्ने
  • गठबन्धन हुँदा वा नहुँदा पनि उम्मेदवार बन्न तयार हुने
  • निर्वाचनमा सहभागी हुनुलाई पार्टीको सिद्धान्त, राजनीति र नीतिको प्रचार गर्ने एवं संगठन विस्तारका रूपमा लिने
  • गुट, उपगुट वा निकटताका आधारमा नभई लोकप्रिय उम्मेदवारमा ध्यान दिने
  • पूरा शक्तिका साथ एकढिक्का भएर पार्टीका उम्मेदवारलाई विजयी गराउनजोड लगाउने
  • प्रतिस्पर्धी दलका भ्रम, षड्यन्त्र, चलखेल, पैसाले मत खरिद गर्नेजस्ता विकृतिलाई रोक्ने
ad
ad