मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शिवपुरीस्थित सैनिक कमान्ड एन्ड कलेजमा तालिम लिएका विदेशी सेनाका अधिकृत । फाइल तस्बिर : नेपाली सेना
२०७९ असार १८ शनिबार ०६:०२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तालिमका लागि २८ देशका ७६ सैनिक नेपालमा

Read Time : > 2 मिनेट
२०७९ असार १८ शनिबार ०६:०२:००

सैन्य कूटनीति : नेपाली सेनाको एउटै प्रशिक्षणमा सहभागी हुन्छन् भारत र पाकिस्तान तथा चीन–अमेरिकाका सेना

भारत र पाकिस्तान, भारत र चीन तथा चीन र अमेरिकी सेनाबीच दुस्मनीपूर्ण सम्बन्ध छ । तर, नेपाली सेनाले ती देशका सैनिक अधिकारीलाई एकै ठाउँमा राखेर तालिम तथा प्रशिक्षण चलाउँदै आएको छ । यसले रक्षा मामलामा नेपालको तटस्थ छवि बनाएको सैनिक अधिकारीहरू बताउँछन् । 

‘संसारमा अमेरिका र चीन, भारत र पाकिस्तानका सैनिकले एकै ठाउँमा अध्ययन वा तालिम लिएको ठाउँ नेपाल मात्रै हो,’ एक उच्च सैनिक अधिकारी भन्छन्, ‘यसमार्फत हामीले नेपालको तटस्थ छवि उजागर गर्न खोजेका छौँ ।’ अमेरिका, चीन, बेलायत र भारतजस्ता शक्तिराष्ट्रका सेनालाई प्रशिक्षण दिएर नेपाली सेनाले आफ्नो कौशलता पनि देखाएको छ । 

सहायकरथी नारायण सिलवाल, प्रवक्ता, सेना
हाल नेपाली सेनाका विभिन्न शिक्षण संस्थामा सञ्चालन हुने तथा भइरहेका पाँचवटा तालिममा मित्रराष्ट्रका सेनालाई नेपाली सेनाको तर्फबाट भ्याकेन्सी प्रदान गर्ने गरिएको छ । वितरित कोटामा विगतमा कोभिड– १९ को कारणले सहभागितामा कमी आए पनि अहिले वृद्धि हुँदै गएको छ । सन् २०२२/२३ का लागि नेपाली सेनाका तालिम शिक्षण संस्थाहरूमा सञ्चालन हुने तालिममा सहभागिताका लागि विभिन्न २८ वटा मित्रराष्ट्रका सेनालाई ७६ वटा भ्याकेन्सी प्रदान गरिएको छ ।

नेपाली सैनिक कलेज तथा तालिम शिक्षालयमा भारत र पाकिस्तान एवं अमेरिका र चीनका सैनिक एकैसाथ अध्ययन गरिरहेका छन् । नेपाली सेनाले यो वर्ष २८ देशका ७६ सैनिकलाई एउटा कलेज र चार तालिम केन्द्र/शिक्षालयमा तालिमको अवसर दिएको छ । सेनाको वार कलेज नगरकोटमा भने विदेशीलाई हायर कमान्ड कोर्समा सहभागी गराएको छैन । 

शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, मलेसिया, श्रीलंका, दक्षिण कोरिया, अमेरिका, बेलायत, केन्या, नाइजेरियाबाट नियमित रूपमा एक–एकजना सैनिक सहभागी भइरहेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा अधिकृत क्याडेट तालिमका लागि जाम्बिया, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट नियमित रूपमा एक–एकजना सहभागी भइरहेका छन् ।

यसबाहेक प्यारा तालिम शिक्षालय छाउनीमा प्यारा बेसिक तालिममा पनि विदेशी सैनिक सहभागी छन् । सेनाले बंगलादेश, चीन, क्यानडा, अमेरिका, भारत, लेबनान, माल्दिभ्स, मेक्सिको, पाकिस्तान, रुस, दक्षिण कोरिया र श्रीलंकाका एक–एक सैनिकका लागि कोटा छुट्याएको छ । तर, यो तालिममा बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सबाट मात्रै सैनिक सहभागी छन् । 

अमलेखगन्जस्थित प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा पनि सेनाले विदेशीलाई तालिम दिँदै आएको छ । यसका लागि बंगलादेश, क्यानडा, चीन, अमेरिका, भारत, बेलायत, श्रीलंका, दक्षिण कोरिया, पाकिस्तान, केन्या, मेक्सिको र म्यानमारलाई सेनाले कोटा दिएको छ । यीमध्ये बंगलादेश, अमेरिका, श्रीलंका, दक्षिण कोरिया र पाकिस्तानबाट मात्रै नियमित रूपमा तालिममा एक–एकजना सैनिक सहभागी भएका छन् । 

मुस्ताङको सैनिक उच्च शिखर शिक्षालयमा सेनाले विदेशीलाई हाई अल्टिच्युट तथा माउन्टेन वारफेयर तालिम दिँदै आएको छ । यसका लागि सेनाले भारत, चीन, अमेरिका, बंगलादेश, क्यानडा, जर्जिया, इजरायल, लेबनान, पाकिस्तान, माल्दिभ्स, पोल्यान्ड, रुस, दक्षिण कोरिया, श्रीलंका, स्विट्जरल्यान्ड, थाइल्यान्डका सैनिकलाई अवसर दिएको छ । अमेरिका, दक्षिण कोरिया, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट मात्रै नियमित रूपमा सैनिक यो तालिममा सहभागी हुँदै आएका छन् । 

तालिमका लागि विदेश जान्छन् १७१ नेपाली सैनिक

नेपालबाट तालिमका क्रममा बर्सेनि एक सय ७१ सैनिक बाहिर जाने गरेका छन् । यो नेपाली सैनिकलाई विभिन्न देशले छुट्याएको कोटा संख्या हो । तालिमका लागि सबैभन्दा धेरै भारतमा एक सय एक र त्यसपछि पाकिस्तानमा २२ जना जाने गरेका छन् । अमेरिकामा १२, बेलायतमा नौ, बंगलादेशमा सात र चीनमा चारजनालाई कोटा छुट्याइएको छ । श्रीलंकामा तीन, क्यानडामा एक, दक्षिण कोरियामा २१, नाइजेरियामा दुई, स्विट्जरल्यान्डमा दुई तथा मलेसिया, थाइल्यान्ड, माल्दिभ्स, जर्मनीमा एक–एकजना सैनिकलाई कोटा छ । 

यीबाहेक भारत, अमेरिकालगायत मुलुकसँग संयुक्त अभ्यासमा जाने सैनिकको संख्या जोड्दा बर्सेनि चार सय ५० जना सैनिक विदेशमा जाने गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको भनाइ छ । सैनिक प्रवक्ता सिलवालले कोभिड– १९ का कारण दुई देशबीच तालिम आदान–प्रदानमा कमी आए पनि नेपाली सेनालाई विदेशमा उल्लेख्य रूपमा तालिम, सेमिनार र अभ्यासको कोटा प्राप्त भइरहेको बताए ।